बल्झदै ज्योति समुहको घर झगडा, कम्पनी रजिष्ट्रारले रुप ज्योतिलाई जितायो « Arthapath.com
२८ आश्विन २०७७, बुधबार

बल्झदै ज्योति समुहको घर झगडा, कम्पनी रजिष्ट्रारले रुप ज्योतिलाई जितायो



काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयले पनि ज्योति समूहका कम्पनीहरुमा अध्यक्षका रूपमा पद्म ज्योतिको दाबीलाई अस्वीकार गर्दै रुप ज्योतिलाई अध्यक्षका रूपमा काम गर्न बाटो खोलिदिएको छ । यसअघि साधारणसभा नै नबोलाई रुप ज्योति अध्यक्ष बनेको भन्दै पद्य ज्योतिले मुद्दा दायर गरेका थिए ।

ज्योति समूहभित्र सामूहिक पारिवारिक लगानीका झण्डै डेढ दर्जन कम्पनी सञ्चालनमा छन् । ती कम्पनीमा दाजु पद्म ज्योति, भाई रुप ज्योति र अविवाहित बहिनी कमला कंसाकार तीनजनाको प्रत्यक्ष वा होल्डिङ कम्पनीमार्फत बराबरका सेयर साझेदार छन् । ४० वर्ष अगाडि नै ज्योति समूहका संस्थापक मणिहर्ष ज्योतिले आफ्ना ३ सन्तानलाई बराबरी हिस्सा दिएर सम्पत्तिको स्वामित्व दिलाएका थिए । यसमा आमाको भागमा रहेको सेयर पद्य ज्योतिले राखेकोमा आमाको मृत्यु भैसकेपछि उनले आफैँले खाने दाउ गरेको रुप ज्योतिको आरोप छ ।

केही समय पहिलेसम्म ती अधिकांश कम्पनीको अध्यक्षमा पद्म ज्योति थिए । तर, दाजु पद्म ज्योति र भाइ रुप ज्योतिबीच पारिवारिक विवाद बढ्दै गएपछि भाइ रुपले बहिनी कमलाको मञ्जुरीमा दाजु पद्मलाई अध्यक्षबाट हटाएका थिए । दाजु पद्म ज्योतिले अध्यक्ष पदको गैरकानूनी प्रयोग गरी ज्योति समूहका कम्पनीका नाममा रहेका घरजग्गा तथा स्टक बिक्री गरेको आरोप भाइ रुप ज्योतिले लगाउँदै आएका छन् । समूहका अधिकांश कम्पनीमा ३ जना दाजु–बहिनीको बराबर हिस्सा रहेकोमा रुप ज्योतिले बहिनी कमलाको सहमतिमा साधारणसभा बोलाएर बहुमत पुर्याई आफू अध्यक्ष बनेका हुन् ।

आफूलाई अध्यक्ष पदबाट हटाएपछि विभिन्न कम्पनीका नामबाट दाजु पद्मले त्यसविरुद्ध कम्पनी रजिष्ट्रारको कार्यालयमा उजुरी दिएका थिए । आफ्नो उजुरीमा उनले विभिन्न कम्पनीले बोलाएका विशेष साधारणसभामाथि प्रश्न उठाएका थिए । उनले सञ्चालक समितिको बैठक तथा साधारणसभा बोलाउने अधिकार कानुनले अध्यक्षलाई दिएको भन्दै सेयरधनी र सञ्चालक समितिको अध्यक्षसमेतको हैसियतमा कम्पनीको कुनै पनि सञ्चालक समितिको बैठक वा साधारणसभा आफ्नो जानकारीबेगर हुन सम्भव नभएको दलिल दिएका थिए ।

त्यसैगरी, उनले विशेष साधारणसभा गरिएको भनिएको साउन २१ गतेको मितिमा आफू काठमाडौंमा नै रहेर कम्पनीका काम नियमितरूपमा गरिरहेको अवस्थामा रीतपूर्वक साधारणसभा नबोलाएको तथा आफ्नो आदेशबमोजिम सबै सेयरधनीलाई सूचनसमेत दिनुपर्ने कुरा निर्विवादित रहेको जानकारी उजुरीमा दिएका थिए । उनले साधारणसभा नै नबसी, सञ्चालक समितिको कुनै चुनाव नै नगरी जालसाजीपूर्ण तवरले झूट्टा दस्तावेज तयार गरी कम्पनी रजिष्ट्रारको कार्यालयको सिस्टममा अपलोड गरेको आरोपसमेत उजुरीमा लगाएका थिए ।

उनले रुप ज्योतिले जालसाजी किर्ते गरेर तयार पारेका कागज कम्पनी ऐनको दफा १२० को अधिकार क्षेत्रको प्रयोग गरी अमान्य घोषित गर्न मागसमेत गरेका थिए । असार ५ गते पद्म ज्योतिले दिएको उजुरीका आधारमा कम्पनी रजिष्ट्रारको कार्यालयले ज्योति समूहका विभिन्न कम्पनीसँग भदौ २ गते सातदिने स्पष्टीकरण मागेको थियो । हिमाल एण्ड कम्पनी, स्यामुकापु एण्ड कम्पनी, ज्योति एण्ड कम्पनी, हिमाल आइरन एण्ड स्टिल प्रालि, स्याकार कम्पनी, म्यानेजमेन्ट सर्भिसेसलगायतका कम्पनीले त्यसको जवाफसहित कागजातहरु पनि पठाएका थिए । त्यो जवाफमा चित्त बुझाउँदै कार्यालयले कम्पनीको प्रबन्ध–पत्र तथा नियमावली र कम्पनीबाट प्राप्त जवाफ, प्रमाण, कागजात हेर्दा कम्पनी सञ्चालक समितिको बैठक, विशेष साधारणसभा, वार्षिक साधारणसभा कानूनबमोजिम नै भएको तथा ती निकायबाट भएका निर्णयहरु, कागजात विवरण कानुनबमोजिम नै विद्युतीय अभिलेखमा अभिलेख तथा प्रमाणित भएको देखिएको भन्दै त्यसलाई बदर गर्न नमिल्ने जानकारी पद्म ज्योतिलाई दिएको छ ।

कम्पनी रजिष्ट्रारको कार्यालयले आफ्नो निर्णयमा चित्त नबुझे कानूनका म्याद भित्र सम्बन्धित निकायमा पुनरावेदनका लागि जान सक्ने बाटोसमेत पद्म ज्योतिलाई देखाइदिएको छ । यस आधारमा ज्योति समूहका कम्पनीमा अब रुप ज्योति अध्यक्षका रुपमा रहनेछन् । यसले ज्योति समूहका कम्पनीमा मात्रै होइन् ज्योति समूहले प्रतिनिधित्व गर्ने अन्य कम्पनीमा समेत प्रभाव पर्ने अवस्था आएको छ । बुटवल पावरमा प्रभाव ज्योति समूहको मुख्य लगानी रहेको कम्पनीमध्ये सर्वसाधारणमा सेयर जारी गरिएको बुटवल पावर कम्पनी पनि हो । बिपिसीको सेयर साझेदार सांग्रिला इनर्जी लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै पद्म ज्योति अध्यक्ष भएका छन् । सांग्रिला इनर्जी कम्पनीको संस्थापक सेयरधनी ज्योति एण्ड कम्पनी हो । अब ज्योति एण्ड कम्पनीको अध्यक्षमा रुप ज्योति चयन भएका छन् । उनले पद्म ज्योतिलाई हटाएर आफू वा अन्य कोही प्रतिनिधिलाई सांग्रिला इनर्जीमा मनोनयन गर्न सक्छन् ।

सांग्रिला इनर्जीले पनि ज्योति एण्ड कम्पनीकै प्रतिनिधिलाई बुटवल पावरमा मनोनीत गर्न सक्छ । त्यस्तो बेला पद्म ज्योतिले बुटवल पावर कम्पनीको अध्यक्षबाट पनि हट्नुपर्ने हुनसक्छ । बुटवल पावर जलविद्युत् क्षेत्रको पायोनियर कम्पनी हो । विदेशी लगानीमा स्थापित यसमा सरकारले निजीकरणको अवधारणाअनुसार ज्योति समूहमा मुख्य सेयर दिएको थियो । यसमा विदेशी संस्थादेखि सरकारको पनि लगानी छ । ज्योति दाजुभाइको विवादसँगै अब बीपीसीको गतिविधिमा पनि प्रभाव पर्ने देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्