आर्थिक पुनःउत्थानको प्याकेज ल्याउन आग्रह « Arthapath.com
६ जेष्ठ २०७७, मंगलवार

आर्थिक पुनःउत्थानको प्याकेज ल्याउन आग्रह



काठमाडौं । कोरोना महामारीका कारण जारी लकडाउनका कारण मुलुकको अर्थतन्त्रमा चक्रीय आर्थिक सङ्कट परिसकेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले उद्योगधन्दासहित समग्र अर्थतन्त्रलाई जोगाउन तत्काल आर्थिक पुनःउत्थानको प्याकेज ल्याउन आग्रह गरेको छ । महासंघले सोमबार पत्रकार सम्मेलन गरेरै उद्योग व्यवसाय कोमामा जाने खतराबाट बचाउन ठोस कार्यक्रम ल्याउन आग्रह गरेको हो ।

पत्रकार सम्मेलनमा महासंघ अध्यक्ष भवानी राणाले भारत, चीनलगायत अमेरिका, युरोपेली देशहरूसहित सार्कका अन्य राष्ट्रहरूले खर्बौँको आर्थिक राहत प्याकेजहरूको घोषणा गरिसकेको तर नेपालमा ठोस सम्बोधन नहुँदा मुलुकका उद्योग, व्यापार तथा व्यवसाय धरासायी तथा बन्द समेत हुने स्थिति सिर्जना भएको बताउनुभयो । अहिले सञ्चालनमा रहेका अति आवश्यक उद्योग व्यवसाय पनि कच्चा पदार्थको अभाव, कामदार कर्मचारीहरूको अभाव र बजारको समस्याका कारण ४० प्रतिशतभन्दा कम क्षमतामा सञ्चालन भएका छन्,” उहाँले भन्नुभयो, “निजी क्षेत्रको मनोबल कायम राखी अर्थतन्त्रलाई थप क्षति हुनबाट जोगाई पुनःउत्थान गर्न प्याकेज तत्काल घोषणा गर्नुपर्छ ।”

उहाँले करिब दुई महिनासम्म बन्दाबन्दीका कारण उद्योगधन्दा बन्द हुँदाका अवस्थामा पनि समग्र अर्थतन्त्रलाई सम्बोधन गर्नेतर्फ सरकारी निकायबाट पहल नभएको आरोप लगाउनुभयो । “यो अवस्थाले उद्योग व्यवसायको कर्ममा लागेका हामी समस्त उद्यमी व्यवसायी हतोत्साहित भएका छौँ,” उहाँले भन्नुभयो, “अस्ति मात्र आएको सरकारको नीति तथा कार्यक्रममा उद्योग व्यवसायलाई कोमामा जानबाट बचाउनेतर्फ कुनै ठोस कार्यक्रम नआउँदा हामी अत्यन्त दुःखित र्छौँ ।”

महासंघले लकडाउनका कारण देशभर औद्योगिक तथा आर्थिक अवस्था बुझ्न आफ्ना जिल्ला, नगर उद्योग वाणिज्य संघसँग संवाद गर्दै आएको थियो । त्यस्ता संवादमा सहभागीले उत्पादित वस्तुहरू बजारसम्म लैजान समस्या खडा भएको, तीनै तहका सरकार र प्रशासनबीच समन्वय नहुँदा उद्योग व्यवसाय चलाउन अन्यौल भएको, गोदाममा रहेका वस्तुहरू समयमा बजारमा पठाउन नसक्दा करोडौँ मूल्यका सामानहरूको उपभोग्य मिति सकिँदा व्यवसायीहरूमा ठूलो नोक्सानी भएको जनाइएको छ । त्यस्तै बैंकहरूबाट ब्याज तथा किस्ता तिर्न ताकेता आउने गरेको, घरभाडा, जरिवानामा समस्या रहेको, ऋणको पुनःतालिकीकरण र पुनःकर्जाका विषयमा हालसम्म स्पष्ट व्यवस्था आउन नसक्दा अन्यौलता बढेकालगायत जानकारी गराएको महासंघले जनाएको छ ।

“समस्या तत्काल सम्बोधन नभएमा उद्यमी व्यवसायीहरू गर या मरको अवस्थामा पुग्ने र उनीहरूसँग सडकमा आउनु बाहेकको अर्को विकल्प नभएको पीडा छ,” राणाले भन्नुभयो, “यस्तो कठिन अवस्थामा आगामी बजेटमार्फत् उद्योगी व्यवसायीको समस्या सम्बोधन गरी उद्योग व्यवसाय सञ्चालन गर्ने र समग्र निजी क्षेत्रको मनोबल उच्च राख्न आर्थिक पुनःउत्थान प्याकेज घोषणा गरी सोही बमोजिमका उपयुक्त नीति तथा राहतका समयबद्ध कार्यक्रमहरू ल्याउनुपर्छ ।”गोरखापत्र


प्रतिक्रिया दिनुहोस्