आफू कालोसूचीमा परेका तर कानूनविपरीत नाबालक सेयरधनी बनाएर अर्बाैको कारोबार « Arthapath.com
१० फाल्गुन २०७७, सोमबार

आफू कालोसूचीमा परेका तर कानूनविपरीत नाबालक सेयरधनी बनाएर अर्बाैको कारोबार



काठमाडौं । पुतलिसडकस्थित एक ब्रोकर कम्पनीबाट सेयर कारोवार गर्ने एक लगानीकर्ता आफू कालोसूचीमा परेका रहेछन् । उनी आफू कालोसूचीमा परेका कारण सेयर कारोवार गर्न नमिल्ने हुनाले उनले एक नाता पर्ने नाबालक व्यक्तिको नाममा वर्षौदेखि सेयर कारोवार गर्दै आइरहेका छन् । उनी बजारमा ठूला लगानीकर्ता रुपमा चिनिन्छन र उनको वार्षिक कारोवारको अंक अर्ब हाराहारीमा छ । यसरी नादान नाबालकको नाममा किर्ते अर्बौंको सेयर कारोवार गर्ने चलन सायद नेपालमा मात्र छ । कारोवारमा कुनै कैफियत देखियो भने पनि मुख्य अभियुक्त नाबालक देखिने गरी हुने यस्तो कारोवारले भविष्यमा समस्या ल्याउन सक्छ । नाबालकको नाममा अभिभावकले कारोवार गर्दा कैफियत देखियो र कानुनी कारबाहीको भागिदार बन्दा ती नाबालकको नाम मुद्दाहरूमा देखिन्छ ।

आफूले गर्दै नगरेको र त्यसबारे सोच्नसमेत नसक्ने अवस्थामा अरुमार्फत नै गरिएको त्यस्तो अपराधमा नाम मुछिँदा ती नाबालकलाई कस्तो असर गर्ला ? पछि वयश्क भैसकेपछि पनि पहिलेको त्यस कानुनी लफडाले उनको जीवनमा असर पार्न सक्छ । यस्तो अवस्थामा नाबालकको नाममा कारोवार गर्न दिनु नै गलत कदम भएको विज्ञहरू बताउँछन् । कम्पनी ऐन, २०७४ ले १६ वर्ष नपुगेको नेपाली नागरिकलाई कुनै पनि कम्पनीको सेयरधनी हुन निषेध गरेको छ । कम्पनी संस्थापना गर्दा १६ वर्ष पुगेका नेपाली नागरिकमात्र सेयरधनी बन्नसक्ने व्यवस्था भए पनि सार्वजनिक निष्काशन वा दोस्रो बजारबाट सेयर खरिद गर्दा नाबालकले समेत सेयर कारोवार गरिरहेका छन् ।

कुनै पनि कम्पनीको सेयरधनीको निश्चित अधिकार र दायीत्व हुन्छन् । सञ्चालक चुन्नेदेखि लिएर कम्पनीको नीति नियम र कारोवारमा उसको प्रत्यक्ष सरोकार रहन्छ । तर, नाबालक सेयरधनीले यस्तो कुरामा कुनै निर्णय दिन सक्ने अवस्था रहन्न । घरजग्गा र बैंक खाताजस्ता खासै दायित्व नहुने र निर्णय दिन नपर्ने कुरामा नाबालकको नाममा राख्न मिल्ने कानुन छ । तर, सेयरधनी बन्नका लागि पूर्ण नागरिक हुनुपर्ने अवस्था छ । बयश्क नागरिक भए पनि निर्णय दिन सक्षम नहुने भएकै कारण मगज बिग्रेको व्यक्तिलाई कम्पनीको सेयरधनी वा सञ्चालक बन्न निषेध गरिएको छ । तर धितोपत्र ऐनले नरोकेको भन्दै बजारमा भने लाखौँ नाबालक व्यक्तिको नाममा अर्बौंको सेयर कारोवार भैरहेको छ ।

अहिले सेयर बजार बढेको बेला आईपीओ भर्नकै लागि नाबालक व्यक्तिको नाममा‘डिम्याट’ खाता खोल्ने लहर चलेको छ । सेयरको सार्वजनिक निष्काशनमा मापदण्ड पुगेका सबै आवेदकलाई न्यूनतम १० कित्ता सेयर वितरण गर्नुपर्ने व्यवस्था छ । त्यसैले बच्चाका नाममा डिम्याट खाता खोल्ने लहर छ । यसबाहेक दोसो बजारमा ठूलै रकमको कारोवार पनि नाबालकको नाममा गर्ने व्यक्तिहरू पनि धेरै छन् । अचेल त बच्चा जम्मेको केही दिनमै धेरै अभिभावक डिम्याट खाता खोल्न आउने जानकारहरू बताउँछनन् । सेयर पर्ने निश्चित भएकाले धेरै सेयर प्राप्त गर्ने उद्देश्यले बच्चा जन्मिनासाथ खाता खोल्न आउने क्रम बढेको उनीहरूको तर्क छ ।

नाबालकको नामामा खाता खोल्न पाइने कानुनी व्यवस्था नै छ । बच्चा १८ वर्ष नपुग्दासम्म अभिभावकको संरक्षकत्वमा बैंक खाता र डिम्याट खाता खोल्न पाइन्छरु। खातावाला बालक १८ वर्ष पुगेपछि उसैले खाता पूर्णरूपमा सञ्चालन गर्न पाउँछ । कागजी अवस्थामा रहेको भौतिक धितोपत्रलाई विद्युतीय प्रणालीमा अभिलेख राखिने खातालाई डिम्याट भनिन्छ । हाल दोस्रो बजारमा भौतिक सेयरको कारोबार हुँदैन । सोही कारण सेयरमा आवेदन दिन तथा दोस्रो बजारमा कारोबार गर्न डिम्याट खाता र बैंक खाता अनिवार्य हुनुपर्ने प्रावधान छ ।

न्यूनतम १० कित्ता सेयर सबैलाई वितरण गर्नुपर्ने व्यवस्था पनि नाबालक (माइनर) का नाममा डिम्याट खाता खोल्ने र आवेदन दिने क्रम बढेको सीडीएसीले बताएको छ । हालसम्म ३ लाख २० हजार ७० वटा नाबालक खाता खुलेको सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । हालसम्म कुल २९ लाख १० हजारभन्दा बढि डिम्याट खाता खुलेका छन् । तीमध्ये १५ लाख २० हजार २ सय ५१ पुरुष र १० लाख २९ हजार १ सय ८० वटा महिलाका नाममा खुलेका छन् । तीमध्ये नाबालक खाता संख्या ३ लाख १० हजार ७० वटा रहेको उनले बताए । चालु आर्थिक वर्षको ६ महिनामा मात्र थप ८ लाख २६ हजार २ सय ८७ वटा डिम्याट खाता खुलेका छन् । जसअनुसार गत असारमा १७ लाख २७ हजार ९ सय १३ डिम्याट खाता खुलेका थिए ।

नाबालकका नाममा डिम्याट खाता खोल्नुको अर्थ उनीहरू पनि सेयर लगानीकर्ता हुन् भन्ने हो । यसका आधारमा पनि सेयर बजारमा करिब सवा तीन लाख नाबालक सेयर लगानीकर्ता रहेको रूपमा विश्लेषण गर्न सकिन्छ । डिम्याट खाता खोल्दैमा सबैले सेयरका लागि आवेदन दिन्छन् र उनीहरूलाई सेयर पर्छ नै भन्ने पनि हुँदैन । तर पनि अहिले सेयर बजार तातेको अवस्थामा डिम्याट खोले पनि आवेदन दिन्छन् भन्ने अनुमानका आधारमा यस्तो विश्लेषण गरिएको हो ।

पछिल्ला महिना नाबालकको नाममा खाता खोल्ने क्रम बढेको तथ्यांक छ । गत पुसमा मात्र ३९ हजार ६ सय ९४ वटा डिम्याट खाता नाबालकका नाममा खुलेका छन् । २०७६ पुसमा ५ सय ७७ वटा मात्र यस्ता खाता खुलेका थिए । गतवर्षको पुसको तुलनामा गत पुसमा २ लाख २६ हजार ९ सय २१ वटा बढी डिम्याट खाता खुलेका छन् । गतवर्षको तुलनामा यो वर्ष धेरै कम्पनीले प्राथमिक निष्काशन (आईपीओ जारी गरेको, सेयर बजार लगातार बढिरहेकोलगायत कारण डिम्याट खाता संख्या पनि बढेको जानकारहरू बताउँछन् । गत पुसमा मात्र २ लाख ३५ हजार ६ सय ३९ वटा डिम्याट खाता खुलेका छन् । गतवर्षको पुसमा ८ हजार ७ सय १८ वटा मात्र डिम्याट खाता खुलेका थिए । पछिल्लो समय चन्द्रागिरि हिल्स र पूर्वाधार बिकास बैंकको प्राथमिक निष्काशनमा हालसम्मकै धेरै आवेदन परेको थियो । यसमा नाबालक व्यक्तिको नाममा खुलेका सबैजसो डिम्याट खाताबाट आवेदन परेको सीडीएसले जनाएको छ ।सेयर बजार


प्रतिक्रिया दिनुहोस्