टिङ्कर र लिपुलेक पुग्ने सडक बनाउन सेना खटियो « Arthapath.com
१० जेष्ठ २०७७, शनिबार

टिङ्कर र लिपुलेक पुग्ने सडक बनाउन सेना खटियो



काठमाडौँ । दार्चुला जिल्लाको व्यास गाउँपालिकाको घाँटीबगर क्षेत्रमा नेपाली सेनाले सडक निर्माण सुरु गरेको छ । यो सडक निर्माणपछि टिङ्कर र लिपुलेक पुग्न भारतीय भूमिको प्रयोग गर्नुपर्ने अहिलेसम्मको अवस्थाको अन्त्य हुनेछ ।

असारसम्ममा उक्त क्षेत्रमा गोरेटो बाटो निर्माण भइसक्ने नेपाली सेनाले जनाएको छ । सेनाको प्राविधिक टोली घाँटीबगर क्षेत्रको थी भन्ने स्थानमा तैनाथ भइसकेको र अब चाँडै नै बाटो निर्माण कार्य सुरु हुने छ ।

चीन र भारतको सीमा नाकासमेत पर्ने दार्चुला जिल्लाको व्यास गाउँपालिकास्थित घाँटीबगर इलाकामा दुई मिटर चौडाइको ४५० मिटर गोरेटो र घोडेटो बाटो निर्माण गरिने जानकारी सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले दिनुुभयो ।

व्यास गाउँपालिकामा पर्ने छाङरु र टिङ्करका करिब १८२ घरपरिवारको करिब १२०० जना स्थानीयलाई जिल्ला सदरमुकाम खलङ्गा आवतजावत गर्न ठूलो समस्या छ । व्यास गाउँपालिकामा पर्ने मौरी भीरमा ठूूलो चट्टान र घाँटीबगर भन्ने स्थानमा पहिरोसमेत गएकाले आवतजावत गर्न समस्या भएको हो ।
घाँटीबगर र मौरी भीर इलामा पर्ने ४५० मिटर सडक खण्ड अविलम्ब सुचारु गर्न दार्चुला जिल्ला सुरक्षा समितिबाट निर्णय भएबमोजिम सडक खण्ड निर्माण गर्न सेना खटिएको हो ।

२०७७ वैशाख १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले महाकाली करिडोर (दार्चुला टिङ्कर सड्क योजना) अन्तर्गत उत्तरीतर्फ रहेको ८७ किलोमिटर सडक खण्ड नेपाली सेनामार्फत निर्माण गराउने निर्णय गरेको थियो ।गोरखापत्र


प्रतिक्रिया दिनुहोस्