बैंक तथा वित्तीय संस्था नै धमाधम किन्न थाले सेयर « Arthapath.com
३ फाल्गुन २०७७, सोमबार

बैंक तथा वित्तीय संस्था नै धमाधम किन्न थाले सेयर



काठमाडौं । पछिल्ला समय अधिक तरलताका कारण अल्पकालीन ब्याजदरहरू तल आउन थालेपछि बैंक तथा वित्तीय संस्थाले आफ्नो लगानी सेयर बजारतिर गर्न थालेका छन् । बैंकहरूले राष्ट्र बैंकले इजाजत दिएका विकास बैंक र फाइनान्स कम्पनीहरूको सेयरमा लगानी गर्न नपाए पनि बीमा कम्पनी, नागरिक लगानी कोष, ब्यापारिक कम्पनी, होटल, नेपाल टेलिकम, जलविद्युत् कम्पनीहरूमा लगानी गर्न पाउँछन् ।

उनीहरूलाई आफ्नो प्राथमिक पुँजीको १ प्रतिशत लगानी सेयर खरिदमा लगाउन पाउने नियामकीय प्रावधान छ । बैंकहरूले २० प्रतिशत तरल कोषमा राख्नुपर्छ । यसमध्ये ३ प्रतिशत अनिवार्य तरलता अनुपात (सीआरआर) मा राख्नुपर्छ । यसको ब्याज आउँदैन ।

बाँकी पैसा बैंकहरूले सरकारी ऋणपत्र, सेयर बजारलगायतमा लगाउन पाउँछन् । अहिले सरकारी ऋणपत्रको ब्याज दर ४ प्रतिशतभन्दा कम छ । उनीहरूले नियामकीय प्रावधानअनुसार ऋणपत्रमा लगाएपछि बाँकी पैसा सेयरतिर लगानी गर्न थालेका हुन् ।

‘अहिले कारोबार बढ्नुको प्रमुख कारण पनि बैंक तथा वित्तीय संस्थाको लगानी हो,’ एक बैंकका ट्रेजरी विभागका प्रमुख भन्छन्, ‘राम्रो प्रतिफल दिने कम्पनीहरूमा लगानी भइरहेको छ ।’ उनकाअनुसार, पछिल्लो समय गरिएका लगानी अल्पकालीन प्रकृतिका छन् । यसअघि बैंक तथा वित्तीय सस्थाहरूले अलिक लामो अवधिका लागि लगानी गर्दैआएका भए पनि अहिले भने उनीहरू सर्ट टर्म इन्भेष्टमेन्टमा लागिपरेको देखिन्छ । तत्काल लगानी गर्ने, अलि अलि पैसा बनाउने र बाहिरिने रणनीतिमा सबै देखिन्छन् ।

बैंकहरूले गर्ने सेयरको लगानी बैंकको वासलातमा ‘इन्भेष्टमेन्ट’ का रूपमा देखिन्छ । अहिले बैंकहरूको ब्याज आम्दानीको तुलनामा ‘अदर कम्प्रिहेन्सिभ इनकम’ बढेको छ । यो वृद्धि दरका हिसाबले तुलना गरिएको तथ्यांक हो । रकममा भने ब्याज आम्दानी नै बढी छ । अन्य नियमित आम्दानीको वृद्धि दर घट्दा अदर कम्प्रिहेन्सिभ इनकम बढ्नुले सेयर बजारबाट राम्रै प्रतिफल लिइरहेको भनेर बुझ्दा हुने अर्का एक बैंकका डेपुटी प्रमुख कार्यकारीले भने ।

बैंक तथा वित्तीय संस्थाहरूले कुन कुन कम्पनीको सेयर खरिद गरिरहेका छन् भने अद्यावधिक तथ्यांक भने उपलब्ध छैनन् । तर, उनीहरूले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा भने कुन–कुन संस्थामा लगानी छ भनेर देखिन्छ ।

अहिले बैंकहरूको प्राथमिक पुँजी कोष ५ खर्ब ४८ अर्ब रुपैयाँको छ । यो मंसिरसम्मको तथ्यांकमा आधारित हो । यसमध्ये ४ खर्ब ८८ अर्ब रुपैयाँ वाणिज्य बैंकहरूको छ । ४३ अर्ब विकास बैंकको र १६ अर्ब ३४ करोड फाइनान्स कम्पनीहरूको छ ।

कुल पुँजी कोषको १ प्रतिशत साढे पाँच अर्ब रुपैयाँ हुन्छ । यो पैसा अहिले बैंक तथा वित्तीय संस्थाहरूले सेयर खरिदमा लगाएका छन् । बजारमा सामान्य अवस्थामा हुँदा यो पैसा पूर्णरूपमा प्रयोग भएको हुन्न थियो । यसपालि भने पूर्णरूपमा प्रयोग भएको छ ।


प्रतिक्रिया दिनुहोस्