नेपाल ट्रष्ट सेयर बजारमा लगानी गर्दै, कति छ सम्पत्ति ? « Arthapath.com
११ फाल्गुन २०७७, मंगलवार

नेपाल ट्रष्ट सेयर बजारमा लगानी गर्दै, कति छ सम्पत्ति ?



काठमाडौं । नेपाल ट्रष्टले सेयर बजारमा लगानी गर्ने भएको छ । पूर्वराजा वीरेन्द्र शाहको सम्पत्ति संरक्षण गर्न गठन गरिएको नेपाल ट्रष्टले सेयर बजारमा लगानी गर्ने भएको हो । माघ ११ गते बसेको सञ्चालक समितिको ७४ औं बैठकले बैंक तथा वित्तीय संस्था एवं नेप्सेमा सूचीकृत कम्पनीहरूको सेयरमा लगानी गर्ने निर्णय गरेको हो ।

नेपाल ट्रष्ट नियमावली, २०६५ को नियम ६ को उपनियम २ को खण्ड ‘घ’ बमोजिम ‘ट्रष्टलाई प्राप्त भएको रकम लगानी गरी कुनै बैंक तथा वित्तीय संस्था वा अन्य कुनै पब्लिक कम्पनीको चुक्ता पुँजीको ५ प्रतिशतसम्म सेयर खरिद गरी त्यस्तो कम्पनीको संस्थापक सेयरधनी हुने’ व्यवस्था छ ।

त्यसैगरी, खण्ड ‘च’ मा ‘ट्रष्टलाई आय आर्जन हुने भनी समितिले उचित ठहर्याएको अन्य कुनै कार्यक्रम वा आयोजनामा नेपाल सरकारको पूर्वस्वीकृति लिई लगानी गर्ने’ प्रावधान अनुसार ट्रष्टको सञ्चालक समितिले सूचीकृत कम्पनीको आईपीओ र सेयरमा लगानी गर्ने निर्णय गरेको हो ।

‘बैंक, वित्तीय संस्था वा अन्य कुनै पब्लिक लिमिटेडको सेयर खरिद गर्दा कार्यालयलाई लाभ पुग्ने देखिएमा त्यस्तो प्रस्ताव सञ्चालक समितिसमक्ष पेश गर्न सैद्धान्तिक सहमति दिने,’ सञ्चालक समितिले निर्णय गरेको हो ।

वंशनास भएका तत्कालीन राजा वीरेन्द्रको सम्पत्ति संरक्षण गर्ने उद्देश्यले वि.स.२०६४ सालमा नेपाल ट्रष्टको गठन गरिएको थियो ।

कति छ सम्पत्ति ?

२०७६ फागुनमा सरकारले नेपाल ट्रष्टको सम्पत्ति देशभरि २१ हजार ५६२ रोपनी ४ आना २ पैसा एक दाम जग्गा रहेको सार्वजनिक गरेको थियो । ट्रष्टको सम्पत्ति भाडामा लगाएर आम्दानी गर्दै आएको छ ।

त्यसैगरी ट्रष्टको नाममा चलअचल गरी ७८ करोड ९ लाख ९९ हजार ७९३ रुपैयाँ सम्पत्ति रहेको र, १ लाख ४८ हजार ५८१ अमेरिकी डलर, ५० हजार १२४ पाउण्ड स्टर्लिङ डलर, नविल बैंकको ५ लाख ३३ हजार २४४ कित्ता सेयर, अन्नपूर्ण होटेलको ३० हजार ७२० कित्ता सेयर रहेको छ ।


प्रतिक्रिया दिनुहोस्