सेयरमा लगानी गर्न ऋण लिने बढे « Arthapath.com
१५ मंसिर २०७७, सोमबार

सेयरमा लगानी गर्न ऋण लिने बढे



काठमाडौँ । सेयर बजार उकालो लाग्न थालेपछि ऋण लिएर लगानी गर्ने बढेका छन् । पछिल्ला महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको सेयर धितोमा कर्जा (मार्जिन प्रकृतिको) बढ्नुले पनि यसको पुष्टि हुन्छ । लकडाउन खुकुलो भएपछि सेयर बजार निरन्तर उकालो लागेको छ । अधिक तरलताका कारण ब्याजदर निकै तर ओर्लेको छ । यही मौकामा लगानीकर्ताले सस्तो ब्याजदरमा कर्जा लिएर सेयरमा लगानी गरेका छन् भने बैंक तथा वित्तीय संस्थाले पनि सेयर धितोमा कर्जा बढाएका छन् ।

गत असोजसम्म बैंक तथा वित्तीय संस्थाले ५९ अर्ब ४० करोड रुपैयाँ सेयर धितोमा प्रवाह गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा करिब ३१ प्रतिशत बढेको छ । २०७६ असोजमा बैंक तथा वित्तीय संस्थाले ४५ अर्ब ३१ करोड रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका थिए । चालु आर्थिक वर्षको तीन महिना ९साउन, भदौ र असोज० मा पनि यस्तो कर्जा करिब १८ प्रतिशत बढेको देखिन्छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा ०.२१ प्रतिशत घटेको थियो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा सेयर कर्जाको ब्याजदर करिब ५० प्रतिशत घटेको छ । अहिले बैंक तथा वित्तीय संस्थाले करिब ७ देखि ९ प्रतिशतमा सेयर धितोमा कर्जा उपलब्ध गराउँदै आएका छन् । गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो ब्याजदर १३ देखि १५ प्रतिशत थियो । वित्तीय प्रणालीमा अधिक तरलता थुप्रिएपछि ब्याजदर घटेको छ भने बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाहका लागि ठाउँ खोजिरहेका छन् ।

लकडाउनका कारण अर्थतन्त्रका अन्य क्षेत्र अझै सामान्य अवस्थामा आउन सकेका छैनन् । यसकारण पनि बैंक तथा वित्तीय संस्थाले सेयर कर्जा प्रवाहमा जोड दिन थालेको बैंकरहरू बताउँछन् । ‘ऋण लिने मान्छे पठाइदिन भनेर अचेल हरेक दिनजसो बैंकका शाखा प्रबन्धकको फोन आउँछ,’ एक ब्रोकरले भने, ‘केही बैंकले त सेवा शुल्क पनि नलिई आधार ब्याजदरमै कर्जा दिन्छु भन्छन् ।’ एउटै बैंकका फरकफरक शाखाले पनि छुट्टाछुट्टै ब्याजदरमा कर्जा दिने अफर गर्ने गरेको पनि ती ब्रोकरले बताए ।

बजारमा तरलता धेरै भएका बेला कर्जा प्रवाह हुन सक्ने सम्भावित क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले प्रयास गर्नु स्वाभाविकै हो । तर कर्जा प्रवाह गर्न एकै बैंकका शाखा प्रबन्धकबीच चलेको यो प्रतिस्पर्धाले बैंकहरू लगानी गर्न कति आतुर छन् भन्ने पुष्टि हुन्छ । ‘बैंकमा पैसा थुप्रिएको छ, नयाँ कर्जाको माग छैन, अनि के गर्नु त रु’ एक बैंकका शाखा प्रबन्धकले भने, ‘अब त कम मार्जिनमा भए पनि कर्जा प्रवाह गरे नै जितिन्छ ।’ त्यसैले बैंकहरूबीच प्रतिस्पर्धा तीव्र भएको उनको भनाइ छ । ‘आफ्नै बैंक भनेर भएन, हरेक शाखाको टार्गेट हुन्छ, जसरी पनि पुर्‍याउनैपर्‍यो,’ उनले भने । यसअघि सेयर धितोमा लगानी नगर्ने ठूला वाणिज्य बैंक पनि सेयर कर्जाकै लागि छुट्टै प्रडक्ट बनाएर बजार आएका छन् ।

अहिले सेयर कर्जाको ब्याजदर पाँच वर्षयताकै कम भएको बैंकरहरू बताउँछन् । यसअघि २०७२ सालको विनाशकारी भूकम्प र भारतीय नाकाबन्दीपछि सेयर कर्जाको ब्याजदर एकल अंकमा झरेको थियो । अहिले पुनः त्यही अवस्था आएको उनीहरूको दाबी छ । तुलनात्मक रूपमा सेयर कर्जाको जोखिम भार बढी भए पनि नउठ्ने सम्भावना न्यून हुन्छ । बजार धेरै घटेपछि फोन गरेर पैसा थप्न लगाउने (मार्जिन कल) गर्न पाइने, परिपक्वको अवधि कम हुन्छ । यसकारण पनि असुली नहुने सम्भावना कम हुने बैंकरहरूको भनाइ छ ।

पछिल्ला महिनामा बैंकहरूको ध्यान सेयर बजारमा गएको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले पनि स्विकारे । ‘सिस्टममा पर्याप्त तरलता छ, लगानीको नयाँ क्षेत्र छैन, यसकारण केही सम्भावना देखिएको सेयर कर्जातिर बैंक लागेका हुन्,’ उनले भने, ‘लकडाउनपछि खुलेको बजार केही बढेकाले पनि उक्त क्षेत्रमा सम्भावना देखिएको हो ।’ बैंकहरूले एकल अंकको ब्याजदरमा सेयर धितोमा कर्जा प्रवाह गर्न थालेको पनि उनले बताए । सेयर धितोमा प्रवाह गरिने कर्जाको ब्याज घटेर पाँच वर्षअघिकै अवस्थामा पुगेकाले त्यसतर्फ आकर्षण बढेको ब्रोकरहरूको भनाइ छ । कम ब्याजदरमा कर्जा उपलब्ध भएकै कारण सेयर बजारमा दैनिक कारोबार रकम बढेको स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले बताए । ब्याजदरको अवस्था अझै केही महिना यस्तै रहने देखिएकाले सेयर कर्जा बढ्ने उनको अनुमान छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा पनि बढाएको छ । नयाँ व्यवस्थाअनुसार सेयर धितो राखी प्रवाह हुने कर्जामा वित्तीय संस्थाले धितोको ७० प्रतिशतसम्म प्रदान गर्न पाउँछन् । यसअघि यस्तो सीमा ६५ प्रतिशत थियो । सेयर धितोमा प्रदान हुने मार्जिन प्रकृतिको कर्जा प्रवाहमा सेयरको मूल्यांकन गर्दा विद्यमान १ सय ८० दिनको अन्तिम मूल्यको औसत मूल्य वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम छ, त्यसैका आधारमा गर्नुपर्ने व्यवस्थालाई परिवर्तन गरी १ सय २० दिन बनाइएको छ । यो व्यवस्थाले पनि लगानीकर्ताले एउटै धितोमा पनि पहिलेभन्दा धेरै कर्जा लिन पाउँछन् ।कान्तिपुर दैनिकमा यज्ञ बञ्जाडेले समाचार लेखेका छन् ।


प्रतिक्रिया दिनुहोस्