८४ वर्ष पहिलेको त्यो नेपाल बैंक र अहिलेको नेपाल बैंक, आधुनिक बैंकिङमा फड्को मार्दै « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

८४ वर्ष पहिलेको त्यो नेपाल बैंक र अहिलेको नेपाल बैंक, आधुनिक बैंकिङमा फड्को मार्दै



काठमाडौं । नेपालको जेठो बैंक नेपाल बैंक लिमिटेड स्थापनाको ८४औँ वर्षमा प्रवेश गरेको छ । नेपालमा बैंकिङ सेवाको इतिहास बनाएको यो बैंक नेपाल राष्ट्र बैंक स्थापना हुनुपूर्व नै स्थापना भएको हो । आठ दशकभन्दा लामो बैंकिङ यात्राको साक्षी बैंकको जन्म १९९४ साल कात्तिक ३० गते लक्ष्मी पूजाको दिन भएको हो ।

हजुरबुवाको पालामा स्थापना भए पनि नाति पुस्तालाई सुहाउने र मनपर्ने प्रविधि, जनशक्तिबाट सेवा विस्तार गरिरहेको बैंकले स्थापना कालदेखि नै देशको औद्योगिकीकरण, व्यापार–व्यवसाय विस्तार, आयात निर्यातको प्रबन्ध र नेपाली अर्थतन्त्रको विकासमा पनि पहिलो बैंकका रूपमा आफ्नो भूमिका निर्वाह गर्दै आएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले भन्नुभयो, “नेपालको पहिलो बैंक अहिले देशका कुनाकुनाबाट आफ्नो सेवा दिइरहेको छ । बैंक नपुगेका ठाउँ कमै होलान् । ”

बैंकले वार्षिकोत्सवकै अवसरमा नयाँ १२ शाखा र स्थापना भएर उद्घाटन हुन नसकेका १५ समेत गरेर २७ वटा शाखा सञ्चालनमा ल्याउँदै छ । वार्षिकोत्सवकै अवसरमा घरमै बसेर निक्षेप खाता खोल्न सकिने अनलाइन एकाउन्ट सुरुवातको व्यवस्था सुरु गर्न लागेको छ । त्यसैगरी बैंकले कोरोनाको असरबाट बच्न ग्राहकलाई प्रविधिमैत्री बनाउन प्रविधियुक्त सेवा घरमै बसेर लिनका लागि डिजिटल प्रडक्टहरूमा लिइने शुल्कमा छुट दिएको छ । कोरोना सङ्क्रमण रहेका बेलासमेत आफ्नो सेवा सञ्चालन गर्दै आएको बैंकले पछिल्लो चरणमा आधुनिक प्रविधिको प्रयोग गरेर सेवा दिँदै आएको छ ।

उहाँले भन्नुभयो, “यस्तो परिस्थितिमा हामी स्वास्थ्यप्रति सचेत हुँदै आफ्ना कामकारबाहीलाई निरन्तर रूपमा अगाडि बढाउने प्रक्रियामै रहेका छौँ । देशको आर्थिक विकासमा नेपालबैंकको आफ्नै भूमिका र योगदान छ । यो बैंकले दिने सेवालाई अरूसँग तुलना गर्नै सकिँदैन ।”

उहाँका अनुसार अहिले बैंकको नेटवर्कलाई क्रमशः वृद्धि गर्दै लगिएको छ । अहिले कोभिडका कारण बैंकका कर्मचारी तथा ग्राहकले सजगता अपनाउने र सकेसम्म डिजिटल प्रडक्ट अवलम्बन गर्ने गरेकाले बैंकले पनि त्यहीअनुरूप काम गरिरहेको छ ।

बैंकको यो आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय अवस्था निकै राम्रो देखिएको छ । बैंकमा अहिले निक्षेपमा १४५ अर्ब, कर्जामा ११४ अर्ब, नाफामा ५५ करोड रुपियाँ रहेको छ । त्यसैगरी आधार दर बैङ्किङ क्षेत्रकै दोस्रो न्यूनतम ६।८१ प्रतिशत, स्प्रेड ४.३८, एनपीए ३.०२, हाम्रो क्यापिटल एडुकेसी रेसियो १७, रिजर्व १३ अर्ब ६५ करोड रुपियाँ रहेको छ । उहाँ भन्नुहुन्छ, “गत असारको भन्दा यी सबै सूचक सकारात्मक दिशातर्फ अगाडि बढिरहेका छन् । अझ आगामी दिनमा राम्रो स्थिति देखिन्छ ।” गोरखापत्रबाट


प्रतिक्रिया दिनुहोस्