नेपाली जनताको सरकार हो, कुनै देशको आशिर्वादले टिक्ने र ढालिने कल्पना नगरे हुन्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार कुनै विदेशी राजदूतले भूमिका खेलेर टिक्ने र ढल्ने कल्पना पनि गर्न नहुने बताएका छन् ।
मंगलबार प्रतिनिधि सभामा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रमबारे सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओली आफ्नो सरकार नेपाली जनताको आदेशमा बनेकाले कसैले हटाउन नसक्ने बताए ।
“हामी कहिलेकाहीँ सुन्छौं– जानैजानै लाग्याथ्यो, फलानो देशको राजदूतले भूमिका खेलेर फेरि अड्याइदियो । अहिलेको सन्दर्भमा नेपालको स्वाभिमानमाथि यस्ता खालका कमजोर, निम्छरा वचनहरू कुनै पनि देशले नबोलिदिए राम्रो हुन्थ्यो । यो देश नेपाली जनताले बनाएको हो, कुनै पनि देशको आशीर्वादबाट बन्ने, टिक्ने, अडिने, ढल्ने, ढालिने, कल्पना नगरे हुन्छ । यो नेपाली जनताको इच्छाको प्रकटीकरण हो,” उनले भने ।
उनले सरकार ढलोस् भनेर कसैले इच्छा गर्न पाइने तर त्यस्तो इच्छा पूरा नहुने बताए।