माशिक शुल्क बढाएको भन्दै अभिभावकद्वारा विद्यालय घेराउ

काठमाडौं । माशिक शुल्क बढाएको भन्दै काठमाडौं मोडेल स्कुलका अभिभावकले विद्यालय घेराउ गरेका छन् । काठमाडौंको बुद्धनगरस्थित काठमाडौं मोडल स्कुलले लकडाउनको अवस्थामा पठनपाठन बन्द भएको अवस्थामा पनि बढी शुल्क लिएको भन्दै शुक्रबार बिहान विद्यालय घेराउ गरेका हुन् ।
महामारीको अवस्थामा विद्यालय पनि बाँचनुपर्ने र अभिभावक पनि सहज अवस्थामा रहनुपर्ने गरी अनलाइन कक्षाको शुल्क निर्धारण गर्न आफूहरुले पटक पटका आग्रह गर्दा समेत सुनुवाई नभएको अभिभावकहरुले गुनासो गरेका छन् ।
अभिभावकहरुले वार्षिक शुल्क तिर्न नसक्ने, अनलाइन शिक्षाको छुट्टै शुल्क निर्धारण हुनुपर्ने र विद्यालयमा अभिभावकको प्रतिनिधि हुनुपर्ने माग गरेका छन् । उनीहरुले कोभिडको अवस्थामा अनलाइन शिक्षाको शुल्क निर्धारण गरि लिनुपर्ने ठाउँमा मासिक शुल्कमै ५ सय रुपैयाँ बढाएर लिएको बताएका छन् ।
अभिभावक संघका संयोजक शुभप्रभावत घिमिरेले सरकारले अनलाइन शिक्षाको शुल्क निर्धारण नगरिदिदा विद्यालयहरुले आफूखुशि उठाउने गरेको बताए ।