राष्ट्र बैंकका यी भव्य महल कहिले ठडिएलान ? बालुवाटार ३७ र थापाथली ६५ प्रतिशतमात्रै काम सम्पन्न « Arthapath.com
१९ भाद्र २०७७, शुक्रबार

राष्ट्र बैंकका यी भव्य महल कहिले ठडिएलान ? बालुवाटार ३७ र थापाथली ६५ प्रतिशतमात्रै काम सम्पन्न



चित्रराज भण्डारी
काठमाडौं । नेपाल राष्ट्र बैङ्क नेपालको केन्द्रीय बैङ्क हो । नेपालको आर्थिक क्षेत्रको व्यवस्थापन गर्ने उद्देश्य सहित केन्द्रीय बैङ्कका रूपमा नेपाल राष्ट्र बैङ्क ऐन १९५५ अन्तर्गत नेपाल राष्ट्र बैङ्कको स्थापना २०१३ साल वैशाख १४ गते भएको थियो । नेपाल राष्ट्र बैङ्क र वित्तीय संस्थाहरूको मौद्रिक विनिमायक र प्रक्षेपण को रूपमा रहेको छ। तत्कालिन ऐनको ठाउँमा नयाँ नेपाल राष्ट्र बैङ्क ऐन २०५८ परिचालन गरी त्यसमा बैङ्कको स्वायत्तता, स्वतन्त्रता र सुनिश्चिता गरिएको छ। नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्रा विनियम दर र देशमा रहेको विदेशी मुद्रा भण्डारको संरक्षण, विदेशी मुद्रा नीति नियन्त्रण गर्दछ।

नेपाल राष्ट्र बैंकका नब निर्मित भवनहरु तोकिएको समयमा निर्माण सम्पन्न नहुने भएका छन् । राष्ट्र बैंकका दुईवटा ठाउँमा नयाँ भवनहरु निर्माण भईरहेका छन् । राष्ट्र बैंकका पुराना भवनहरु साना र भुकम्पले क्षतिग्रस्त भएपछि नयाँ भवनहरु निर्माण भईरहेका हुन् । बालुवाटार र थापाथलीस्थित केन्द्रिय बैंकका अत्याधुनिक भवनहरु निर्माण भईरहेका हुन । तर कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लगाईएको लकडाउनका कारण निर्माण कार्यमा ढिलाई हुने निर्माण कम्पनीहरुले बताएका छन् ।

राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गत रहेर दुबै ठाउँका भवनहरु निर्माण भईरहेका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरणले फरक फरक निर्माण कम्पनीलाई ठेक्कामा दिएको भएपनि समयमा काम सम्पन्न गर्न नसकिने निर्माण कम्पनीले बताएका छन् ।

हाल बालुवाटारस्थित निर्माण भईरहेका भवनहरुको ३७ प्रतिशत र थापाथलीस्थित निर्माण भईरहेका भवनहरुको ६५ प्रतिशत काम सम्पन्न भएको निर्माण कम्पनीले बताएका छन् ।

थापाथलीमा ६५ प्रतिशत काम सम्पन्न

थापाथलीमा निर्माण भईरहेका भवनहरुको ठेक्का विलिल कन्टेक जेभीले पाएको छ । उक्त कम्पनीले ३० महिनामा निर्माण सक्नेगरि १ अर्ब ८७ करोड १० लाख रुपैयाँमा प्रोजेक्ट पाएको थियो ।

उक्त कम्पनिले २०७५ मंसिरदेखी काम शुरु गरेको थियो । उसले आउदो बैशाखमा निर्माण कार्य सक्ने र सम्वन्धित पक्षलाई बुझाउने लक्ष्यका साथ काम गरिरहेको थियो । तर सरकारले लगाएको लकडाउनका कारण तोकिएको समयमा सम्पन्न नहुने पक्का भएको छ ।

एउटा मुख्य भवन, क्यान्टिन र पार्किङ गरि तीनवटा भवन निर्माणको जिम्मा पाएको कम्पनीले हालसम्म ६५ प्रतिशत काम सम्पन्न भएको छ । मुख्य भवन निर्माण सम्पन्न भएको छ भने फिनिसिङको काम बाँकि रहेको छ । फिनिसिङका लागि आवश्यक पर्ने सामाग्रीहरु चिन र भारतबाट ल्याउनुपर्ने भएकाले काम रोकिएको कम्पनीले बतायो ।

निर्माण कम्पनीले दिएको जानकारी अनुसार सिभिल स्ट्रक्चर शतप्रतिशत सम्पन्न भएको छ भने सुपर स्ट्रक्चर ८० प्रतिशत सम्पन्न भएको छ । मेकानिकल, ईलेक्ट्रिोनकको काम शुरु भएको छ । मुख्य भवनको ४ तला निर्माण भईसकेको छ । त्यस्तै क्यान्टिन भवन र पार्किङ भवनको काम शुरु भईसकेको छ ।

यदि कोरोना भाईरस रोग समाधान र सामान आयातमा सहजता आयो भने एक बर्षभित्र काम सम्पन्न गर्ने निर्माण कम्पनीका सिनियर ईन्जिनियर सुधन रावतले बताए । “फिनिसिङको लागि बालुवा पनि अपुग छ । यदि लकडाउन नभए समयमा काम पुरा हुन्थ्यो । अझैपनि कोरोना भाईरस नभएमा र अन्य सामान आएमा एक बर्षभित्र काम सम्पन्न गर्छाै ।” रावतले भने । पुरानो दरबार शैलीमा निर्माण भएको हो भने भित्रिको स्ट्रक्चर आधुनिक बन्न लागेको हो ।

मुख्य बिल्डिङमा बैंकिङ काम, बी भवन क्याण्टिन र सी मा चाँहि अण्डर ग्राउण्ड पार्किङ र चेकिङ हुने छ । पार्किङमा करिव २६५ सवारी साधन अटाउने गरि काम भईरहेको छ । थापाथलीमा बैंकिङ कार्यालय हुनेछ । थापाथलीमा सर्वसाधारणसँग प्रत्यक्ष जोडिने बैंकिङ कारोबार तथा विदेशी मुद्रा सटही, सरकारीे चेकको भुक्तानी पनि हुनेछ ।

बालुवाटर भवनको ३७ प्रतिशत मात्रै सम्पन्न

प्रधानमन्त्री निवाससंगै निर्माण हुँदै गरेको राष्ट्र बैंकको मुख्य भवन करिव ६० हजार स्क्वायर फिटमा भवन निर्माण भईरहेको छ । भवन निर्माणका लागि सिको समानन्तर जेभीले पाएको छ । ठेक्का सम्झौता २०७५ फागुनमा भई चैतबाट काम शुरु गरिएको थियो । काम शुरु भएको करिब २ बर्ष पुग्न लाग्दा पनि हालसम्म ३७ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । ३० महिनामा सम्पन्न गर्नुपर्ने काम सीको कम्पनीले भ्याटसहित २ अर्व १० करोड ४३ लाख ६६ हजार ८ सय १२ रुपैयाँमा ठेक्का पाएको हो ।

बालुवाटार भवनको जमिनमुनि दुई तलाको काम भइरहेको छ ३७ प्रतिशत काम बापतको कम्पनीको ८० करोडको विल पास भएको छ ।

कोरोना महामारी अन्त्य भएपछि मात्रै सबै काम सम्पन्न हुने कम्पनीले बताएको छ । सरकारले लकडाउन र लगाएको समयमा काम बन्द गरेको थियो । पहिले २५० जना मजदुरले काम गर्थे भने हाल ४० जनाले मात्रै काम गरिरहेका छन् । उनीहरुको पीसीआर चेकिङ गरेर नै मजदुरलाई काममा लगाईएको छ ।

सरकारले गीट्टी वालुवा लगायतका सामग्री आउनै नदिएको सीको समानान्तर कम्पनीका प्रोजेक्ट म्यानेजर तुलसी भट्टराईले बताए । तोकिएको समयमा काम सम्पन्न नहुने निर्माण कम्पनीले नै बताएको छ ।

किन ढिला भयो ?

बालुवाटार र थापाथलिस्थित बनिरहेका नेपाल राष्ट्र बैंकका भवनहरु पुरानै दरबार शैलीमा निर्माण भईरहका छन् । चैत्र महिना अघि दुबै ठाउँका भवनहरु तिब्र रुपमा निर्माण कार्य भईरहेका थिए । तर संसारभरि फैलिरहेको कोरोना भाईरस नेपालमा पनि देखा पर्न थालेपछि सरकारले चैत्र ११ गतेदेखी ६ महिना लामो लकडाउन लगायो । सरकारले लकडाउन लगाएको समयमा आवश्यक सुरक्षा उपाय अपनाएर मजुदरलाई काममा लगाउन भनेको थियो । तर मजदुरहरुलाई बाटोमा आउजाउमा प्रहरीले रोक्न थालेकाले काममा ढिलाई भएको हो । त्यस्तै लकडाउनको समयमा नै आवश्यक पर्ने सामाग्री ल्याउन पनि नदिएको निर्माण कम्पनीले आरोप लगाएका छन् । चैत्रदेखी करिव ४ महिनासम्म काम ठप्प भएको उनीहरुले बताएका छन् । आवश्यक पर्ने सामाग्री अभाव भएपछि काम सुस्त गतिमा अगाडी बढेको छ ।


प्रतिक्रिया दिनुहोस्