अमेरिकी पत्रकारहरूलाई चिनले प्रेस कार्ड नदिने « Arthapath.com
२२ भाद्र २०७७, सोमबार

अमेरिकी पत्रकारहरूलाई चिनले प्रेस कार्ड नदिने



काठमाडौं । चिनियाँ अधिकारीहरूले चीनमा बसेर अमेरिकी समाचार संस्थाका लागि काम गर्ने कम्तीमा तीन पत्रकारको प्रेस पास नवीकरण गर्न अस्वीकार गरेका छन् ।

द वाल स्ट्रीट जर्नल, सीएनएन र गेट्टी इमेजेजका पत्रकारहरूले हालै आफ्नो प्रेस कार्ड नवीकरण गर्न जाँदा उनीहरूलाई अनुमति नदिइएको बताइएको छ । अमेरिकाले चिनियाँ पत्रकारहरूका विरुद्ध लगाएको प्रतिबन्धका कारण यसो गरिएको बताइएको छ । त्यसको साटो पत्रकारहरूलाई म्याद गुज्रेको प्रेस कार्ड उपयोग गरेर काम गर्न मिल्ने अस्थायी अनुमतिपत्र दिइएको छ । त्यसको म्याद एक वर्षसम्मको हुन्छ ।

ह्वाइट हाउसले चिनियाँ पत्रकारहरूलाई अमेरिकामा काम गर्न दिइरहन्छ कि रोक्छ भन्ने विषयले चीनमा रहेका अमेरिकी मिडियाका पत्रकारको नवीकरण निर्भर रहने बताइएको छ । चीन र अमेरिकाले महिनौंदेखि पत्रकारमाथि गरिने व्यवहारका विषयमा क्रिया प्रतिक्रिया गरिरहेका छन् । अमेरिकाले आफ्नो देशमा रहेका चिनियाँ सरकारी मिडियालाई विदेशी नियोगको संज्ञा दिँदै १२ भन्दा बढी पत्रकारलाई देशनिकाला गरेको थियो ।

त्यसपछि चीनमा रहेका विदेशी पत्रकारहरूलाई समाचार संकलनमा निकै कठिनाइ आएको छ । उनीहरूलाई अन्तर्वार्ता गर्न रोकिएको छ र सुरक्षाकर्मीहरूले पछ्याउने गरेका छन् । केही प्राज्ञहरूले विदेशी सञ्चारमाध्यमसँग कुरा गर्नका लागि विशेष अनुमति लिनुपर्ने भएको बताएका छन् । एजेन्सी


प्रतिक्रिया दिनुहोस्