पर्यटनमन्त्रीले भने प्रमुख अतिथि नबनाउने, योजना मात्रै माग्ने « Arthapath.com
१८ आश्विन २०७७, आईतवार

पर्यटनमन्त्रीले भने प्रमुख अतिथि नबनाउने, योजना मात्रै माग्ने



काठमाडौं । प्रमुख अतिथि बनाउनेलाई मात्रै योजना दिने गरेको आरोप गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साललाई लागेको छ । योजना माग्ने सांसदलाई आफूलाई प्रमुख अतिथि किन नबनाएको भन्ने प्रश्न गर्ने गरेको आरोप उनीमाथि लागेको हो । आइतबारको प्रदेशसभा बैठकमा स्याङ्जाका प्रदेशसभा सदस्य मेखलाल श्रेष्ठले मन्त्री लम्सालमाथि यस्तो आरोप लगाएका हुन् ।

“अब त जनताले न्याय पाउँछन भन्ने विश्वास सबैतिर छाएको थियो । तर, अहिले त फेरि सामन्तहरू नयाँ राजा र राणाकालमा जस्तै, आफूलाई जी हजुरी गर्ने, सधैं आफ्नो वरिपरि घुमिरहोस् भन्ने चाहना नेतृत्ववर्गमा पलाउन थालेको जस्तो देखिन्छ । त्यसको ज्वलन्त उदाहरण हाम्रै प्रदेशका उद्योग, पर्यटनमन्त्रीज्यूले देखाइरहनुभएको छ । उहाँमा जनताहरूमा आफ्नो अधिकार, आवश्यकता विकास निर्माण खोज्दै उहाँकोमा पुग्दा उहाँले त भन्न थाल्नुभएको छ, तपाईहरूले मलाई चिफ गेस्ट बनाउँदै बनाउनुहुन्न । मलाई तपाइहरूको क्षेत्रमा बोलाउँदै बोलाउनुहुन्न । योजना मागेर मात्रै पाइन्छ ?” प्रदेशसभाको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले भने । त्यस्तै उनले चाडपर्व नजिकिँदा बजारमा पाइने मालसामानमा भएको कालोबजारी, उपभोक्ता ठग्न म्याद गुज्रेका सामग्रीमा नयाँ मूल्य, उत्पादन मिति राखिएकातर्फ अनुगमन गर्नुको सट्टा आफ्नो सत्ता जोगाउन र सम्मान खोज्नेतर्फ ध्यान दिएको आरोप समेत लगाए ।

“तपाईंले हामीकहाँ आएर हामीलाई सेवा गर्न पर्छ भन्ने भाव प्रकट गर्नुभएको छ । यही हो लोकतन्त्र ? संघीयता ? जनताको अधिकार भन्ने मलाई कहाँकहाँ शंका लाग्न थालेको छ । हामीले ल्याएको लोकतन्त्र कसैलाई सामन्त बन्नलाई र कसैले पुर्खाको जस्तो आफूलाई सधैं सेवामा तल्लीन बनाउन, आफूलाई शासक र जनतालाई सेवक बनाउने खालको भाव प्रकट भएको त होइन ? यसले संघीयता र प्रदेश सरकारलाई नै असफल बनाउनतर्फ अग्रसर भएको हो कि भन्ने मलाई लाग्छ,” उनले भने ।

उनले भने, “आफ्नो मन्त्रालयमा छुट्टाइएको परामर्शको नाममा खर्च भएको तीन करोड रकम जो महालेखा परीक्षकले बेरुजुको नाममा देखाइसक्यो ? त्यो कसरी कुन शीर्षकमा खर्च भएको हो ? भन्ने कुरा सदनमा बहुलट्ठक तरिकाले गराउने जुन राष्टको सम्पत्ति बनाउन वन पैदावरमा राजस्व संकलन गर्नतर्फ ध्यान नदिने अनि मन्त्रीचाहिँ कहाँ आफूलाई सम्मान गर्छ ? मेरो पहुँच देखाउन पाइन्छ भन्नेतर्फ मात्रै ध्यान दिँदा प्रदेश सरकार नै असफल हुने हो कि ? हामी प्रदेश सरकारका माननीयहरू नै असफल हुने हो कि मलाई डर लागेको छ ।”


प्रतिक्रिया दिनुहोस्