ज्यानको भन्दा माछाको माया « Arthapath.com
२२ आश्विन २०७७, बिहीबार

ज्यानको भन्दा माछाको माया



कावासोती । कोरोना सङ्क्रमण फैलनुभन्दा अघिको समय दैनिक मजदुरी गरेर घरधन्दा चलाउँदै आउनुभएका कावासोती–१२, गैह्रीका जलन्धर मुसहरको विगत दुई महिनादेखि खेतकै बास भएको छ । धानको फाँटमा सानो कटेरो बनाएर रातभर माछा कुरेर बस्नु उहाँको दिनचर्या बनेको छ । रातभरि माछा कुरेर बस्नु उहाँको रहर होइन, बाध्यता हो ।

कोरोना सङ्क्रमण फैलनुअघि उहाँले घर बनाउने, अन्य ज्याला मजदुरी गरेर आफ्नो परिवार पाल्दै आउनुभएको थियो । तर, कोरोनाका कारण गत वर्षको चैत महिनाबाट काम नपाएपछि गएको चार महिना कहिले भोकै त कहिले आधा पेट खाएर जेनतेन गुजारा चलाउनुभएका जलन्धरले विगत दुई महिनादेखि भने खेतको माछाको भरमा परिवारको गर्जो टार्दै आएको सुनाउनुभयो ।

‘रातिमा माछा अलि धेरै पर्छन्, त्यसैले रातभरि जाल थापेर कुरेर बस्छु । बिहान त्यही बेचेर रासन ल्याउछु,’ जलन्धरले भन्नुभयो, ‘सुरुसुरुमा रातिमा जाल थापेर छोड्थेँ, बिहान माछा लिन आउदा त सबै चोरेर लगिदिन्थे । माछा नै हुन्थेन । त्यसैले त्रिपालले बेरेर सानो कटेरो बनाएर रातभरि यहीँ सुत्छु ।’

एकातिर चोरको डर अर्कोतिर खेतको ठूलो फाँटमा जङ्गली जनावर गैँडा, बँदेल र रातभरिको अँध्यारो समयको समेत पर्वाह नगरी उहाँ एक्लै कटेरोमा माछा मार्न बस्नुहुन्छ । रातभरिमा बढीमा दुई किलोसम्म माछा पर्छ, नभए एक किलो निस्कन्छ । कहिले जालमा माछा नै पर्दैन । केही ठूलो खालको सिद्रा माछा पर्यो भने किलोको चार सयसम्म पर्छ । सानोको खरिददारले मोलमोलाई गरी दुईदेखि तीन सय किलोसम्म लिन्छन् । भोटी माछा पनि तीन सय रुपियाँसम्म बिक्री हुने गरेको जलन्धरले बताउनुभयो ।

रातभरि जालमा परेको माछा बटुलेर बिहानीपख बिक्री गर्न कावासोती बजार आउने गरेको उहाँ बताउनुहुन्छ । कहिलेकाहीँ बाटोमा हिँड्ने बटुवाले पनि खरिद गर्छन् । माछा बिक्रीबाट महिनामा १० हजारसम्म कमाइ हुने गरेको उहाँ बताउनुहुन्छ ।

यस क्षेत्रमा जलन्धरका जस्तै करिब १० वटा यस्ता केटेरा छन् । युवादेखि वृद्धसम्म रातभरि माछा कुरेर बस्छन् । थारु र मुसहर समुदायको बाहुल्य रहेका यस समुदायका व्यक्तिहरु ऋधिकांशले ज्याला मजदुरी गरेर गुजारा चलाउँदै आएका थिए । तर, कोरोना सङ्क्रमणका कारण काम बन्द भएपछि उनीहरुलाई दुई छाक टार्न पनि धौधौ भएको छ ।

अहिले बन्दाबन्दी खुकुलो भएर जनजीवन सामान्य बन्दैगए पनि कोरोना सङ्क्रमणको त्रासले कामदार बोलाउनै नखोज्ने गरेको कावासोती–१२, गैह्रीकै श्याम मुसहरले बताउनुभयो । श्याम पनि सङ्क्रमण फैलनुअघि मिस्त्रीको काम गर्नुहुन्थ्यो । ठेकेदारलाई काममा बोलाउन आग्रह गर्दा पनि नबोलाएपछि उहाँले पेट पाल्न माछा मारेर बेच्न थालेको बताउनुभयो ।

पहिले पहिले घरमा खानका लागि कहिलेकसो माछा मार्दै आएको भए पनि यसपालि आम्दानी गर्ने सोचले खेतको कूलोनजिकै कटेरो बनाएर जालमा माछा थाप्न बाध्य भएको उहाँ बताउनुहुन्छ । ‘माछा बेचेर महिनामा सात आठ हजार जति कमाइ हुन्छ । त्यसैले गुजारा चलाछु । दिनमा कहिले एक किलो कहिले आधा किलो आउँछ । घरमा पनि खान्नौँ । बेच्यो भने पैसा आउँछ । त्यही पैसाले नुनतेल किन्न पुगेको छ ।’ श्यामले भन्नुभयो ।

माछाको सिजन पनि अब सकिनै लागेको उहाँले बताउनुभयो । ‘पानी परेर कुलोमा बाढी आउँदा धेरै माछा पथ्र्यो । अहिले त कुलो सुक्दै गएको छ । माछा पनि कम पर्छ । यो महिनासम्म हो त्यसपछि माछा पाइन्न । अनि काम पनि पाइएन भने के गर्ने भन्ने चिन्ता लाग्छ ।’ श्यामले भन्नुभयो, ‘पढाइ पनि छैन, जग्गाजमिन पनि छैन, मजदुरी गर्न नपाए कसरी परिवार पाल्ने रु’
पिठौलीका डिल्लीराम थनेतको परिवार पनि माछाकै भरमा चलेको छ । ज्याला मजदुरी गरेर परिवार पाल्दैआउनुभएका उहाँले कोरोना सङ्क्रमणपछि काम नपाउँदा माछा मार्न थालेको सुनाउनुभयो ।

‘ज्यानको भन्दा माछाको माया मान्नुपर्छ के गर्नु रु भोकै बस्न सकिन्न, अरु काम नपाएपछि यही माछा मारी बेचेर परिवारको पेट पालेको छु,’ थनेतले भन्नुभयो, ‘रातभरि कटेरोमै बास बसेर एक्लै माछा कुर्दा डर त लाग्छ नि तर, के गर्नु आफैँले केही नगरी अरुले खान दिँदैनन् । ज्यानभन्दा भोक ठूलो हुँदो रहेछ ।’

प्रत्येक वर्ष वर्षातको समयमा यहाँका समुदायले खेतमा जमेको पानी र कूलोमा माछा मार्छन् । अघिल्ला वर्षहरुमा घरमै पकाएर छाक टार्नका लागि माछा मार्ने गरेको भए पनि यसपालि परिवार पाल्नलाई खेतमै बास बसेर माछा मार्न यहाँका विपन्न समुदाय बाध्य भएका हुन् ।ज्ञानु पंगेनीले गोरखापत्रमा समाचार लेखेकि छिन् ।


प्रतिक्रिया दिनुहोस्