माघदेखि कालगांगाड हाइड्रोबाट विद्युत उत्पादन हुने, बार्षिक २ अर्व नाफा « Arthapath.com
१३ आश्विन २०७७, मंगलवार

माघदेखि कालगांगाड हाइड्रोबाट विद्युत उत्पादन हुने, बार्षिक २ अर्व नाफा



चित्रराज भण्डारी

काठमाडौं । हाल बझाङ्गमा तीन वटा जलविद्युत आयोजना निर्माण भईरहेका छन् । यी तीनवटा आयोजना ६ जनाको संयुक्त लगानीमा निर्माण भईरहेका हुन् । तीन वटा जलविद्युत आयोजनाबाट करिव ६५ मेगावाट विद्युत उत्पादन हुने छ । यो बझाङ्गका लागि मात्रै नभएर सुदूरपश्चिम प्रदेशका लागि अथवा देशकै गौरवका रुपमा लिईएको छ । बझाङ्गमा निर्माणाधीन जलविद्युत आयोजनाका बारेमा कालंगागाड हाइड्रो प्रा.लि.का प्रबन्धक बखत बहादुर शाहीसंग गरिएको कुराकानीमा आधारितः

कालगांगाड हाइड्रो प्रालिले साढे तीन वर्ष अगाडि निर्माण कार्य शुरु गरेको हो । अहिले ९२ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । ३४६८ (साढे ३ की. मी.) मिटर टनेलको काम असोज १० गते ब्रेक थ्रो भएको छ । आयोजनाको १८४ मिटरको पेन्स्टक (जमिनमुनिबाट आउने पानी) सुरुङको पनि पाइप हाल्ने काम सम्पन्न भएको छ । यो हाइड्रो २०७७ साल पौष मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ । पौषमा निर्माण कार्य सम्पन्न गर्ने र टेस्टिङको काम माघबाट शुरु गरिने कम्पनीले जनाएको छ । टेस्टिङ २/३ महिना जति लाग्छ । त्यसपछि नेपाल विद्युत प्राधिकरणलाई हामीले बिक्री गर्न शुरु गर्छौ । 

विद्युत प्राधिकरणलाई कसरी बिक्री गर्छ ? 

नेपाल विद्युत प्राधिकरणसँग पिपिए सम्झौता गरेको हुन्छ । बर्खा सिजनमा प्रति युनिट ४.८० रुपैयाँ र ड्राइ सिजनमा ८.४० रुपैयाँका दरले प्राधिकरणलाई बिक्री हुन्छ । एक मेगावाट भन्दा साना माइक्रो हाइड्रो पावर जनताले आफै बनाएको विद्युत प्राधिकरणलाई बिक्री गर्नुपर्दैन । अलि ठूलो खालको वा समुदायले पनि सञ्चालन गर्न नसक्ने भएपछि नेपाल विद्युत प्राधिकरणलाई नै बिक्री गरिन्छ ।  

एक मेगावाट भन्दा तलकोलाई पनि समुदायलाई बढि भएको विद्युत नेपाल विद्युत प्राधिकरणमा जोड्ने प्रावधान छ । त्यो उपयोग गर्न सजिलो भएको छ । रातको समयमा चाहिन्छ दिउँसो चाहिदैन भने नेपाल विद्युत प्राधिकरणले किनेर पैसा पनि दिनसक्छ । नेपालको परिप्रेक्षमा अपर कर्णाली जस्तो प्रोजेक्टमा जिएमआर इन्डियन कम्पनी प्रबन्धक भएकाले बङ्गलादेशसँग पिपिए गरेकाले उनीहरूले सक्छन् होला ।
 
निजी क्षेत्रले एक सय मेगावाटभन्दा तलको विजुली उत्पादन गर्ने हो । अपर तामाकोशीको ४०० भन्दा बढिको रहेको छ । त्यो नेपाल विद्युत प्राधिकरणले आफै निर्माण गरिरहेको छ । यो सबैले नेपाल विद्युत प्राधिकरणसँग पिपिए गर्ने नै हो । भोलिको दिनमा एनईएले पिपिए गर्छ की गर्दैन भन्ने प्रश्न चिन्ह खडा हुन सक्छ यहाँ । एनईएले भोली आफूलाई पुग्यो चाँहिदैन भन्न सक्छ । अहिले एनईएले धेरै नै पिपिए गरिसकेकाले सबैको ५ हजारभन्दा धेरै नै आउन सक्छ । नेपालमा अहिले २ हजारको रेन्जमा विद्युत आवश्यक रहेकाले त्यो भन्दा बढि एनईएलाई पनि गाह्रो हुन सक्छ ।

यसको लगानी कति हो ? 

हालसम्म सबै काम गर्नका लागि कालंगा हाईड्रोको लागत अनुमानित जम्मा २८० करोड रुपैयाँ हो । अन्तिमसम्म दिनमा थपघट पनि हुन सक्ने कम्पनीले जनाएको छ । 


६ जनाको लगानीे 

यो कम्पनीमा ६ जनाको लगानी रहेको छ । प्राईभेट सेक्टरको नितान्त स्थानिय लेभलको डेभलपर लगानीकर्ता हुन् । यसको ईन्जिजियरिङ परामर्शदाता, सिभिल कन्ट्याक्टर, एचएम (हाईड्रो मेकानिकल) सबै नेपालको नै रहेका छन् । तर ईएम (ईलेक्ट्रो मेकानिकल) विदेशी रहेको छ । लगानीकर्ताहरु उद्योगी उमेशलाल श्रेष्ठ, राजेस श्रेष्ठ, शिव प्रसाद घिमीरे, खगेश्वर बोहरा, तीर्थराज चटौत र विरेन्द्र बहादुर मल्ल गरि ६ जना लगानीकर्ताले नै तीन वटा कम्पनीले निर्माण गरिरहेको छ । 
 
कालगां हाइड्रो प्रालि ९२ प्रतिशत सम्पन्न

बझाङको बुंगल नगरपालिका ५ र बित्थडचिर गाउँपालिका ६ र ८ मा निर्माणाधीन कालंगा हाइड्रोको निर्माण कार्य करिव शत प्रतिशत सम्पन्न भएको छ । शुरुङ खन्ने काम शतप्रतिशत सम्पन्न भएको छ । हालसम्म सबै काम करिव करिव सकिएको र अन्य फिनिसिङको काम मात्रै रहेको छ । जम्माजम्मी ९२ प्रतिशत सम्पन्न भएको छ । कालंगा हाइड्रो प्रा.लि.द्वारा निर्माण भईरहेको १५.३३ मेगावाट विद्युत उत्पादन गर्न सक्ने क्षमता विस्तार गरिएको छ । १५.३३ मेगावाट विद्युत उत्पादन गर्नको लागि ३ हजार ४६८ मिटर लामो सुरुङ खन्ने काम पनि सम्पन्न भएको छ । 

असोज ९ गते अन्तिम ब्लास्ट वा ब्रेक थ्रो गरेर सुरुङ खन्ने काम पनि सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । जम्मा ३ हजार ४ सय ७८ मिटर लम्बाइ रहेको उक्त सुरुङ बुंगल नगरपालिकाको पाउटादेखि रुपैलसम्म रहेको  छ । 

अपर(माथिल्लो) कालगांगाड हाइड्रो ९४ प्रतिशत सम्पन्न

सानिगांड हाइड्रो प्रालि प्रबन्धक रहेको ३८.४६ मेघावाटको माथिल्लो कालंगागाडको निर्माण कार्य चैत्र महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ । यसको हालसम्म ९४ प्रतिशत कार्य सम्पन्न भएको छ । 

अपर (माथिल्लो) सानिगांड हाइड्रो ७५ प्रतिशत सम्पन्न

बुंगल हाइड्रो प्रालि प्रबन्धक रहेको १०.७० मेघावाट क्षमता रहेको माथिल्लो सानीगांडको पनि काम तिव्र गतिमा भईरहेको छ । यी तीनै विद्युतबाट करिव ६५ मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ । आयोजना कम्पनीले तीनवटै सेक्सनको ८० प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ । 

आयोजनाको सुरुङ निर्माण कार्य शत प्रतिशत, इन्टेक, ड्याम साइड र बक्स कल्भर्टलगायत बाहिरी संरचना निमार्णको कार्य ६५ प्रतिशत र विद्युत गृह निमार्णको कार्य ९५ प्रतिशत भन्दा बढी सम्पन्न भईसकेको कम्पनीले जनाएको छ । 

स्वदेशी प्राविधीकहरुबाट भएको डिजाइन, स्वदेशी लगानी र स्वदेशी कामदारबाटै निर्माण भएको यो आयोजना सुदूरपश्चिम प्रदेशकै गौरवको आयेजना रहेको बताइन्छ । तीनवटै आयोजनाको जम्मा लगानी १० अर्ब रुपैयाँ रहेको छ ।

कति आम्दानी हुन्छ ?  

महिनाको २५ लाख रुपैयाँ प्रतिमेगावाटका दरले वार्षिक एक मेगावाटको तीन करोड आम्दानी हुन्छ । यसरी तीन वोटै कम्पनीको ६५ मेगावाटको वार्षिक करिव २ अर्ब (१ अर्ब ९० करोड) रुपैयाँ आम्दानी हुने छ । 

सेयर बजारमा कहिले जान्छ ?
 
विद्युत उत्पादन शुरु भएलगत्तै सर्वसाधारणको लागि पनि सेयर बिक्री गर्ने कम्पनीको उदेश्य रहेको छ । यसको लागि आवश्यक तयारी भईरहेको छ । 

हाईड्रोमा जोखिम कति छ ? 

जोखिम नभएको होईन । बाढि पहिरो लगायतका समस्याहरु हुन्छन् । त्यसलाई निरन्तर समाधान गर्ने कामभईरहेको हुन्छ । त्यति धेरै ठूलो जोखिम भने हुँदैन । 


प्रतिक्रिया दिनुहोस्