१८ बैंकको नाफा घट्यो, कुन बैंक कति स्थानमा ? « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

१८ बैंकको नाफा घट्यो, कुन बैंक कति स्थानमा ?



काठमाडौं । २७ वटै वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । विवरणअनुसार यी बैंकहरुले साउन, भदौ र असोजसम्म १४ अर्ब ७५ करोड ८० लाख रुपैयाँ खुद नाफा (कर छुट्याएपछि) कमाएका छन् । जवकि गत वर्षको यसै अवधिमा १५ अर्ब ५५ करोड ५४ लाख कमाएका थिए। अधिकांश बैंकको नाफा घट्दा समग्र नाफामा ५.१२ प्रतिशतले कमी आएको हो ।

२७ बैंकमध्ये १८ वटाको नाफा घटेको छ । बाँकी ९ बैंकले भने नाफा बढाउन सफल भएका छन् । अपरिस्कृत वित्तीय विवरणअनुसार ग्लोबल आइएमई, एनआइसी एसिया, प्राइम कमर्सियल, प्रभु, मेगा, बंगलादेश, एनएमबि, सिटिजन्स र कुमारी बैंकले नाफा बढाएका छन् ।

ग्लोबल आइएमई बैंकले यस अवधिमा सबैभन्दा धेरै १ अर्ब ५ करोड नाफा कमाएको छ। एक वर्षअघि छैटौं स्थानमा रहेको यो बैंक अहिले पहिलो नम्वरमा आएको छ । त्यस्तै पहिले एक नम्वरमा रहेको पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक अहिले छैटौंमा झरेको छ । नविल र एनआइसी एसिया क्रमशः दोस्रो र तेस्रो स्थानमा यथावत छन्।

एनएमबिले सबैभन्दा धेरैले नाफा बढाएको विवरण देखाएको छ । यो बैंकले यसअघि पनि नाफामा झुक्याएको छ । गत वर्षको पहिलो त्रैमासमा ८१ करोड ५१ लाख नाफा देखाएको थियो, तर त्यही नाफालाई अहिलेको विवरणमा समेट्दा जम्मा २७ करोड २८ लाख देखाएको छ ।

त्यस्तै अन्य केही संस्थालाई आफूमा गाभेका कारण पनि एनएमबिको नाफा वृद्धिदर उच्च देखिएको हो। बैंककै एक उच्च अधिकारीका अनुसार अहिलेको नाफा पनि परिस्कृत हुँदा घट्न सक्नेछ।

किन घट्यो बैंकहरुको नाफा ?

समग्रमा बैंकहरुको बिजनेस (निक्षेप संकलन र कर्जा प्रवाह) बढेको छ। तर नाफा घट्नुको मुल कारण नै कोरोनापछिको असर रहेको बताउँछन् राष्ट्रिय वाणिज्य बैंकका सिइओ किरणकुमार श्रेष्ठ । बैंकहरुको नाफा घट्नुको मुख्य कारण समयमै ऋणको ब्याज र साँवा नउठ्नु रहेको उनले बताए । समयमै ब्याज र साँवा नउठेपछि सोवापत बैंकहरुले प्रोभिजनिङ गर्नुपर्दछ । जसले गर्दा नाफामा मुख्य असर परेको उनी बताउँछन् । लगानीयोग्य रकम अहिले पर्याप्त रहेकाले बैंकहरुबीच सस्तो ब्याजमा ऋण दिने प्रतिस्पर्धा छ, यसकारण पनि कतिपय बैंकको ब्याज आम्दानी नै घट्दा नाफामा असर परेको श्रेष्ठले बताए ।

‘यसअघि हाम्रो कर्जाको औसत व्याजदर ९.७५ प्रतिशत थियो, अहिले ८ को हाराहारीमा झरिसकेको छ’ उनले सेतोपाटीसँग भने । त्यस्तै अन्तर एटिएम कारोबार लगायत शुल्क घटेका कारण पनि असर परेको उनले बताए । राष्ट्र बैंकले कोभिड–१९ को असर परेका व्यवसायीबाट उठ्न नसकेको कर्जा तथा ब्याज तिर्ने अवधि सारिदिएको छ । जसले गर्दा कतिपय बैंकको वितरणयोग्य नाफा समेत अहिले ऋणात्मक भएको छ । सेतोेपाटी अनलाइनबाट साभार गरिएको हो ।

क्रमश हेर्नुहोस् कुन बैंकको स्थान कतिऔं ?


प्रतिक्रिया दिनुहोस्