अनुगमन टोली पुग्दा तरकारी व्यापारीको भागाभाग, ६० रुपैयाँ किलो प्याज बेचे « Arthapath.com
५ आश्विन २०७७, सोमबार

अनुगमन टोली पुग्दा तरकारी व्यापारीको भागाभाग, ६० रुपैयाँ किलो प्याज बेचे



काठमाडौं । वाणिज्य विभागको अनुगमन टोली पुगेपछि सोमबार नक्सालस्थित तरकारी बजारका ब्यापारीहरु भागेका छन् । अनुगमनका लागि उक्त क्षेत्रमा पुगेको जानकारी पाएपछि तरकारी तथा फलफूल ब्यापारी भागेका हुन् । त्यस्तै तरकारी तथा फलफूल ब्यापारी व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद सापकोटा नै भागेका हुन् ।

आलु र प्याजका अर्का व्यापारी किशोर पासवान पनि पसल खुल्लै छोडेर भागेको जनाएको छ । अध्यक्ष सापकोटाको बिजी इन्टरप्राइजेजको नाममा दर्ता भएको पसल खुल्लै छोडी उनी भागेका थिए । अनुगमन टोलीले तरकारीको भाउबारे सोधपुछ गर्दै गर्दा अर्को पसलका शिवलाल शाह पनि पसल छोडेर भागेको अनुगमन टोलीमा रहेका माधव तिमिल्सिनाले बताएका छन् ।

टोली पुगेपछि कतिपय ब्यापारीले प्याज प्रतिकेजी ६० रुपैयाँमा बिक्री गरेका थिए । टोलीको कारवाहीबाट जोगिन प्याज किलोको ६० रुपैयाँमा बेचेका ब्यापारीसँग भएको करिब २० केजी प्याज एकैछिनमा सकिएको थियो । सोमवार बिहान नक्सालमा बा १६ च ९९०१ नम्बरको सवारी साधनले बेचिरहेको प्याकेजिङ गरेको चाउमिनमा उत्पादन र उपभोग मिति केरमेट भएको पाइएपछि टोलीले उक्त भ्यानलाई नियन्त्रणमा लिएको छ ।

यसैगरी टोलीले ज्ञानेश्वरमा रहको कुमारी मिल र मनोरमा ज्ञानेश्वर मिलमा लेवल नभएका खाद्यवस्तु ठूलो परिमाणमा भेटिएपछि उक्त मिलको खाद्य पदार्थ बेच्न रोक लगाएको छ ।


प्रतिक्रिया दिनुहोस्