नेपाल सुनचाँदी व्यावसायी महासंघको महाअधिवेशन पुस २४ र २५ गते

काठमाडौं । नेपाल सुनचाँदी व्यावसायी महासंघको सातौं तथा आठौ बार्षिक साधारणसभा एबं तेस्रो महाअधिवेशन यही पुस २४ र २५ गते शुक्रबार र शनिबार काठमाडौंमा सम्पन्न हुने भएको छ ।
यसपटक महासंघको साधारणसभा तथा अधिवेशनमा देशभरका ६५ जिल्लारनगर संघ तथा वस्तुगत र एसोसिएट सदस्यहरुको तर्फबाट ऐतिहासिक रुपमा ६०० भन्दा बढी प्रतिनिधिर पर्यवेक्षकहरुले सहभागिता जनाउनेछन् । कोरोना संक्रमण विद्यमान रहेको हालको अवस्थालाई मध्यनजर गर्दै नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनुरुप कार्यक्रम संचालन गरिनेछ ।
साधारणसभाको अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । शुक्रबार काठमाडौंको होटल याक एण्ड यतिमा उद्घाटन सत्र हुनेछ भने शनिबार बन्द सत्र तथा निर्वाचनको कार्यक्रम रहेको छ । निर्वाचनबाट ५५ सदस्यीय नयाँ कार्य समिति बन्नेछ । नेपाल सुनचाँदी ब्यवसायी महासंघले पनि संघीय संरचनालाई आत्मसात् गर्दै सात वटै प्रदेशमा प्रदेश महासंघ गठन गरे अनुरुप प्रदेश महासंघहरुको निर्वाचन अग्रिम रुपमा सम्पन्न भइसकेको छ ।
यसपटकको साधारणसभामा कोरोना महामारीका कारण र नेपाल सरकारबाट सुनको कोटालाई २० किलोबाट १० किलोमा झारी आधा कटौती गरेपछि अत्यधिक रुपमा प्रभावित बनेको सुनचाँदी व्यवसायलाई पूर्ववत् अवस्थामा फर्काउन साझा अजेन्डाका लागि गम्भीर छलफल हुनेछ ।
