घूसकाण्डमा सीईओको राजीनामा

काठमाडौं । कर्मचारी र सञ्चयकर्तालाई सेयर निष्काशन गरिसकेको र आईपीओ निष्काशनको तयारीमा रहेको मध्य–भोटेकोसी जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत मणि काफ्लेले पदबाट राजीनामा दिएका छन् । केही दिनअघि चिनियाँ ठेकेदारका दोभाषे प्रतिनिधि गोविन्द पौडेलसित २ करोड रुपैयाँको लेनदनसम्बन्धी टेप सार्वजनिक भएपछि काफ्लेले राजीनामा दिएका हुन् । जकबी उनले आफूलाई ठेकेदारले फसाएको दावि गरेका छन् ।
उनले अघिल्लो साता मध्य–भोटेकोसी कम्पनीको व्यवस्थापनसमक्ष दिएको राजीनामा स्वास्थ्यको कारण देखाएको कम्पनीका अध्यक्ष हरराज न्यौपानले बताए । ‘उहाँले आफ्नो राजीनामामा स्वास्थ्यको कारण देखाउनुभएको छ,’ न्यौपानेले भने, ‘आयोजना प्रमुखसँग पनि उहाँको कुरो मिलेन ।’
सार्वजनिक भएको टेपमा चिनियाँ सिभिल ठेकेदार कम्पनी ग्वाङ्सीका दोभाषे गोविन्द पौडेलले ठेकेदार काफ्लेलाई दुई करोड दिने भनेका छन् । तर, टेपमा काफ्ले आफैले पैसा मागेको स्पष्ट हुँदैन । चिलिमेको सहायक कम्पनीका रुपमा १० वर्षअघि स्थापित मध्य– भोटकोसीले सिन्धुपाल्चोकमा १०२ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । आयोजना प्रमुख सुनिल लामा र सीईओ काफ्लेबीचको अन्तरसंघर्षले आयोजनाले गति लिन सकेको छैन । सन् २०१६ को डिसेम्बरमै पूरा भइसक्नुपर्ने यो आयोजना भूकम्प र नाकाबन्दीभन्दा पनि व्यवस्थापनका कर्मचारीबीचको विवाद र झगडाले गति लिन नसकेको हो ।
विद्युत् प्राधिकरणको १०, चिलिमेको ३८, कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरूका १९.५, आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाको १०, सर्वसाधारणको १५, प्रवद्र्धक कम्पनीको कर्मचारीहरूको ३.५, कर्मचारी सञ्चय कोषका कर्मचारीहरूको १, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनीको १, सिन्धु इन्भेष्टमेन्ट कम्पनी, नेपाल अरनिको हाइड्रोपावर कम्पनीको १ प्रतिशत सेयर छ । आयोजनाको सुरु अनुमानित लागत १२ अर्ब २८ करोड रुपैयाँ थियो । आयोजना निर्माणमा ढिलाई हुँदा गतवर्ष नै यसको लागत १४ अर्ब ८४ करोड रुपैयाँ कटिसकेको थियो ।