नेपाली सडकमा हजारभन्दा बढी सेल्टोस, तेस्रो नम्बरमा किया « Arthapath.com
२२ असार २०८२, आईतबार

नेपाली सडकमा हजारभन्दा बढी सेल्टोस, तेस्रो नम्बरमा किया



काठमाडौं ।नेपाली सडकमा कुद्ने कियाको मिड–एसयुभी सेल्टोसको संख्या हजार नाघेको छ । नेपाल प्रवेश गरेको एक वर्ष पूरा हुँदा नहुँदै हजार युनिटभन्दा बढी सेल्टोस बिक्री भएको हो । सेल्टोस र अर्को मोडल सोनेटले कोरियाली अटो ब्रान्ड कियालाई नेपालमा सबैभन्दा बढी बिक्री हुने गाडीको तेस्रो नम्बरमा उकालेका छन् । करिब दुई महिनाअघि नेपाली बजारमा आएको सोनेट २५० युनिभटभन्दा बढी बिक्री भइसकेको छ ।


नेपालका लागि किया गाडीको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले गत वर्ष पुसमा सेल्टोस नेपाल ल्याएको थियो । यो गाडी छिमेकी मुलुक भारतमा बजार प्रवेश गरेको १० दिनमै सर्वाधिक बिक्री हुने मिड–एसयुभी बन्न सफल भएको थियो ।

सेल्टोस कियाको भारतस्थित प्लान्टमा उत्पादन हुन्छ । कोरियाली अटो निर्माता कियाले सन् २०१९ बाट भारतीय प्लान्टमा सेल्टोस उत्पादन थालेको हो । सेल्टोस र सोनेटको प्रवेशसँगै किया नेपालको तेस्रो नम्बरको प्यासेन्जर भेहिकल ब्रान्ड बन्न सफल भएको छ ।

सेल्टोसमा १० इन्च स्क्रिन, बिओएसई (BOSE) म्युजिक सिस्टम, फ्रन्ट र ब्याक एलइडी लाइट, एअर प्युरिफायर, डी–कट स्टेरिङ (D-Cut Steering), युभी ग्लास (UV Glass) जस्ता विशेषता छन् । यो सेग्मेन्टका अन्य ब्रान्डमा यस्ता विशेषता छैनन् ।

४९ लाख ९० हजार रुपैयाँदेखि ८० लाखसम्म पर्ने सेल्टोसका एचटिके (HTK), एचटिके प्लस (HTK+), एचटिएक्स (HTX), एचटिएक्स प्लस (HTX+) भेरियन्ट नेपाली बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

हुन्डाइको क्रेटा, निसानको किक्स, जिप कम्पास १.४ लाई सेल्टोसको प्रतिस्पर्धी मोडल मानिन्छ । कन्टिनेन्टलले ३० वर्षदेखि कियाका गाडी बिक्री वितरण गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्