तीन लाख २१ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित एक जना पक्राउ

काठमाडौं । हजार रुपैयाँको नक्कली नोट बनाएको आरोपमा चितवन प्रहरीले मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिका–८ का २६ वर्षीय जितबहादुर लोप्चनलाई पक्राउ गरेको छ ।
प्रहरीले उनलाई चितवनको पूर्वी क्षेत्र भण्डारा बजारबाट मंगलबार पक्राउ गरेको हो । चितवन जिल्ला प्रहरी कार्यालयले बिहीबार बिहान भरतपुरमा पत्रकार सम्मेलन गरेर बरामद भएको ३२१ थान नक्कली नोटसहित आरोपित लोप्चनलाई सार्वजनिक गरेको छ ।
राप्ती नगरपालिका–५ भण्डारा बजारको एक पसलमा सामान किनेपछि एक जना युवकले नक्कली नोट दिएर फरार भएको भन्ने सूचनाका आधारमा प्रहरीले लोप्चनलाई समाएको हो । नक्कली नोट दिएको पसलभन्दा केही पर प्रहरीले लोप्चनलाई समाउँदा उनको साथमा हजार रुपैयाँ दरका १२ थान नोटहरु थिए । जुन नक्कली थियो । इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक राजीव गिरीले उनलाई समाएका थिए ।
उनले खाजा खाने गरेको एक होटलबाट पनि हजार रुपैयाँका सात थान नक्कली नोट भेटिएको थियो । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रहेका डीएसपी सूर्य थापाका अनुसार राक्सिराङको घरबाट थप ३०२ थान नोटहरु फेला परेको हो । ती नोटहरुको थप परीक्षण हुने र अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाएको डीएसपी थापाले जानकारी दिए । कान्तिपुरबाट