दूधकोशी जलविद्युत आयोजनाका लागि लगानीकर्तासँग छलफल « Arthapath.com
४ जेष्ठ २०७७, आईतवार

दूधकोशी जलविद्युत आयोजनाका लागि लगानीकर्तासँग छलफल



काठमाडौँ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्राथमिकतामा राखिएको ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनामा लगानी जुटाउन सरकारले सम्भावित लगानीकर्तासँग छलफल थालेको छ ।

अर्थ मन्त्रालयको अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा र नेपाल विद्युत प्राधिकरणका अधिकारीहरू र आयोजनामा लगानीका लागि इच्छुक एसियाली विकास बैंक (एडीबी), युरोपेली लगानी बैंक (इआईबी), एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) र कोरियाली एक्जिम बैंकका प्रतिनिधिसँग भिडियो कन्फरेन्समार्फत प्रारम्भिक बैठक भएको हो । छलफलमा सहभागी नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार उनीहरूले लगानीका लागि प्रारम्भिक सहमति जनाउँदै लगानी ढाँचाको ठोस प्रस्तावको अपेक्षा गरेका छन् ।

‘एडीबीले ५५ करोड अमेरिकी डलरसम्म, इआईबीले ५० करोड, एआईआईबीले ३० करोड र एडीबीको निजी क्षेत्रमा लगानी गर्ने संयन्त्रमार्फत २० देखि ३० करोड डलरसम्म लगानी गर्न सक्ने देखिएको छ,” घिसिङले भन्नुभयो । ‘कोरियन एक्जिम बैंकले हाइड्रो मेकानिकल, इलेक्ट्रो मेकानिकल र प्रसारण लाइनमध्ये कुनै एकमा सम्पूर्ण लगानी गर्न चासो देखाएको छ ।

छलफलमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आयोजनाको हालसम्मको अवस्था, लागत, लगानी ढाँचा, जलाशययुक्त आयोजनाको महत्व लगायतका विषयमा बैंकहरूलाई जानकारी गराउनुभएको थियो ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका०ले पहिचान गरेका १० उत्कृष्ट जलाशययुक्त जलविद्युत आयोजनामध्ये दूधकोशीलाई पहिलो प्राथमिकतामा राखेको छ ।

आयोजनाको अनुमानित आधार लागत एक अर्ब ५३ करोड डलर (करिब एक खर्ब ६० अर्ब रुपियाँ) र निर्माण अवधिको ब्याज, करसहित सम्पूर्ण लागत करिब दुई अर्ब डलर पुग्ने अनुमान छ । एसियाली विकास बैंकको अनुदानमा आयोजनाको विस्तृत डिजाइन अन्तिम चरणमा पुगेको छ ।
दूधकोशीको विस्तृत अध्ययन अन्तिम चरणमा पुगेको छ । अध्ययन भएका जलाशययुक्त आयोजनामध्ये लागत र ऊर्जा उत्पादनका आधारमा दूधकोशी तुलनात्मक रुपमा सस्तो र आकर्षक मानिन्छ ।
आयोजनाबाट वार्षिक ३ अर्ब ४४ करोड ३० लाख युनिट ऊर्जा उत्पादन हुनेछ । यसमध्ये हिउँदमा एक अर्ब ३५ करोड ८० लाख र वर्षातमा दुई अर्ब आठ करोड ४० लाख युनिट ऊर्जा उत्पादन हुनेछ । उत्पादित बिजुली प्रस्तावित सुनकोसी–ढल्केबर चा सय केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।गोरखापत्र


प्रतिक्रिया दिनुहोस्