सुस्ताएको कर्जा लगानी र निक्षेप सङ्कलन ह्वात्तै बढ्यो, कसरी बढ्यो ? « Arthapath.com
२६ कार्तिक २०७७, बुधबार

सुस्ताएको कर्जा लगानी र निक्षेप सङ्कलन ह्वात्तै बढ्यो, कसरी बढ्यो ?



काठमाडौं । वाणिज्य बैङ्कहरूमा दशैँमा सुस्ताएको कर्जा लगानी र निक्षेप सङ्कलन फेरि ह्वात्तै बढेको छ । बढ्दो क्रममा रहेको कोरोना सङ्क्रमणको अवस्थामा पनि पछिल्लो समय निरन्तर सुधारको क्रममा रहेका वाणिज्य बैङ्कहरूले दशैँपछि कर्जा प्रवाहलाई ह्वात्तै बढाएका हुन् । एक साताकै अवधिमा वाणिज्य बैङ्कहरूले थप ११ अर्ब रुपियाँ कर्जा विस्तार गरेको नेपाल बैङ्कर्स सङ्घले जनाएको छ ।

सङ्घका अनुसार बैङ्कहरूले कात्तिक २१ सम्म ३० खर्ब ३१ अर्ब रुपियाँ बराबरको कर्जा प्रवाह गरेका छन् । यसअघि कात्तिक १४ सम्ममा वाणिज्य बैङ्कहरूले ३० खर्ब २० अर्ब रुपियाँ मात्रै कर्जा विस्तार गरेका थिए । कोरोना सङ्क्रमणबाट जोगिँदै सर्वसाधारण दैनिक कामकाजमा फर्कन थाल्नु र चाडबाडको वातावरणले गर्दा बैङ्क तथा वित्तीय संस्थाको कर्जा प्रवाह र निक्षेप सङ्कलनमा ह्वात्तै सुधार आएको छ ।

६ महिना अगाडि कोरोना सङ्क्रमणसँगै अवलम्बन गरिएको लकडाउनले कर्जा प्रवाह ठप्प बनेका बैङ्कहरू त्यसयता निषेधाज्ञासम्म सुस्त रहे पनि पछिल्ला दिनमा कर्जा प्रवाह र निक्षेप सङ्कलनमा वृद्धि गर्दै आएका छन् । त्यसअघि असोज मसान्तको तथ्याङ्कअनुसार वाणिज्य बैङ्कहरूले ३० खर्ब ३५ अर्ब रुपियाँ बराबरको कर्जा विस्तार गरेका थिए । यता वाणिज्य बैङ्कहरूको कर्जा विस्तारसँगै निक्षेप सङ्कलन पनि बढेको छ । एक साताको अवधिमा निक्षेप सङ्कलन पाँच अर्ब रुपियाँले बढेको छ ।

कात्तिक २१ सम्म आइपुग्दा वाणिज्य बैङ्कहरूले ३६ खर्ब ३८ अर्ब रुपियाँ बराबरको निक्षेप सङ्कलन गरेका छन् । यस अवधिमा निक्षेप वृद्धि हुनुमा रेमिट्यान्स आप्रवाह बढ्नुलाई लिइएको छ । निक्षेपको प्रमुख स्रोत वैदेशिक रोजगारमा गएका नेपालीले पठाउने रेमिट्यान्स कोरोना महामारीका बीचमा पनि बढिरहेको राष्ट्र बैङ्कले जनाएको छ ।

बैङ्क तथा वित्तीय संस्थाको कर्जा तान्ने होडबाजी, कर्जा तान्ने विभिन्न दशैँ योजना र अफर तथा आर्थिक क्रियाकलाप चलायमान भएको छ । सङ्घका कार्यकारी निर्देशक अनिल शर्मा कोरोना सङ्क्रमणको लामो अवधि अलमलमा रहेको बजार खुल्दै जानु र चाडबाडले गर्दा कर्जा प्रवाह र निक्षेप सङ्कलनमा उल्लेख्य सुधार आएको बताउनुहुन्छ । कर्जाको ब्याज दर घट्नु, आर्थिक क्रियाकलाप खुल्दै जाँदा बैङ्क तथा वित्तीय संस्थामा कर्जाको माग आउन थालेको उहाँको भनाइ छ ।

दशैँपछि लयमा

दशैँ वरिपरिको दुई सातामा वाणिज्य बैङ्कहरूको कर्जा लगानी १५ अर्ब रुपियाँले घटेको थियो । सङ्घको तथ्याङ्कअनुसार पछिल्लो सो अवधिमा बैङ्कहरूको कर्जा लगानी तीन अर्ब रुपियाँले घटेको थियो । असोज मसान्तसम्मको कर्जा असुली बढ्दा बैङ्कहरूको कर्जा लगानी घटेको थियो ।

निरन्तर पाँच दिन बन्द रहेको दशैँको समयमा ह्वात्तै घटेको निक्षेप सङ्कलन भने दशैँ सकिएसँगै पुनः बढ्न थालेको छ । कात्तिक पहिलो साता दशैँ खर्चका लागि सर्वसाधारणले निक्षेप झिक्दा बैङ्कहरूको निक्षेप ४० अर्ब रुपियाँले घटेको थियो तर कात्तिक दोस्रो साता बैङ्कहरूको निक्षेप सङ्कलन पुनः १८ अर्ब रुपियाँले बढेको थियो । कात्तिक १४ सम्ममा बैङ्कहरूले ३६ खर्ब ३३ अर्ब रुपियाँ निक्षेप सङ्कलन गरेका थिए भने ३० खर्ब २० अर्ब रुपियाँ कर्जा प्रवाह गरेका थिए ।गोरखापत्रबाट साभार गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्