दक्षिण चीन सागरमा चीनको सक्रियता बढ्दा अमेरिकालाई तनाब « Arthapath.com
१३ आश्विन २०७७, मंगलवार

दक्षिण चीन सागरमा चीनको सक्रियता बढ्दा अमेरिकालाई तनाब



काठमाडौं । अमेरिकाले दक्षिण चीन सागरमा चीनको कुनै कानुनी अधिकार नभएको दावी गरेको छ । चीनले यस क्षेत्रमा सैन्य शक्ति बढाएको कुरालाई सार्वभौमसत्ताको रुपमा व्याख्या गरेको भन्दै अमेरिकाले आपत्ति जनाएको छ ।

यस क्षेत्रमा चीनले जबरजस्ती आफ्नो नियन्त्रण कायम राख्न चाहेको भन्दै अमेरिकाले यसलाई चीनले आफ्नो प्रतिज्ञा बिर्सेको आरोप लगायो । अमेरिकी विदेश विभागका प्रवक्ता मोर्गन ओर्टागसले यस्तो बताएका हुन् । पछिल्लो समय दक्षिण चीन सागरमा चीन, अमेरिका र ताइवानले आआफ्नो सक्रियता देखाइरहेका छन् । तीन पक्षबीच तनाब सिर्जना भएको छ । ताइवानको गतिविधिमा भने अमेरिकी समर्थन रहँदैआएको छ । तर चीनले ती दुबैको विरोध गरेको छ । उक्त क्षेत्रको रक्षा गर्नु आफ्नो दायित्व भएको चीनको भनाइ छ ।

चीनले पछिल्लो समय आफ्नो समुद्री सैन्य अड्डाहरूको प्रयोग गरिरहेको गतिविधिलाई लिएर अमेरिकाले आपत्ति जनाएको हो । विदेश विभागका प्रवक्ता ओर्टागसले ५ वर्षअघि चिनियाँ राष्ट्रपतिले ह्वाइट हाउसमा दिएको अभिव्यक्तिको स्मरण समेत गराएका थिए ।

“२५ सेप्टेम्बर २०१५ मा व्हाइट हाउस रोज गार्डेनमा चिनियाँ राष्ट्रपतिले चीनले स्प्राटली टापुलाई सैन्यीकरण नगर्ने बाचा गरेका थिए । उनले यो मामलामा जबरजस्ती नगर्ने बताएका थिए । तर, चिनियाँ कम्युनिष्ट पार्टीको सरकारले यस प्रतिज्ञालाई बिर्सेको छ,” ओर्टागसले भनेका छन् ।

चीनले भने पछिल्लो समय दक्षिण चीन समुद्री क्षेत्रमा सैन्य शक्ति वृद्धि गरिरहेको छ । उसको यस कदमलाई लिएर अमेरिका लगायत शक्तिशाली देशहरूले संयुक्त राष्ट्रसंघमा मुद्दा उठाउँदै आएका छन् । अमेरिकी प्रवक्ताले अन्तर्राष्ट्रिय समुदायले चीनको यस्तो व्यवहारलाई अस्वीकार्य र खतरनाक संज्ञा दिए । साथै यसविरुद्ध आवाज उठाउनुपर्ने उनको माग छ ।एजेन्सी


प्रतिक्रिया दिनुहोस्