राष्ट्र बैंकले नयाँ नोट नदिने भएपछि बैंकहरुले पुरानो तर सफा नोट वितरण गर्दै « Arthapath.com
२८ आश्विन २०७७, बुधबार

राष्ट्र बैंकले नयाँ नोट नदिने भएपछि बैंकहरुले पुरानो तर सफा नोट वितरण गर्दै



काठमाडौं । विश्वव्यापी रुपमा महामारि फैलिएको कोरोना भाइरसका कारण नेपाल राष्ट्र बैंकले दसैंका लागि नयाँ नोट नदिने घोषणा गरेको छ । तर नेपाल राष्ट्र बैंक हेटौँडाले वडादशैँ र तिहारका लागि भन्दै पुरानो तर सफा नयाँ नोट वितरण गरेको छ । मकवानपुरको हेटौँडा लगायत विभिन्न ठाउँमा आजदेखि पुरानो नोट वितरण शुरु गरेको हो ।

नेपाल राष्ट्र बैंक हेटौँडाका अनुसार सरकारी स्वामित्वको र निजी क्षेत्रबाट सञ्चालित बैंकले सर्वसाधारण र कर्मचारीलाई आवश्यकता अनुसार विभिन्न दरको पुरानो नोट आजदेखि वितरण शुरु गरिएको हो ।

उद्यमी, शिक्षक निजामति कर्मचारी, प्रहरी, नेपाली सेना र सर्वसाधारण सेवाग्राहीको माग बमोजिम नच्यातिएको पुरानो नोट वितरण शुरु गरिएको राष्ट्रिय वाणिज्य बैंक हेटौँडा शाखाका प्रबन्धक हेमराज मरहठ्ठाले जानकारी दिए । बैंकले सेवाग्राहीको माग बमोजिम रु १ हजार, ५ सय, १ सय, ५०, २०, १०, ५ र रु २ दरका पुरानो नोट वितरण गरिरहेको छ ।

मकवानपुरमा नेपाल बैँक लिमिटेड, कृषि विकास बैँक, राष्ट्रिय वाणिज्य बैँक र निजी क्षेत्रबाट सञ्चालित विभिन्न बैँक गरी २८ वटा बैँकले अहिले दिनहुँ रु २५ करोड बराबरको दैनिक रकम सर्वसाधारण र कर्मचारीले भुक्तानी लिने गरेको नेपाल बैँक सिटी आफिस हेटौँडाका प्रबन्धक सुरेश लामिछानेले बताए ।


प्रतिक्रिया दिनुहोस्