आयोगको निर्णय र अदालतको फैसलापछि ओली र प्रचण्ड–माधवको हैसियत देखिने « Arthapath.com
१ फाल्गुन २०७७, शनिबार

आयोगको निर्णय र अदालतको फैसलापछि ओली र प्रचण्ड–माधवको हैसियत देखिने



नुवाकोट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय नेताहरू विधिवत् विभाजनको साइत पर्खेर बसे पनि नुवाकोटमा भने आन्तरिक विभाजन भएर जिम्मेवारी बाँडफाँड भइरहेको छ ।


जिल्ला तहका पार्टी सङ्गठनदेखि भ्रातृ सङ्गठन र शुभेच्छुक संस्थासम्ममा आन्तरिक विभाजनको फुट देखिएको छ । पार्टी र सङ्गठनका नेताले धमाधम जिम्मेवारी पाइरहेका छन् । नुवाकोटमा गुटगत राजनीतिमा प्रधानमन्त्री केपी ओलीको पक्षमा सुरुमा सानो सङ्ख्या देखिए पनि अहिले पूर्वएमालेको ठूलो पङ्क्ति र पूर्वमाओवादी तथा राजावादी समूह प्रवेश गरेसँगै स्थिति मजबुद बन्दै गएको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता हुनुभन्दा अगाडिको स्थितिमा रहेका ओली गुटका नेता÷कार्यकर्ता सक्रिय भएर अहिले सङ्गठन विस्तारमा लागेका छन् ।


एकता हुनुभन्दा अगाडि तत्कालीन एमालेको जिल्ला अधिवेशनमा ओलीनिकटका नेताले जिल्ला समितिमा उपाध्यक्षसहित चारजना जिल्ला सदस्य मात्रै निर्वाचित भएका थिए । बाँकी सबै माधव नेपाल गुटका निर्वाचित भएका थिए । अहिले एकीकरण हुँदै गरेको नेकपाको विभाजनको शृङ्खला सुरु भएपछि जिल्लास्तरदेखि वडा तहसम्म पु¥याउन दुवै गुटका केन्द्रदेखि जिल्ला नेताको दौडधुप विश्राम नलिईकन भइरहेको छ । नेकपा नुवाकोटको कार्यालय बैठक र सचिवालय बैठकको उपस्थिति हेर्दा प्रचण्ड र माधव गुटको पक्षमा नेता–कार्यकर्ता उभिएको अहिलेसम्म देखिएको छ । उक्त गुटलाई ध्वस्त पार्दै केपी ओली गुटको आक्रामक सङ्गठन विस्तारले गर्दा भविष्यमा दह्रो प्रतिस्पर्धा हुने देखिन्छ ।


नुवाकोट नेकपाका अध्यक्ष हिरानाथ खतिवडासहित ६ सदस्य कार्यालय टिमका सदस्य प्रचण्ड–माधव टिममा देखिएका छन् । प्रचण्ड–माधव गुटमा विघटित सङ्घीय संसद्का सदस्य तथा पार्टी सचिव नारायणप्रसाद खतिवडा, बुद्धिबहादुर प्रधान, विष्णु लोहनी, धर्म अधिकारी र कल्पना रिमाल देखिएका छन् भने कार्यालय टिमका सदस्य एवम् पूर्वएमालेका जिल्ला कमिटी उपाध्यक्ष हालका बागमती प्रदेश सांसद बद्री मैनाली मात्रै ओली गुटमा देखिएका छन् । त्यसैगरी, नेकपाको जिल्ला कमिटीको ६३ सचिवालय सदस्यमध्ये ५३ सदस्य प्रचण्ड–माधव समूहमा रहेको हस्ताक्षर बाहिरिएको छ ।


गत स्थानीय निर्वाचनमा एमाले र नेकपा माओवादी केन्द्रबाट निर्वाचित बहुमत जनप्रतिनिधि प्रचण्ड–माधव समूहतिर देखिन्छ । विघटित सङ्घीय संसद्का सदस्य हितबहादुर तामाङ र नारायणप्रसाद खतिवडा, बागमती प्रदेशका सदस्य तथा उपसभामुख राधिका तामाङ, प्रदेश संसद् तथा पार्टी अध्यक्ष हिरानाथ खतिवडालगायत पालिकाबाट निर्वाचित जनप्रतिनिधिमध्ये विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, उपमेयर गीताकुमारी दाहाललगायत विदुर नगरपालिकाको ५ नं. का वडाध्यक्ष शिव चित्रकारबाहेक एमालेबाट निर्वाचित ६ वटा वडाध्यक्ष प्रचण्ड–माधव समूहमा रहेका छन् ।


त्यसैगरी, पञ्चकन्या गाउँपालिकाका प्रमुख तेजबहादुर तामाङ (रमेश), ककनी गाउँपालिकाका प्रमुख मानबहादुर तामाङ, उपाध्यक्ष सीता खतिवडा, बेलकोटगढी नगरपालिकाकी उपमेयर कविता ढुङ्गाना, तारकेश्वर गाउँपालिकाकी उपाध्यक्ष तारादेवी रिमाल अधिकारी, लिखु गाउँपालिकाकी उपाध्यक्ष रेजिना राईलगायतका जनप्रतिनिधि प्रचण्ड–माधव टिममा रहेको दाबी उक्त समूहले गरेको छ । तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेश वस्ती र बेलकोटगढी नगरपालिकाका मेेेेयर ओली समुुुुुहमाा खुुुुलेेकाा छन । पूर्व एमालेबाट निर्वाचित वडाध्यक्षको समूह सूर्य चिह्न र पार्टीको आधिकारिकता पर्खेर यताउता गरिरहेका छन् । बागमती प्रदेशका मुख्य सचेतक केशव पाण्डे, बागमती प्रदेशका सदस्य आशामाया तामाङ र बद््र्री्री मैैैैैनाली ओली पक्षमा सक्रिय देखिन्छन् ।


असंवैधानिक कदमको विरुद्धमा आन्दोलनमा होमिएको प्रचण्ड–माधव समूहको निर्णयलाई नै सहमति गर्दै जिल्ला तहमा रहेका बहुमत नेता सडक आन्दोलनमा होमिएका छन् । नुवाकोटमा केपी ओली गुटको अध्यक्षमा बागमती प्रदेश सांसद बद्री मैनाली र जिल्लाका पाँचजनाभन्दा बढी नेताले केन्द्रीय जिम्मेवारी पाएका छन् । जिल्लामा अध्यक्ष बनेका मैनाली र केन्द्रीय सदस्य टिम बनाएर १२ वटै पालिकाको गाउँटोलमा पुगेर पहिलो चरणमा कार्यकर्ता भेटघाट र सङ्गठन पुनर्गठन गरिसकेको छ । पहिलो चरणको कार्यक्रमले उत्साहित बनाएको नेकपा ओली पक्षका केन्द्रीय सदस्य रामशरण प्याकुरेलले बताए । धेरै स्थानीय नेता–कार्यकर्ता, शुभेच्छुक, जनसमूहले ओलीको राष्ट्रियताको अडानबाट प्रभावित भएर सहयोग गर्ने वचन दिएको केन्द्रीय सदस्य प्याकुरेलले बताए ।


दुवै समूह जिल्लामा विगतमा जिम्मेवारीविहीन कार्यकर्तालाई भटाभट नेतृत्वको जिम्मेवारी दिँदै सङ्गठन विस्तार अभियानलाई तीव्र बनाएका छन् । नेकपाको जिल्लामा रहेका विद्यमान जिल्लाका भ्रातृ सङ्गठन र शुभेच्छुक संस्थामा पनि प्रचण्ड–माधव समूहकै बाहुल्य देखिएको छ । नेकपाको विद्यार्थी सङ्गठन, शिक्षक सङ्गठन, युवा सङ्घ र प्रेस सङ्गठनमा समेत प्रचण्ड–माधव समूहकै वर्चश्व अहिले देखिएको छ । दुवै गुटमा सक्रिय भएकाभन्दा बढी नेकपाका नेता–कार्यकर्ता, शुभेच्छुक ‘पर्ख र हेर’को अवस्थामा बसेको नेकपा नुवाकोटका जिल्ला कार्यसमितिका सदस्य दीपक कायस्थले बताए । जिल्लामा को–को नेता कता लागे भनेर औँलो भाँच्नुभन्दा पनि कसको अवस्था के हुन्छ भन्न निर्वाचन आयोगको निर्णय र सर्वोच्च अदालतको फैसलामा भर पर्ने अवस्था रहेको छ । हिजोको जनमत र नेताको आधारमा को बलियो होला भनेर अनुमान गर्न सकिने अवस्था नुवाकोटमा छैन ।


प्रतिक्रिया दिनुहोस्