मदन भण्डारी फाउण्डेसन मकवानपुरले “फुड बैंक” अभियान संचालन गर्ने « Artha Path
१३ भाद्र २०७७, शनिबार

मदन भण्डारी फाउण्डेसन मकवानपुरले “फुड बैंक” अभियान संचालन गर्ने



मकवानपुर । मदन भण्डारी फाउण्डेशन मकवानपुरले हेटौंडामा “फुड बैंक” अभियान सञ्चालन गर्ने भएको छ । कोरोना माहामारीका कारण दैनिक गुजारा चलाउन नसकेर अप्ठ्यारोमा परेका श्रमजिवी तथा विपन्न परिवारलाई लक्षित गरेर फाउण्डेसनले फुड बैङ अभियान संचालन गर्न लागेको हो ।

फाउण्डेशनले आगामी सोमबारदेखि हेटौंडाको अटोल्याण्ड चोकमा फुड संकलन केन्द्र रहने गरि फुडबैंक सञ्चालन गर्न लागिएको फाउण्डेसनका जिल्ला अध्यक्ष एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो । कोरोना भाइरसका कारण उत्पन्न भएको आर्थिक संकटले धेरैको बिहान–बेलुकाको हातमुख जोर्ने माध्यम गुमेका न्यून आय भएका परिवारलाई लक्षित गरेर फुड बैंक अभियान सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो ।

फाउण्डेसनले सोमबारबाट “हुनेले दिएर जाऔं नहुनेले लिएर जाऔं” भन्ने अभियान सुरु गर्न लागेको उहाँले बताउनुभयो । फुड बैंकमा हुनेले खाद्यान्न सहयोग गर्नुहुनेछ भने नहुनेले त्यहाँ राखेको खाद्यान्न लिएर जानुहुने छ । काम गर्न नपाएर कोही पनि भोकै बस्नु नपरोस् भनेर फाउण्डेसनले सामाजिक उत्तरदायित्व स्वरुप यस्तो अभियान सञ्चालन गर्न लागेको उहाँले बताउनुभयो । यसका साथै अभियानले आवश्यक्ताका आधारमा जिल्लामा सञ्चालनमा रहेका आइसोलेसन, क्वारेन्टाईन, बृद्धाश्रमहरुमा समेत सहयोग गर्ने उहाँले बताउनुभयो ।

आज बिहान बसेको फाउण्डेसनको बैठकले पहिलो चरणमा हेटौंडाबाट अभियान सञ्चालन गर्ने निर्णय गरेको समेत उहाँले बताउनुभयो । उक्त अभियान अन्तरगत कोरोनाका कारण छाक बसेका नागरिकलाई परिवार संख्याको आधारमा सहयोग उपलब्ध गराईने उहाँले जानकारी दिनुभयो । त्यस्ता परिवारले एक पटकमा एक छाक टर्ने गरि दाल, चामल, नुन, तेललगायत खाद्यान्न उपलब्ध गराईने प्रमुख खुलालले बताउनुभयो । फुड बैंक सञ्चालनका लागि आजको बैठकले ५ सदस्य फुड बैंक व्यवस्थापन उपसमिति निर्माण गरेको छ ।

फाउण्डेसनका सदस्य उत्तम न्यौपानेको संयोजक्त्वमा बोल बहादुर कार्की, रमिला सापकोटा, शिवहरी दाहाल, भवानी शर्मा सदस्य रहनुभएको ५ सदस्य समिति गठन गरिएको छ । उक्त समितिले कार्यविधि समेत तयार गरेर आगामी सोमबारबाट काम सुरु गर्ने उहाँले बताउनुभयो । अभियानमा नगद तथा जिन्सी दुबै सहयोग गर्न सकिने उहाँले जानकारी दिनुभयो । प्रमुख खुलालले अभियानमा आफूले सकेको सहयोग गरिदिनु हुन समेत सबैलाई आव्हान गर्नुभएको छ ।


प्रतिक्रिया दिनुहोस्