कोरोनाले मृत्यु भएर खाल्डोमा गाडिएको शव ४ महिनापछि निकालेर अत्येष्टि

काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु भएका अर्घाखाँचीका एक व्यक्तिको साढे चार महिनापछि शव उत्खनन् गरी अन्त्येष्टि गरिएको छ । मालारानी गाउँपालिका–४ का ३० वर्षीय बाबुराम खनालले आफ्ना ५८ वर्षीय बुबा यमलाल खनालको शव उत्खनन् गरी अन्त्येष्टि गरेका हुन् । बाबुरामका बुबा यमलालको २८ जेठमा मृत्यु भएको थियो ।
मृत्युपछि गरिएको कोरोना परीक्षणको नतिजा जेठ ३० गते आउँदा यमलालमा कोरोना संक्रमण पुष्टि भएको थियो । क्वारेन्टिमै बस्दा पनि कोरोना परीक्षणका लागि बुबाको स्वाब लिने काम भएपनि स्वाब हराएको बाबुरामले बताए ।
भारतको मुम्बईबाट जेठको दोस्रो सातामा घर फर्किएका यमलाल बाडाचौरस्थित एक विद्यालयको क्वारेन्टिनमा बसेका थिए । क्वारेन्टिमा बसेकै समयमा स्वास्थ्यमा समस्या आएपछि जेठ २७ गते उनलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रदेशिक अस्पताल ल्याइएको थियो ।
त्यतिबेला आफ्नो धार्मिक परम्पराअनुसार परिवारले चाहेको स्थानमा बुबाको अन्त्येष्टि गर्न नपाएको भन्दै उनले बुबाको आत्माले शान्ति पाओस् भनेर अहिले आएर हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरेको बताए ।
उनले अघि थपे, ‘सपनामा बुबा भौँतारिँदै हिँड्नु भएको मात्रै देखिरहने थालेँ । हिन्दु परम्परा अनुसार अन्त्येष्टि नगरेकै कारण सपनामा यस्तो देख्नु परेको होला भन्ने मनमा लागिरह्यो । भदौमै शव उत्खनन् गरे अन्त्येष्टि गर्ने सोच बनाएको थिएँ । तर शव गाडेको स्थलमा बाढी र पहिरोका कारण त्ये सम्भव हुन सकेन । त्यसैले कात्तिक १५ गते गुल्मीको रिडीस्थित रुरु क्षेत्रमा लगेर अन्त्येष्टि गरेका हौं ।’