थप ३०५१ जनामा कोरोना संक्रमण, १ लाख ८५ हजार नाघे संक्रमित, अन्य तथ्याङ्क यस्तो छ ?

काठमाडौँ । पछिल्लो २४ घण्टामा बिहीबार थप ३ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा १ लाख ८५ हजार ९७४ संक्रमितको संख्या पुगेको छ ।
त्यसैगरी २४ घण्टामा ३ हजार ४३० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख ४८ हजार ४०८ संख्या पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या ३६ हजार ५१४ छ ।
मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १५ लाख ७ हजार १९० परीक्षणहरु भएका छन् । २४ घण्टामा जम्मा १३ हजार ६८ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ हजार २३२ जना रहेका छन् ।
त्यस्तै थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि बुधबार ३० जनाको मृत्यु भएको थियो ।
गत २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ३ सय ९८ जना कोरोना संक्रमित थपिएका छन्। एकै दिन भेटिएका ३ हजार ५१ मध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार ३ सय ९८ जना थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
काठमाडौंमा १ हजार ९१, भक्तपुरमा १ सय ४७ र ललितपुरमा १ सय ६० जना संक्रमित भेटिएका हुन्। यो सँगै संक्रमितको संख्या काठमाडौंमा ६८ हजार ४ सय ४९ पुगेको छ। जसमध्ये ५१ हजार ८ सय ५९ जना उपचारपछि निको भएका छन्। २ सय ५९ जनाको मृत्यु भएको छ। काठमाडौंमा १६ हजार ३ सय ३१ जन सक्रिय संक्रमित छन्।
भक्तपुरमा संक्रमितको संख्या ६ हजार २ सय ३२ पुगेको मन्त्रालयले जनाएको छ। कुल संक्रमितमध्ये १ हजार २ सय ४८ जना सक्रिय संक्रमित छन्। हालसम्म भक्तपुरमा ६९ जनाको मृत्यु भएको छ भने ४ हजार ९ सय १५ जना उपचारपछि निको भएका छन्।
ललितपुरमा हालसम्म ९ हजार ६ सय ६३ संक्रमित भेटिएका छन्। जसमध्ये ६५ जनाको मृत्यु र ७ हजार ३ सय २२ जना उपचारपछि निको भएका छन्। हाल ललितपुरमा २ हजार २ सय ७६ जना उपचाररत छन्।