खुलामुखी म्युचूअल फण्डमा आकर्षण बढ्दै

काठमाडौं । नेपालको क्यापिटल मार्केटमा पछिल्लो समय खुल्लामुखी सामूहिक लगानी कोषहरु (म्युचूअल फण्ड)को बजारसमेत बिस्तार हुँदै जान थालेको छ ।
बजारमा सक्रिय मर्चेन्ट बैंकहरुमध्ये एनआईबीएल एस क्यापिटलले एक वर्षअघि एनआईबीएल सहभागिता फण्ड नामको खुल्लामुखी योजना सञ्चालनमा ल्याएपछि अन्य मर्चेन्ट बैंकहरुसमेत बिस्तारै खुल्लामुखी ल्याउन कस्सिएका छन् ।
पछिल्लो समयको बजारमा खुल्लामुखी फण्डको आधारशीला बनाउने र अन्य मर्चेन्ट बैंकहरुलाई पनि यसको सम्भावनाको विषयमा बाटो देखाउने काम एनआईबीएल एस क्यापिटलले गरेको देखिन्छ । लगानीकर्ताहरु पनि यो कम्पनीको खुल्लामुखी योजनामा बिना लगानी गर्न सक्रिय बन्दै गएका छन् ।
यसको प्रमुखमध्येको एउटा कारण यो योजनामा पूर्वघोषितभन्दा बढी लाभांश पाउनु पनि हो । अर्थात् एनआईबीएल सहभागिता फण्डले पहिलो वर्ष ६ प्रतिशत लाभांश दिने प्रक्षेपण गरेको थियो, तर यसको इकाई खरिद गर्नेहरुले केही बढी अर्थात् पहिलो वर्षमै ८.२५ प्रतिशत लाभांश पाइसकेका छन् ।
कम्पनीले गरेको प्रक्षेपणअनुसार आगामी वर्ष युनिटहोल्डरलाई १० प्रतिशत लाभांश दिन सकिनेछ । लाभांशको दर वार्षिक बढाउँदै लैजाने कम्पनीको योजनाका कारण पनि लगानीकर्ताहरु पनि बिस्तारै यस्ता फण्डहरुमा लगानी गर्न अभ्यस्त हुनथालेका क्यापिटलका अधिकारीहरु बताउँछन् ।
एनआईबीएल सहभागिता फण्डका युनिटहरु नेपाल इन्भेष्टमेन्ट बैंकका शाखाहरुमार्फत किन्न सकिन्छ भने डिष्ट्रीब्यूटर एजेन्टका रुपमा रहेको मुक्तिनाथ विकास बैंक र गुड्विल फाइनान्सबाट एनआईबीएल सहभागिता फण्डका युनिटहरु खरिद–बिक्री गर्न सकिन्छ ।
क्यापिटलले खुलामुखी म्युचूअल फण्डकाबारेमा आफ्नो वेबसाइटबाट पनि जानकारी दिइरहेको बताएको छ । एनआईबीएल सहभागिता फण्डका स्किम न्याभ भ्यालूमा आधारित भई किनबेच हुन्छ ।
कम्पनीकाअनुसार बिहीबार एनआईबीएल सहभागिता फण्डको न्याभ भ्यालु १३.३४ रुपैयाँ प्रतियुनिट रहेको छ । यो स्किमका युनिटहरु क्यापिटलमा एकचोटि दर्ता भइसकेपछि मासिकरुपमा बिस्तारै किन्ने सुविधासमेत रहेको छ ।
हाल एनआईबीएल सहभागिता फण्डसँग उपलब्ध ५० प्रतिशत लगानी सेयर बजारमा हुने गरेको छ । अत्यधिक तरल रहेको एनआइबीएल सहभागिता फण्डका स्किममा विदेशमा रहेका नेपालीहरुको समेत आकर्षण बढ्दै गइरहेको स्कीम म्यानेजर पोस्कर बस्नेतले बताएका छन् ।
एनआईबीएल सहभागिता फण्डको आकार हाल २२ करोड ९० लाख रुपैयाँ रहेको छ भने हाल यसको बजार भ्यालू २९ करोड रुपैयाँभन्दा बढी पुगिसकेको कम्पनीका असिस्टेन्ट जनरल म्यानेजर सचिन्द्र ढुंगाना बताउँछन् ।
सूचना र कारोबारमा पारदर्शिता रहेको यो स्किमले निरन्तर बचत र लगानीलाई समेत विशेष प्राथमिकतामा राखेको छ । पिरियडिक हिसाबमा रकम निकाल्ने सुविधा अर्थात पेन्सन योजनाजस्तै स्किमसमेत यसमा उपलब्ध छ ।
डिष्ट्रीब्यूटर एजेन्टका रुपमा रहेका मुक्तिनाथ विकास बैंक र गुडविल फाइनान्समार्फत एनआईबीएल सहभागिता फण्डका स्किम सहजै खरिद–बिक्री गर्न सकिन्छ । २ वर्षभित्र एनआइबीएल सहभागिता फण्डका युनिट बिक्री गरे होल्डिङ समयावधिका आधारमा १.५ प्रतिशत सेवाशुल्क तिर्नुपर्छ । खरिद गर्दा रु.२५ डीपी फि तिरे पुग्छ ।
कम जोखिम लिन चाहने तर, सेयरमा लगानी गर्न चाहनेहरु साना लगानीकर्ताहरु लागि यो फण्ड उपयुक्त र सुरक्षित देखिन्छ ।
हाल एनआईबीएल सहभागिता फण्ड खरिद गरिसकेपछि खल्ती, नेपाल इन्भेष्टमेन्ट बैंकको इबैंकिङ र कनेक्ट आईपीएसबाट पनि रकम भुक्तानी गर्ने व्यवस्था छ । आगामी दिनमा अन्य डिजिटल पेमेन्ट गेट्वेसमेत खुला गर्दै लैजाने कम्पनीको योजना रहेको ढुंगाना बताउँछन् ।
एनआईबीएल सहभागिता फण्डका स्किम हाल बिक्री गर्दा लगानीकर्ताले डीआईएस (डेबिट इन्स्ट्रक्सन स्लिप) बुझाउनुपर्छ, तर अब ईडीआईएस (इलेक्ट्रोनिक डेबिट इन्स्ट्रक्सन स्लिप)को सुविधा पनि निकट समयमा दिने तयारी भइरहेको छ ।
एनआईबीएल सहभागिता फण्डका सञ्चालक एनआईबीएल एस क्यापिटलले ५० करोड रुपैयाँको फण्डको आकार हाल २३ करोड रुपैयाँ हाराहारी रहेको र अब यसको आकारसमेत विस्तारै बढाउँदै लैजाने योजना रहेको बताएको छ । एनआईबीएल एस क्यापिटल निकट समयमा नै कर्पोरेट एड्भाइजरीमा पनि खरो रुपमा उत्रन गइरहेको छ ।
यसैबीच, खुल्लामुखी फण्डमा सम्भावना देखेर एनआइबिएल एस क्यापिटलको पद्चाप पछ्याउँदै अन्य मर्चेन्ट बैंकहरुले पनि यस्ता खालका स्किमहरु ल्याउने क्रम सुरु भइसकेको छ । एनआईसी एशिया क्यापिटलले हालै यस्तै स्कीम ल्याइसकेको छ भने सिद्धार्थ क्यापिटलले पनि सिद्धार्थ सिस्टेमेटिक इन्भेष्टमेन्ट स्किम नामको खुल्लामुखी योजना ल्याउने तयारी गरिरहेको छ ।
अन्य क्यापिटलहरुले पनि बिस्तारै खुल्लामुखी योजना ल्याउने कसरत सुरु गरिसकेका छन् । यसरी हेर्दा एनआईबीएल एस क्यापिटलको पद्चाप पछ्याउँदै अरु मर्चेन्ट बैंक पनि नेपाली बजारका लागि नौलो मानिएको खुल्लामुखी योजनातर्फ आकर्षित हुन थालेका छन् । यसले म्युचूअल फण्डमै पनि लगानीको विकल्प तयार गरिदिएको छ । धेरैवटा खुल्लामुखी फण्ड आउँदा लगानीकर्ताले छानी– छानी राम्रा कम्पनीका योजनाहरुमा लगानी गर्नसक्ने अप्सन समेत पाएका छन् ।
के हो खुल्लामुखी फण्ड ?
संसारभर म्युचूअल फण्डहरु २ किसिमका हुन्छन् । एक खुलामुखी र अर्को बन्दमुखी म्युचूअल फण्ड । नेपालमा बन्दमुखी आयोजनाहरु प्रशस्तै भए तापनि खुलामुखी म्युचूअल फण्डका योजनाहरु भने केही सीमित संख्यामा मात्रै छन् ।
सेयर बजारमा लगानी गरे सम्पत्ति कयौं गुणा बढ्ने सम्भावना रहन्छ तर, तौरतरिकाको अभावमा सेयर लगानीबाट घाटासमेत व्यहोनुपर्ने हुन्छ ।
यस्तै, बजारमा प्रवेश गर्न चाहने तर थारै रकम सेयरमा लगानी गर्न चाहनेहरुका लागि म्युचुअल फण्ड आयोजनाहरुले विभिन्न स्किम ल्याएका हुन्छन् । नागरिक लगानीकोषको पनि खुलामुखी आयोजना छ भने एनआईसी एसिया क्यापिटलले समेत भर्खरै नयाँ खुलामुखी म्युचूअल फण्ड स्किम ल्याएको छ ।
खुलामुखी आयोजनाको निश्चित समयावधि तोकिएको हुँदैन । नेप्सेमा सूचीकृत भए पनि दोस्रो बजारमा यसको किनबेच हुँदैन । फण्ड सञ्चालक र यसका एजेन्टहरुमार्फत यो स्किमका युनिटहरु जुनसुकै बेला खरिद–बिक्री गर्न भने पाइन्छ ।सेयरबजार