पर्यटन मन्त्रालयको प्रगति ६० प्रतिशतमा सिमित

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत आर्थिक बर्षमा ६० प्रतिशत प्रगति गरेको बताएको छ । मंगलबार पर्यटन मन्त्रालयको वार्षिक प्रगति विवरण सार्वजनिक गर्ने क्रममा मन्त्री योगेश भट्टराईले कोरोनाका कारण ६ महिना अपेक्षाकृतरुपमा काम गर्न नपाएकाले प्रगति ६० प्रतिशतमा मात्रै सीमित भएको बताए ।
प्रगति विवरण ९० प्रतिशत बढी हासिल हुने थियो तर कोरोना महामारीले समस्या आएको मन्त्री भट्टराईले दावी गरे । उनले भने “भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न हुने थियो तर कोरोना भाईरसका कारण ढिला भएकाले विनियोजित साढे ३ अर्ब रुपैयाँ राम्रोसँग खर्च नभएको हो । ” भैरहवाको विमानस्थलको हालसम्म ९१ प्रतिशत काम सम्पन्न भएको उनले बताए ।