यस बर्षको दशैंको टीकाको साइत बिहान १०:१९ बजे « Arthapath.com
८ असार २०८२, आईतबार

यस बर्षको दशैंको टीकाको साइत बिहान १०:१९ बजे



काठमाडौं । यस बर्षको दशैंको टीका उत्तम साइत १०ः१९ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसरा वि.सं. २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ ।

विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादशैँ शुरु हुँने समितिले जनाएको छ । दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन वैदिक सनातन धर्मावलम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित घटस्थापना गर्ने चलन रहेको छ । घटस्थापनाको साइत कात्तिक १ गते शनिबार बिहान ११ः४६ बजे शुभ रहेको समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए ।

यस वर्ष घटस्थापनाका दिन चित्रा नक्षत्र परेकाले दोष नाश गर्ने अभिजित् मुहूर्त दिनुपर्दा ११ः४६ बजेको साइत परेको समितिले जनाएको छ । घटस्थापना गरिएको कलशको मुखमा नवदुर्गालाई आह्वान गरी नौ रात १० दिनसम्म विधिपूर्वक पूजा आराधना एवं दुर्गा सप्तशती चण्डी, देवीभागवत्, देवी स्तोत्रलगायत देवीको महिमागान गाइएका श्लोक वाचन एवं पाठ गर्ने चलन रहेको छ ।

कात्तिक २ गते आइतबार बिहान १०ः५३ बजे पश्चिम फर्केर झण्डा फेर्ने साइत दिइएको छ । विशेषगरी नेपाली सेनाले झण्डा फेर्ने गरेको जनाइएको छ । कात्तिक ५ गते बुधबार पचली भैरव यात्राको साइत जुरेको छ । कात्तिक ७ गते शुक्रबार फूलपाती छ । फूलपाती भित्र्याउन साइत आवश्यक नपर्ने समितिले जनाएको छ ।

कात्तिक ७ गते शुक्रबार फूलपातीकै दिन बिहान ८ः५६ बजे तुलजा भवानीको यात्रा चलाउने साइत रहेका समितिको भनाई छ । यात्रा सकेर बिहान १०ः१४ बजे तुलजा भवानीलाई स्थिर आसनमा राख्ने साइत निस्किएको समितिले जनाएको छ । कात्तिक ८ गते शनिबार महाअष्टमी पर्व मनाइन्छ । यस दिन बलि दिनेले बलिसहित देवीको पूजा आराधना गर्छन् । बेलुकी कालरात्रि मनाइन्छ । कात्तिक ९ गते आइतबार महानवमी पर्व पनि शक्तिपीठमा पूजा आराधना गरी मनाइन्छ ।

दशैँको मुख्य दिन कात्तिक १० गते सोमबार विजयादशमी पर्व परेको छ । यस दिन बिहान नौ रात १० दिन पूजा गरिएको स्थलमा देवी विसर्जनका लागि बिहान १०ः११ बजेको साइत शुभ रहेको समितिका अध्यक्ष गौतमले बताएका छन् । विजयादशमीमा साइत नै खोजेर टीका लगाउनेका लागि भने बिहान १०ः१९ बजेको साइत उत्तम रहेको उनको भनाई छ ।

टीकाकै दिन बिहान ८ः४७ बजे तुलजा भवानीको यात्रा गराउने साइत जुरेको छ । तुलजा भवानीलाई स्थिर आसनमा राख्ने साइत भने बिहान ९ः४९ बजेको छ । खड्गयात्रासमेत यसैदिन गरिन्छ । कात्तिक १४ गते शुक्रबार विधिपूर्वक गरिने सबै बलि पूर्तिको कर्म गर्नुपर्छ । कोजाग्रत पूर्णिमा पनि कात्तिक १४ गते शुक्रबारकै दिन परेको छ । त्यस दिन रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको विशेष पूजा आराधना गरिन्छ ।

महालक्ष्मीको विशेष आराधना गर्ने भक्तजनले कोजाग्रत पूर्णिमाको व्रत बस्ने गर्छन् । चान्द्रमासअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन मनाइने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व यस वर्ष अधिकमास अर्थात् मलमासका कारण कात्तिक १ गतेदेखि शुरु हुँदैछ । मलमासका कारण यस वर्षका अब आउने सबै चाडपर्व केही ढिला हुने उनले बताए ।


प्रतिक्रिया दिनुहोस्