फागुन १४ देखि छहरे महोत्सव

काठमाडौं । नुवाकोटको लिखु गाउँपालिकाको छहरे बजारमा फागुन १४ देखि २२ गतेसम्म लिखु महोत्सवको तयारी सुरु भएको छ ।
समग्र नुवाकोट जिल्लाको पर्यटकीय विकास, आन्तरिक व्यापार, लोककला, संस्कृति संरक्षण तथा प्रवद्र्धन गर्न महोत्सव गर्न लागेको महोत्सव तयारी समितिका संयोजक सानु केसीको भनाइ छ । फागुन १४ देखि २२ गतेसम्म हुने महोत्सवबारे जानकारी दिन सोमबार पत्रकार सम्मेलन गरिएको थियो । महोत्सवमा स्थानीय कृषि सामग्री, धार्मिक तथा पर्यटकीय स्थानको प्रचार–प्रसार गरिने बताइएको छ । स्थानीय झाँक्री, लाखेनाच, धामीनाच, धिमेनाच, लोकदोहोरी, खैँचडी, भजनको समेत महोत्सवको आकर्षण रहने जनाइएको छ । झन्डै दुई लाख दर्शकले अवलोकन गर्ने अपेक्षा राखिएको उक्त महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुतिसमेत रहने बताइएको छ ।
लिखु गाउँपालिकाको सहयोगमा हुन गइरहेको महोत्सवको व्यवस्थापन ज्योति फिल्मले गरेको छ । लिखु गाउँपालिकाका प्रमुख ध्रुव श्रेष्ठले प्रथम छहरे ऐतिहासिक महोत्सवले समग्र नुवाकोट जिल्लाको पर्यटकीय विकास तथा लिखुको लोककला संस्कृतिको संरक्षण गर्नेे बताए । अध्यक्ष श्रेष्ठले पर्यटकीय विकास, लोककला संरक्षणका साथै लिखुको कृषि पेसालाई बजारीकरण गर्न सहयोग पुग्ने भएकोले नै लिखु गाउँपालिकाले महोत्सवको आयोजना गरेको बताए । पत्रकार सम्मेलनमा नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले महोत्सवले स्थानीय आर्थिक गतिविधि बढाउने भएकाले स्थानीय सरोकारवालासँग राम्रोसँग समन्वय गरी सुझाब लिर्नुपर्ने धारणा राखेका थिए । महोत्सवको तयारीमा ठूलै समूह जुट्नुपर्छ । महोत्सव गर्ने मात्र भनेर हुँदैन, गरिसकेपछि आयोजक टिमले व्यवस्थापनमा बढी ध्यान दिनुपर्ने उनले बताए ।
