बुक विल्डिङ विधिबाट आईपीओको तयारी पूरा, सर्वोत्तम सिमेन्टले चैतमा निष्काशन गर्ने « Arthapath.com
१३ फाल्गुन २०७७, बिहीबार

बुक विल्डिङ विधिबाट आईपीओको तयारी पूरा, सर्वोत्तम सिमेन्टले चैतमा निष्काशन गर्ने



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले बुक विल्डिङ विधिमार्फत आईपीओ निष्काशन गर्नको लागि आवश्यक पर्ने विद्युतीय बोल–कबोल (विडिङ्ग) प्रणाली लगभग तयारी अवस्थामा रहेको जनाएको छ । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले उक्त प्रणाली लगभग तयारी अवस्थामा रहेको बताएका हुन् ।

अहिले नै कुनै कम्पनी बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्न आएमा आफूहरू प्लेटफर्म दिन तयारी अवस्थामा रहेको उनले बताए । उनकाअनुसार टेक्निकल रिपोर्ट तयार रहेको र अहिले आईटी टिम, मर्चेन्ट ब्रोकर र ब्रोकरहरूसँग सल्लाह सुझाव लिएर काम भइरहेको छ । उनले अहिले नै अनलाइन प्रणाली तयार नभएमा म्यानुअलरुपमा नै सो कार्य गर्न सक्ने गरि काम भइरहेको बताएका हुन् । उनले पेमेन्ट, बैंक र सेटलमेन्टको काम सीडीएसले गर्ने र प्रणालीको अन्य काम जारी रहेको बताएका हुन् ।

सर्वोत्तम सिमेन्टले चैत महिनामा बुक विल्डिङबाट आईपीओ निष्काशन गर्ने तयारी गरेको छ । सीईओ साउदकाअनुसार चैत महिनामा अनलाइन प्रणाली नै तयार भई सक्नेछ । बुक विल्डिङ निर्देशिका २०७७ मा स्टक एक्सचेञ्जले स्वचालित विद्युतीय बोल कबोल (विडिङ्ग) प्रणाली संचालन गर्नुपर्ने र स्वचालित विद्युतीय बोलकबोल प्रणाली सञ्चालनमा नआउञ्जेल संगठित संस्थाले सिलबन्दी बोलकबोलमार्फत धितोपत्रका लागि आवेदन माग गर्न सक्ने ब्यवस्था छ । निर्देशिकामा बिभिन्न शर्त तथा बन्देजहरू राखेर बुक बिल्डङको आईपीओ निष्काशन विधि तोकिएको छ ।

  • संगठित संस्थाले निष्काशन तथा विक्री प्रबन्धकको परामर्शमा धितोपत्रको अनुमानीत मूल्य तथा मूल्यांकनको आधार र औचित्यसमेत खुलाइएको प्रारम्भिक विवरण–पत्र तयार गरी योग्य संस्थागत लगानीकर्तासँग छलफल कार्यक्रम रोड–शो सञ्चालन गर्नुपर्ने छ ।
  • न्यूनतम १० योग्य संस्थागत लगानीकर्तासँग खरिद गर्न चाहेको न्यूनतम धितोपत्र संख्या, खरिद आशय मूल्य तथा मूल्यांकनको आधारसहित प्रारम्भिक विवरणपत्रको सम्बन्धमा सुझाव प्राप्त गर्नुपर्ने छ ।
  • संगठित संस्थाले योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त आशय मूल्यको अध्ययन गरी आधार मूल्य तय गर्नुपर्ने र उक्त आधार मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य माथिल्लो सीमा र २० प्रतिशत घटाउँदा कायम हुने मूल्य तल्लो सीमा हुने गरी मूल्य सीमा निर्धारण गर्नुपर्ने छ ।
  • बोर्डमा धितोपत्र दर्ता भई योग्य संस्थागत लगानीकर्तालाई निष्काशन गर्न तयार गरेको धितोपत्रको मूल्य सीमा सहितको विवरण–पत्र स्वीकृत भएपश्चात् योग्य संस्थागत लगानीकर्तालाई बोलकबोलमार्फत धितोपत्र निष्काशन गर्नुपर्ने छ ।
  • कुनै एक योग्य संस्थागत लगानीकर्ताले निष्काशित धितोपत्रको २० प्रतिशतभन्दा बढी धितोपत्रको लागि बोलकबोल प्रस्ताव पेश गर्न नपाइने तथा कबोल गरेको शत प्रतिशत रकम तोकिएको निष्काशन बैंक खातामा जम्मा गर्नुपर्ने वा आवेदकको बैंक खातामा रोक्का राख्नुपर्ने वा गुड फर पेमेन्ट चेक पेश गर्नुपर्ने छ ।
  • संस्थागत लगानीकर्तालाई निष्काशित धितोपत्र पूर्णरुपमा बिक्री हुँदा कायम हुने मूल्य (कट अफ मूल्य) निर्धारण गरी कट अफ मूल्य र सोभन्दा माथिल्लो मूल्यमा कबोल गर्ने सबै आवेदनकर्ताहरूलाई मागबमोजिमको धितोपत्र कट अफ मूल्यमा बाँडफाँट गर्नुपर्ने, कट अफ मूल्यमा आवेदन गर्ने लगानीकर्तालाई मागबमोजिमको धितोपत्र बाँडफाँट गर्न नपुगेमा समानुपातिकरुपमा बाँडफाँट गर्नुपर्ने तथा बाँडफाँटमा नपरेको रकम बाँडफाँट भएको तीन कार्य दिनभित्र आर्जित व्याजसहित फिर्ता गर्नुपर्ने वा खाता फुकुवा गर्नुपर्ने छ ।

सर्वसाधारण लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छुट दिई धितोपत्र निष्काशन गर्नुपर्ने छ ।सेयर बजार


प्रतिक्रिया दिनुहोस्