क्षेत्रीयस्तरको विकास बैंकसँग मर्ज गरेर गोर्खा विकास बैंक ब्युँताउने तयारी « Arthapath.com
५ फाल्गुन २०७७, बुधबार

क्षेत्रीयस्तरको विकास बैंकसँग मर्ज गरेर गोर्खा विकास बैंक ब्युँताउने तयारी



काठमाडौं । १० वर्षअघि राष्ट्र बैंकले समस्यागस्त घोषणा गरी नियन्त्रणमा लिएको गोर्खा विकास बैंकलाई पुनः पुरानै ब्राण्डमा फर्काउने तयारी भैरहेको छ । यसका लागि क्षेत्रीयस्तरको विकास बैंकसँग मर्ज गरी राष्ट्र बैंकबाट विशेष स्वीकृति लिने प्रयासमा प्रवद्र्धकहरूको प्रयास चलिरहेको छ । तर, यसअघि महालक्ष्मी फाइनान्स र अल्पाइन डेभलपमेन्ट बैंकको नजिर हेर्ने हो भने नियमतः यो सम्भव छैन । तर, यसअघि विशेष निर्णय गरेर नै राष्ट्रियस्तरको विकास बैंकलाई फाइनान्स कम्पनीको रुपमा झारिएका कारण राष्ट्र बैंकले गोर्खा फाइनान्सको प्रयासलाई सकारात्मक रुपमा लिएको छ । यसर्थ, यस योजनाबारे पहिले नै सूचना चुहावट भएका कारण दोस्रो बजारमा विगत ४ सातादेखि यसको भित्री कारोवार भैरहेको छ ।

११ वर्षदेखि लाभांश नदिएको यस फाइनान्स (तत्कालिन गोर्खा विकास बैंक)ले यस वर्ष लाभांश दिने तयारी गरेको छ । गोर्खा विकास बैंक काठमाडौं फाइनान्ससँग गाभिएर घटुवा हुँदै फाइनान्स बनेको थियो । अब पुनः विकास बैंक बन्नका लागि उसले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने तयारीसमेत गरेको बुझिएको छ ।

सोही कारण गोर्खाज् फाइनान्सको सेयरमा तिब्र चलखेल भएको छ । चलखेल गरेर तीन हप्तामा कम्पनीको सेयर मूल्य शतप्रतिशतभन्दा बढीले उचालिएको छ । प्रतिकित्ता १५० रुपैयाँभन्दा तल कारोवार भैरहेको कम्पनी २ महिनाअघि एक्कासी बढेर २२० रुपैयाँ पुगेको थियो । सो मूल्यमा एक महिना रोकिएर पुनः झरेर १८० हाराहारी आएको यस फाइनान्सको सेयर मूल्य ३ सातादेखि हरेक दिन १० प्रतिशत बढ्दै गएर अहिले ४१२ रुपैयाँ पुगिसकेको छ । हरेक दिन सर्किट लाग्दा पनि सर्किट मूल्यमा किन्ने माग धेरै देखिएको छ । यसको मूल्य ८०० सम्म पुग्छ भन्दै बजारमा हल्ला चलाइएको छ । तर, बुधबारको सेयर मूल्य १७६ रुपैयाँमा कारोबार भैरहेको छ ।

पछिल्लो समय नेपालमा धितोपत्र बजारमा विभिन्न कम्पनीको सेयर मूल्यमा चलखेल बढिरहेको देखिन्छ । कुनै निश्चित समूहले आफ्नो निहित स्वार्थपूर्तिका लागि चलखेल गरेर नयाँ लगानीकर्ताहरूलाई बजारमा फसाउने प्रयास गरिरहेको चिन्ता समेत गरिन थालिएको छ ।

भाइबर ग्रुपमा भरमार
इन्साइड इन्फरमेसनका नाममा लगानीकर्ताहरूको इनबक्समा कम्पनीले बम्पर लाभांश वितरण गर्न लागेको, कम्पनीले हकप्रद सेयर जारी गर्न लागेको र कम्पनी अन्य कुनै राम्रो कम्पनीहरूमा मर्ज हुन लागेका भन्दै म्यासेज पठाउने गरेको पाइएको छ ।

विभिन्न स्रोतहरूबाट गोर्खाज् फाइनान्सको विषयमा मुनाफा बढेको, हकप्रद सेयर निष्काशन गर्ने र लाभांश कति दिने विषयसहितको सूचना भाइबर ग्रुपहरूमा चलिरहेको छ । लगानीकर्ता र ब्रोकरहरूको भाइबर ग्रुपमा गोर्खाज् फाइनान्स र साल्पा विकास बैंकसँग मर्जमा जाने, फाइनान्सले ४० प्रतिशत बोनस वितरण गर्ने र फाइनान्सले १ः१ को अनुपातमा हकप्रद जारी गर्ने विषय वितरण भैरहेको छ ।

फाइनान्सले शत्प्रतिशत हकप्रद जारी गरी बैंकको चुक्ता पुँजी २८० करोड पुग्ने र पुनः गोर्खा विकास बैंकको नाममा सञ्चालनमा ल्याउने तयारी भैरहेको सूचना चुहाइएको छ । फाइनान्सको सेयर मूल्य छिट्टै ८०० पुग्ने भन्ने व्यहोराको म्यासेज सामाजिक सञ्जालमा आदान–प्रदान भइरहेको छ ।

हालसम्म आईपीओसमेत निष्काशन नगरेको साल्पा विकास बैंक खोटाङ जिल्लामा रहेको एक जिल्ला कार्यक्षेत्र रहेको क्षेत्रीय विकास बैंक हो । यसलाई राष्ट्र बैंकले मर्जरमा जान निर्देशन दिइसकेको छ । जम्मा २ करोड चुक्ता पुँजी रहेको यस विकास बैंकले नियमअनुसार ५० करोड चुक्ता पुँजी पुर्याउन नसकेका कारण आईपीओसमेत निष्काशन गर्न पाएको छैन ।

यसर्थ, केही प्रवद्र्धकहरू मिल्ने हुनाले गोर्खा फाइनान्ससँग मर्जर गरेर विकास बैंक बन्ने तयारी गरिरहेको छ । तर, राष्ट्रियस्तरको फाइनान्स र क्षेत्रीयस्तरको विकास बैंक मर्जर भएर राष्ट्रियस्तरको विकास बैंक बन्ने नियम नभएका कारण यसका लागि राष्ट्र बैंकले विशेष निर्णय गर्नुपर्ने अवस्था भने छ । यसअघि यस्तै कोसमा महाक्ष्मी फाइनान्स र अल्पाइन डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले मर्जर हुन दिएको थिएन ।

गोर्खा फाइनान्सले आफूसँग रहेको विभिन्न लघुवित्त कम्पनीहरूको सेयर बिक्री गरेर मुनाफा एकदम बढाएको छ । जसअनुसार यसको ईपीएस नै ५० रुपैयाँभन्दा माथि हुने अनुमान गरिएको छ । सोही कारण यस फाइनान्सले चालु आर्थिक वर्षको मुनाफाबाट ४० प्रतिशतसम्म बोनस सेयर दिने भन्दै बजारमा हल्ला चलाइएको छ । जबकी यसले गतवर्ष १० प्रतिशत बोनस दिने प्रयास गर्दा पनि गैरबैंकिङ सम्पत्ति बिक्री हुन नसकेर लाभांश दिन सकेको थिएन ।

करिब ३ साताअघिमात्र १९५ रुपैयाँमा कारोबार भएको फाइनान्सको सेयर मूल्य यति छोटो समयमा नै यति धेरै बढ्नुलाई सामान्यरुपमा हेर्न नसकिने तर्क सेयर बजार विश्लेषकहरूको छ । कम्पनीले औपचारिकरुपमा कुनै मर्जरको विषय बाहिर ल्याएको छैन, अहिलेसम्म कम्पनीको कुनै हकप्रद सेयर वा बोनश सेयर वितरणको पनि कुनै प्रस्ताव नआएको अवस्थामा भित्री हल्लाकै भरमा सेयर मूल्य आकासिनुलाई संयोग मान्न सकिने अवस्था देखिँदैन । यसमा कम्पनीका उच्च अधिकारीहरूको संलग्नतासमेत आशंका गरिएको छ ।

गत बिहीबार पनि सकारात्मक सर्किट लागेको मूल्यमा सेयर किन्न ५ लाख ५२ हजार कित्ताभन्दा बढीको अर्डर थियो । तर, बिक्रीकर्ताहरू भने अलिअलिमात्र देखिन्थे । हाँकाहाँकी सामाजिक सञ्जालमा कम्पनीका बारेमा प्रचारप्रसार गरेर निहित समूहले कम्पनीको सेयरमा चलखेल गरेको स्पष्ट हुन्छ । केही समयअघि पनि नेपाल पुनर्बीमा कम्पनीको सेयरमा पनि केही चलखेल भएको आशंका गरिएको थियो । कम्पनीले हकप्रद सेयर वितरण गर्ने हल्ला चलाएर कम्पनीको सेयर मूल्य बढाएका थिए ।

त्यसगैरी, केही हप्ताअघि एनसीसी बकंैको सेयरमा पनि चलखेलको प्रयास गरिएको थियो । एनसीसी बैंक नबिल बैंकसँग मर्जरमा जाने भन्ने हल्ला चलाइयो, तर केही समयपछि त्यो हल्ला बजारमै बिलायो । पुनः बजारमा सिद्धार्थ बैंक र नबिल बैंक मर्जरमा जाने हल्लाले बजार तातिएपछि सिद्धार्थ बैंकले आफू कुनै बैंकसँग मर्जरमा जाने र्निणय नभएको भनी विज्ञप्ति नै निकाल्नु पर्यो । गोर्खाज फाइनान्सको सेयर मूल्य पनि अहिले बजारमा नाटकीयढंगले बृद्धि भइरहेको छ । पुस २८ गतेबाट कम्पनीको सेयर मूल्य निरन्तर उकालो लागिरहेको छ । पुस २८ गते कम्पनीको सेयर मूल्य ९.०५ प्रतिशत,२९ गते ९.८८ प्रतिशतले बृद्धि भयो र ३ दिन बजार बन्दनै रह्यो । तीन दिनपछि माघ ४ गते खुलेको बजारमा कम्पनीको सेयर मूल्य ४.६८ प्रतिशतले बृद्धि भयो, ५ गते ९.९७ प्रतिशतले,६ गते १० प्रतिशतले र ७ गते ६.५३ प्रतिशतले कम्पनीको सेयर मूल्य बृद्धि भएको हो । बिहीबार कम्पनीको सेयर मूल्य ९.८७ प्रतिशतले बृद्धि भएर ४१२ रुपैयाँ पुग्दा धितोपत्र बजारमा बिक्रेताको उपस्थिति भने सून्य देखियो ।

सामान्यतया कुनै कम्पनीको सेयर मूल्य बढ्ने विभिन्न कारणहरू हुन्छन् । जस्तो कम्पनीले धेरै लाभांश प्रस्ताव गरेमा, कम्पनीले हकप्रद सेयर जारी गर्ने भएमा कम्पनीको व्यवस्थापनमा कुनै सफल व्यत्तिको आगमन भएमा,कम्पनी अन्य कुनै बलियो कम्पनीसंग मर्जर वा एक्विजिसनमा जाने भएमा वा कम्पनीको वित्तीय अवस्थामा व्यापक सुधार आयमा सामान्यतया कम्पनीको सेयर मूल्यमा उछाल आउने गर्दछ, तर अहिलेसम्म गोर्खा फाइनान्सको भने यस्तो कुनै समाचार बाहिरिएको छैन । सेयर बजारबाट साभार गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्