प्राथमिकता प्राप्त वस्तुकै निर्यात कमजोर « Arthapath.com
२७ आश्विन २०७७, मंगलवार

प्राथमिकता प्राप्त वस्तुकै निर्यात कमजोर



काठमाडौँ । निर्यात प्रवद्र्धन गर्ने उद्देश्यसहित सरकारले नेपाल व्यापार एकीकृत रणनीतिमा समावेश गरेकै वस्तुको निर्यात पछिल्लो केही वर्षयता सन्तोषजनक देखिएको छैन । गत आर्थिक वर्ष २०७६/७७ मा कोभिड सङ्क्रमणका कारण समग्र अन्तर्राष्ट्रिय व्यापार प्रभावित हुँदा रणनीतिमा समावेश १२ वटा वस्तुको निर्यात निकै घटेको छ । परिस्थितिजन्य उक्त अवस्थाबाहेक त्यसअघिका आर्थिक वर्षहरूमा प्राथमिकताअनुसार निर्यात बढेको देखिँदैन ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार आव २०७४/७५ मा चार अर्ब ८४ करोड रुपियाँको अलैँची निर्यात भएकामा त्यसको अर्को वर्ष ११.६५ प्रतिशतले घटेर चार अर्ब २८ करोड ४१ लाख रुपियाँको निर्यात भयो । गत आवमा पुनः ६.१९ प्रतिशतले घटेर निर्यात करिब चार अर्ब रुपियाँमा सीमित भयो । दुई वर्षअघि ७७ करोड २४ लाखको अदुवा निर्यात भएकामा गत आवमा ४३ करोड ५७ लाख रुपियाँको निर्यात भयो ।

विगत तीन आर्थिक वर्षको तथ्याङ्क हेर्ने हो भने औषधिजन्य जडीबुटीबाहेक रणनीतिमा समावेश बाँकी सबै वस्तुको निर्यात घटेकै देखिन्छ । आर्थिक वर्ष २०७४/७५ मा सेवा क्षेत्रलाई छाडेर वस्तुहरूको मात्र निर्यात ३६ अर्ब २६ करोड रुपियाँ थियो । सबै किसिमका धागो, कपडालगायत वस्तुको निर्यातमा मात्र भएको वृद्धिले आव २०७५/७६ मा कुल निर्यात ७४ करोड रुपियाँले जति बढी देखिए पनि अन्य वस्तुको निर्यात बढेको देखिँदैन । गत आवमा त यस्ता वस्तुको निर्यात ३० अर्ब रुपियाँमा मात्र सीमित भएको केन्द्रको तथ्याङ्क छ ।

सरकारले पछिल्लोपटक २०७३ असोज १३ गते सेवा क्षेत्रलाई समेत समावेश गरेर व्यापार एकीकृत रणनीति सार्वजनिक गरेको थियो । जसमा कृषितर्फ अलैँची, अदुवा, चिया, औषधिजन्य जडीबुटी समावेश थियो । औद्योगिक उत्पादनतर्फ छाला, जुत्ता, पस्मिना, गलैँचा र कपडा तथा धागो समावेश गरिएको थियो । सेवा क्षेत्रतर्फ दक्ष र अर्धदक्ष सूचना प्रविधि र पर्यटन क्षेत्रलाई राखिएको थियो ।गोरखापत्र


प्रतिक्रिया दिनुहोस्