स्वास्थ्य सामग्री खरिदमा अनियमितता लेखाको ठहर, छानबिन गर्न अख्तियार पठाइने

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्दै थप छानबिन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र लेखी पठाउने निर्णय गरेको छ । स्वास्थ्य सेवा विभागले कोरोना भाइरसको रोकथाम तथा उपचारका लागि चाहिने औषधि तथा स्वास्थ्य सामग्री खरिद गर्न २०७६ चैत्र १२ गते ओम्नी बिजेनस कर्पाेरेट इन्टरनेसनल (ओम्नी समूह) सँग सम्झौता गरेको थियो ।
सम्झौता अनुसार ओम्नी समूहले १६ गते पहिलो लटमा सामान पनि ल्याएको थियो, तर महँगोमा सामान खरिद गरेको थियो । साथै थप सामग्री ल्याउन नसकेपछि १९ चैतमा सम्झौता रद्द भएको थियो । लेखा समितिले गरेको अध्ययनमा भने खरिद प्रक्रिया नियमसंगत नभएको पाइएको छ ।
मन्त्रालयबाट कागजपत्र मगाएर गरेको अध्ययनमा कानुनी अधिकार नै नभएका विज्ञ सल्लाहकार डा. खेम कार्कीको नेतृत्वको वार्ता टोली बनाएर डिल गरेको र त्यसलाई स्वास्थ्यमन्त्री भानुभक्त ढकालले अनुमोदन गरेपछि मात्र स्वास्थ्य सेवा विभागले ओम्नी समूहसँग सम्झौता गरेको पाइएको छ ।
रातारात गरिएको सम्झौतामा बजार मूल्य समेत नहेरी अत्याधिक महँगोमा स्वास्थ्य सामाग्री खरिद गरेको पाइएको लेखा समितिले बताएको छ ।
समितिको शुक्रबारको बैठकमा उपस्थित स्वास्थ्यमन्त्री ढकालले भने हाहाकार भएकाले तत्काल सामग्री मगाउनु परेको बताएका छन् । खरिद प्रक्रिया नियमसंगत नभएकाले यसमा संलग्न सबैजना दोषी ठहर हुने भएकाले कोको दोषी हुनुहुन्छ ? ककसले अनियमितता गर्नु भएको छ ? त्यो पहिचान गरेर कानुनी कारबाही गर्न अख्तियारलाई लेखी पठाउने समितिका सचिव रोजनाथ पाण्डेले बताए ।