उत्प्रेरणा र सेवा प्रवाहको अन्तरसम्वन्ध « Arthapath.com
१७ फाल्गुन २०७७, सोमबार

उत्प्रेरणा र सेवा प्रवाहको अन्तरसम्वन्ध



उदय रानामगर

सार्वजनिक प्रशासन सार्वजनिक भलाईको लागि सरकारद्धारा सन्चालित सेवा हो । सार्वजनिक प्रशासनको सन्चालनमा मानव उत्प्रेरणाको महत्वपूर्ण भूमिका रहन्छ । त्यसकारण पनि कर्मचारीलाई उत्प्रेरित गराउनु व्यवस्थापकको जिम्मेवारी रहन्छ । कर्मचारीलाई उत्प्रेरित गराउनको लागि विभिन्न तरिका र माध्यमहरु छन् । उदाहरणका लागि कर्मचारीको सहि मूल्यांकन, कर्मचारीको सन्तुष्टि, क्षतिपूर्ति, रोजगार सुरक्षा, आवधिक र सामयिक प्रशिक्षण, सेवा सुविधाको वृत्ति विकास, र संगठनात्मक संरचनाहरुको व्यवस्था गरि कर्मचारीहरलाई उत्प्रेरित गराई काम गर्ने वातावरणको सृजना गर्नुपर्दछ । उत्प्रेरणाका सर्तहरु मध्ये मनोविज्ञानिक परामर्श सबै भन्दा महत्वपूर्ण सर्त हो । संगठनका अधिकांश व्यवस्थापकहरू मानव पूंजीलाई परिचालन गरेर अधिकतम उत्पादन र उत्पादकत्व चाहन्छन् । कर्मचारीको उत्प्रेरणा कुनै पनि संगठनको विकासको लागि मुख्य आधार हो । कुनै पनि सँस्थाको दीर्घकालीन उद्देश्य प्राप्तिका लागि कर्मचारीमा उत्प्रेरणा र सेवाग्राहिको सन्तुष्टि आवश्यक छ । सेवाप्रवाहमा कर्मचारीको उत्प्रेरणाको महत्वपुर्ण भूमिका रहने भएकोले यसको व्यवस्थापन गर्नु चुनौतीपूर्ण छ । मनोवैज्ञानिक रुपमा उत्प्रेरित र सक्षम कर्मचारीबाट मात्र सेवाप्रवाहलाई प्रभावकारी बनाउनसकिने भएकोले कर्मचारीको उत्प्रेरणा बढाउने कुरामा नेतृत्वले ध्यान पु(याउन आवश्यक छ ।

नेपालको सार्वजनिक प्रशासनको महत्वपूर्ण कार्यहरु मध्ये सार्वजनिक सेवाप्रवाह पनि एक हो । यसलाई बढी प्रभावकारी बनाउनकै लागि संघीय प्रणालीको अवधारणा अवलम्बन गरिएको हो । बेला बेलामा अस्थायी तथा पटके रुपमा विभिन्न तरिकाबाट जनताको घरदैलोमा नै पुगेर सेवा प्रदान गरिने अभ्यासको हुँदै आएको पनि छ । यसको अतिरिक्त सेवा प्रवाहलाई बढी जनमुखी बनाउनका लागि विविध प्रयासहरु समेत भएका छन् । जस्तै सेवाप्रवाहका लागि स्थानीय प्रशासनलाई सक्षम, सुदृढ, उत्तरदायी र व्यवसायीक बनाउने, कर्मचारीमा क्षमता विकास गर्ने र उनीहरुले प्रदान गर्ने सेवालाई प्रतिस्पर्धी, उत्तरदायी र जवाफदेही बनाउने । यद्यपि सेवाप्रवाहमा बढी व्यक्तिवादी सोँच, एकल लोकप्रिय हुन खोज्ने प्रवृत्ति भने अझै हावी छ । यस सन्दर्भमा सेवा प्रवाहलाई जनअपेक्षा अनुरूप बनाउन कर्मचारीहरुमा उत्प्रेणाले महत्वपूर्ण भुमिका खेल्ने गरेको विगतका केही अध्ययन अनुसन्धानले पनि देखाएको सन्दर्भमा यसको महत्व थप पुष्टि गर्दछ । नेपालको निजामती प्रशासनमा कर्मचारीको उत्प्रेरणाको अवस्था र त्यसले सेवाप्रवाहमा पारेको प्रभाव तथा असरका बारेमा अध्ययन अनुसन्धानको आवश्यकता देखिन्छ । कर्मचारीको उत्प्रेरणाको अवस्था र सेवा प्रवाहको अन्तर सम्बन्धले सेवा प्रवाहमा पार्ने प्रभावको सम्वन्धमा थप अध्ययन गरी त्यसको नतिजाको आधारमा सुधारको पक्ष अगाडी बढाउन सकिन्छ । तथ्य र नतिजाको आधारमा गरिने सुधारले कार्यान्वयन पक्षलाई सवल बनाउने भएकोले सेवा प्रवाह प्रति जनविश्वास बढ्ने सत्यलाई अस्वीकार गर्न सकिदैन ।

उत्प्रेरणा र कार्यसम्पादन सुधारका सम्बन्धमा सन् २०१२ पि. चौधरीले “संगठनात्मक प्रभावकारीतामा कर्मचारीको प्रेरणाको प्रभाव” भन्ने विषयमा गरेको अध्ययनले पनि उत्प्रेरणाको महत्वलाई पुष्टि गरेको पाइन्छ । उक्त अध्ययनको आधारमा प्रस्तुत निष्कर्षलाई समीक्षा गर्दा कर्मचारीमा संचारित उत्प्रेरणाले संगठनको प्रभावकारितामा सकारात्मक प्रभाव पर्दछ भन्ने देखिन्छ । यसको अर्थ उत्प्रेरित कर्मचारीले सगंठनको उत्पादकत्वमा सकारात्मक प्रभाव पार्ने गरेको अध्ययनले देखाएको छ । उत्प्रेरित कर्मचारीहरु बढी प्रतिफल दिनसफल भएको उक्त अध्ययनले देखाएको छ । त्यसैगरी नुर साफ्नी लगायतको समुहले सन् २०१५ मा गरेको अध्ययनको नतिजा अनुसारकार्य सम्पादन क्षमता र कर्मचारीको व्यक्तिगत आवश्यकता बीचको सम्बन्ध सकारात्मक रहेको देखाएको छ । यस अध्ययनले के पनि पुष्टि गरेको छ भने कर्मचारीको आवश्यकता पूरा भएको अवस्थामा उसको कार्यसम्पादन क्षमता बढ्न जान्छ र कर्मचारीको क्षमताको भरपुर उपयोग गर्न पनि उसको आवश्यकता पूरा गरि सन्तुष्टिका मात्रा बढाउनु पर्ने रहेछ भन्ने देखिन्छ । यस्ता अध्ययनहरुको समीक्षाको आधारमा भन्ने हो भने कुनै पनि संगठनको उत्पादकत्व बढाउनको लागि उत्प्रेरणा अनिवार्य शर्तको रुपमा रहेको पाईन्छ । यी विविध पक्षहरु कर्मचारी उत्प्रेरणाको हिस्सा मात्र होइन संगठनात्मक स्रोतहरूको कुशल व्यवस्थापनको लागि समेत अपरिहार्य तत्व हो भन्न सकिन्छ ।

सेवा प्रदायकहरुमा उनीहरुको सेवाप्रतिको विश्वासलाई असर गर्ने कारक तत्वहरू, कर्मचारीको मनोवृत्तिमा प्रदर्शन मूल्याङ्कनमा प्रभाव पार्ने तत्वहरु, संगठनात्मक प्रतिवद्धता, कार्यस्थलमा कर्मचारीको व्यवहार र संगठनात्मक वृद्धिमा कर्मचारीको प्रदर्शनको प्रभावजस्ता पक्षहरुको गहिरो अध्ययनको आवश्यक छ । नेपालको सार्वजनिक प्रशासनका कर्मचारीहरुको व्यक्तिगत कार्य क्षमता प्रखर भएको तर संस्थागत नतिजा कमजोर रहने गरेको भन्ने आरोप लाग्दै आएको छ । जसले गर्दा सार्वजनिक सेवाप्रवाह प्रति जनविश्वास गुमेको पाईन्छ । यसलाई चिरेर फेरी पनि विश्वासको वातावरण सृजना गराउनका लागि सार्वजनिक सेवालाई प्रभावकारी बनाउनु पर्छ यसका लागि कर्मचारीको मनोवाल बढाउनु अपरिहार्य देखिन्छ । त्यसैले मौद्रिक तथा गैर मौद्रिकतत्वबाट मात्र संभव हुने भएकोले त्यसतर्फ विशेष ध्यान दिन आवश्यक छ ।

यस अध्ययनको लागि १०० जना सेवाग्राही र १०० जना बहालवाला कर्मचारीहरुको बीचमा एक सर्भेÞक्षण गरिएको थियो । उक्तसर्भेक्षणमा सेवाग्राही र कर्मचारीले व्यक्त गरेका धारणालाई हेर्दा मौद्रिक तत्व अन्तरगतको कर्मचारीको तलब प्रति उनीहरुबाट प्राप्त धारणा अनुसार ७२ प्रतिशत कर्मचारी विद्यमान तलबमान प्रति असन्तुष्टि व्यक्त गरिएको छ भने २८ प्रतिशतले ठिकठिकै भएको भनी धारणा व्यक्त गरेका छन् तर कुनै पनि कर्मचारीले विद्यमान तलबमान प्रति सन्तुष्टी जनाएका छैनन् । त्यसैगरी सेवाग्राहीले व्यक्त गरेकोधारणा अनुसार ३७ प्रतिशतले विद्यमान सेवाप्रति सन्तुष्टि जनाएका छैनन् भने ४८ प्रतिशतले ठिक ठिकै भएको भनेका छन्। बाँकी १५प्रतिशत कर्मचारी मात्र विद्यमान सेवा प्रति सन्तुष्ट देखिन्छन् ।

वर्तमान तलब तथा पारिश्रमिक प्रति कर्मचारीहरुको सन्तुष्टि स्तर कमजोर देखियो । कर्मचारीको तलब प्रत्येक २ बर्षमा बढाउने भनिएता पनि त्यो व्यवस्थाको पूर्ण रुपमा कार्यान्वयन हुन सकेको छैन । त्यसको लागि पनि प्रत्येक वर्ष हुने मुद्रास्फ्रितिको आधारमा स्वतः तलबबढ्ने प्रणालीलाई स्थापित गर्न आवश्यक छ । त्यसो गर्न सकिएमा कर्मचारीहरु कमजोर आम्दानीको स्रोतको कारण उत्पन्न कमजोर मनोवैज्ञानिक समस्यालाई समाधान गर्न सकिन्छ । यो व्यवस्थाले कर्मचारीको सेवाप्रवाहमा सम्लग्नता वृद्धि हुन्छ । फलस्वरुप सेवाग्राहीमा आउने नैराश्यता समेत कमि भई सरकार प्रतिको विश्वासमा अभिवृद्धि हुन्छ । त्यसैगरी निजामती कर्मचारीलाई निजामती सेवा ऐन २०४९ ले गरेको व्यवस्था अनुसार चाडबाड खर्च वापत वर्षमा १ महिना बराबरको तलब दिने व्यवस्था गरेको छ । यो व्यवस्थाप्रति कर्मचारीको धारण माग गरिएकोमा ५५ प्रतिशत कर्मचारीले यो खर्च अपुग भएकोले असन्तुष्टि व्यक्त गरेका छन् भने ३४ प्रतिशतले ठिकठिकै मानेका छन् । बाकी रहेका ११ प्रतिशत कर्मचारीहरुले सन्तुष्टी जनाएका छन् । चाडबाड खर्च र सेवाप्रवाहको अवस्थालाई विश्लेषण गर्दा यि दुई बीचमा सकारात्मक सम्वन्ध भएको देखिन्छ । चाडबाड खर्च प्रति कर्मचारीको सन्तुष्टिको स्तर बढ्दा सेवा प्रवाहप्रतिको सन्तुष्टि पनि बढेकोछ । तसर्थ यसबाट के निष्कर्ष निकाल्न सकिन्छ भने उत्प्रेरणाको लागि आवश्यक विभिन्न तत्वहरु मध्येचाडबाड खर्चलाई प्रयाप्त मात्रामा उपलव्ध गराउन सकेमा कर्मचारीहरु उत्प्रेरित भई कार्य सम्पादनमा समेत सुधार हुने देखिन्छ । त्यसैगरि कर्मचारीलाई दिइदै आएको वार्षिक ग्रेड प्रणाली प्रति कर्मचारीको सन्तुष्टिको अवस्थालाई विश्लेषण गर्दा ४८ प्रतिशत कर्मचारीले हालको ग्रेड प्रणाली पर्याप्त छैन भनेका छन् भने ४४ प्रतिशतले पर्याप्त होइन ठिकठिकै मात्र हो भनेर उत्तर दिएको पाइयो । बाँकी ८ प्रतिशतले विद्यमान ग्रेड प्रणाली र रकम ठिक भएको भनि सन्तुष्टी व्यक्त गरेका छन् । यस विश्लेषणमा पनि ग्रेड प्रति कर्मचारीको असन्तुष्टि बढेसगै सेवा प्रवाहको गुणस्तरमा ह्रास आउने गरेको पाइयो ।

सेवाप्रवाह प्रति १५ प्रतिशत सेवाग्राही सन्तुष्ट हुँदा मात्र ८ प्रतिशत कर्मचारीले सन्तुष्टी जनाएका छन् । त्यसैगरी ग्रेड प्रति ४८ प्रतिशतले जनाउदा ३७ प्रतिशत सेवाग्राहीले सेवा प्रवाहको गुणस्तर प्रति असन्तुष्टि जनाएको पाइयो । यसबाट के निष्कर्ष निकाल्न सकिन्छ भने कर्मचारीको विद्यमान ग्रेड प्रणाली प्रतिको कर्मचारीको दृष्ठिकोणले पनि सेवा प्रवाहलाई असर पारिरहेकोछ । त्यसको लागि कर्मचारीको ग्रेड प्रतिको सन्तुष्टि बढाउँदा सेवा प्रवाहको गुणस्तर बढ्नुपर्ने भएकोले यस तर्फ सम्बन्धित पक्षले ध्यान दिन आवश्यक छ । त्यसैगरी निजामती कर्मचारीमा पछिल्लो समय देखि लागू भएको बिमाको प्रावधान प्रति पनि कर्मचारीसन्तुष्ट नभएको देखिन्छ । ८५.५ प्रतिशतले यसलाई थप सुधार गर्न आवश्यकभएको तर्क पेश गरेका छन् भने मात्र २ प्रतिशत यसप्रावधान पर्याप्त छ भनेका छन् । निजामती सेवा पुरस्कार प्रणाली प्रति कर्मचारीहरु सन्तुष्ट छैनन् । छनौट तथा वितरण प्रणाली नै ठिक नभएको भन्ने कर्मचारीको सख्या ४० प्रतिशत छ भने २१ प्रतिशतले ठिक छ भनेका छन । तसर्थ निजामती पुरस्कार प्रणालीलाई सूचकांकको आधारमा योग्य र पाउनुपर्ने कर्मचारीले नै पाउने गरी प्रणालीको विकास गरी कर्मचारीलाई थप प्रोत्साहित गर्नु पर्दछ । साथै निजामती पुरस्कारलाई बढुवासंग अनुवन्धन गरी कर्मचारीलाई थप उत्प्रेरित गर्नु पर्ने देखिन्छ ।

गैर मौद्रिक उत्प्रेरणाका तत्वहरु मध्ये कर्मचारीको सरुवा पनि एक हो । सरुवा प्रणाली अनुमान योग्य भएको खण्डमा कर्मचारीहरु उत्प्रेरित हुन्छ । यो अनुसन्धानमा निजामती कर्मचारीले व्यक्त गरेको सरुवा सम्बन्धी धारणा अनुसार ५५ प्रतिशत कर्मचारीहरु सन्तुष्ट छैनन् भने ४३ प्रतिशत कर्मचारीले ठिकै भएको भनेका छन्, बाँकी २ प्रतिशत कर्मचारी मात्र सन्तुष्ट छन् । यसवाट के निष्कर्ष निकाल्न सकिन्छ भने कर्मचारीहरु सरुवा प्रणालीको विद्यमान व्यवस्था प्रति प्रायः सन्तुष्ट छैनन् । जसको कारण उनीहरुले दिने सेवा पनि प्रभावकारी हुनगरेको छैन । सरुवा प्रणाली प्रतिको असन्तुष्टि जति बढी भयो सेवाप्रवाहमा असन्तुष्टिको स्तर त्यति बढ्ने गरेको पाइयो । त्यसर्थ पनि सेवाप्रवाहमा जनताको गुनासो कम गराउने हो भने सरुवा प्रणालीमा सुधार आवश्यक छ । त्यसैगरी निजामती सेवामा रहेको विद्यमान बढुवा प्रणाली प्रति कर्मचारीहरुले व्यक्त धारणा अनुसार विद्यमान बढुवा प्रणाली प्रति ४७ प्रतिशत कर्मचारीले असन्तुष्ट छन् भने मात्र ७ प्रतिशतले सन्तुष्टी जनाएकाछन् । त्यसैगरी सेवाप्रवाह प्रतिको सेवाग्राहीको सन्तुष्टिको स्तर हेर्दा कर्मचारीको बढुवा प्राणाली प्रतिको असन्तुष्टि बढे सँगै सेवाप्रवाहको गुणस्तर प्रति पनि सेवाग्राहीको असन्तुष्टि बढेको देखिन्छ । यस अध्ययनबाट के निष्कर्ष निकाल्न सकिन्छ भने कर्मचारीको विद्यमान बढुवा प्रणालीको प्रणाली सन्तोषजनक छैन । यसले उनीहरुमा असन्तुष्टि बढाउदै आएकोले यो असन्तुष्टीलाई कम गर्न पनि यसलाई अनुमान योग्य बनाउनु पर्छ । सन्तुष्ट र उत्प्रेरित कर्मचारीतन्त्रबाट मात्र गुणस्तरयूक्त सेवाप्रवाह गर्नसकिन्छ । गुणस्तरयूक्त सेवाप्रवाह भएमा जनता र सरकार बीचको सम्वन्धमा विश्वास पैदा भई सरकार प्रतिको भरोसमा वृद्धि हुन्छ । निर्णयमा सहभागिताको सन्दर्भमा प्राप्त धारणा अनुसार ६४ प्रतिशत कर्मचारीले केही मात्रमा सन्तोष व्यक्ति गरेका छन् भने २९ प्रतिशतले असन्तुष्टि जनाएका छन् । यो नतिजाले निर्णयमा कर्मचारीको सहभागिताको विद्यमान प्रावधानमा सुधार गरी बढी भन्दा बढीकर्मचारीहरुको सहभागिता गराउन सकेमा उनीहरुको मनोबल उच्च हुन्छ । दण्ड पुरस्कार सम्बन्धि विद्यमान व्यवस्थामा थप सुधारकोखाँचो औल्याएको छ । ९२ प्रतिशतले विद्यमान प्रणाली प्रति असन्तुष्टि जनाएका छन् भने बाँकी ८ प्रतिशतले मात्र सहमत जनाएका छन् । विद्यमान दण्ड र पुरस्कार प्रणालीले कर्मचारीलाई उत्प्रेरित गराउन नसकेको भन्ने नतिजा विश्लेषणबाट देखिन्छ । दण्ड र पुरस्कार प्रणाली वस्तुनिष्ट नहुँदा पाउनुपर्नेले पुरस्कार नपाएको र नपाउनुपर्नेले पुरस्कार पाउने गरेको भनि ठूलो सख्याको कर्मचारीहरुको गुनासोछ । दण्ड र पुरस्कार उत्प्रेरणाका लागि महत्वपूर्ण औजार हो तर नेपालको सन्दर्भमा उचित मुल्याङ्कनको अभावमा यसले कर्मचारीको मनोवल बढाउने भन्दा पनि निरुत्साहित हुने गरेको पाईएको छ । जसले गर्दा यो पुरस्कार विद्यमान वितरण प्रणाली प्रति असन्तुष्टिको स्वरहरु बढी नै आउने गरेका छन् । यसर्थ पुरस्कार वितरण प्रणालीलाई सूचकांकमा आधारित बनाई हाम्रालाई भन्दा राम्रालाई पुरस्कृत गर्ने प्रणालीको विकास गरिनु पर्दछ । यसो गर्न सकिएमा कर्मचारीमा मनोवल बढ्न जाने र सेवाप्रवाह समेत प्रभावकारी हुने हुँदा यस तर्फ सम्पूर्ण सरोकारवालाहरुले ध्यान दिनुपर्ने देखिन्छ ।

कार्यप्रति सन्तुष्ट भएको कर्मचारी नै उत्प्रेरित हुने गर्दछ । तसर्थ कर्मचारीलाई मौद्रिक तथा गैर मौद्रिक तत्वहरुको माध्यमद्धारा प्रोत्साहित गर्न आवश्यक छ । त्यसो गर्न सकिएको खण्डमा सेवा प्रवाहमा बढोत्तरी भई जनसन्तुष्टि बढ्न जाने र सरकार प्रतिको भरोसामा समेत बृद्धि हुन्छ । साथै उच्च मनोबलयुक्त कर्मचारीबाट सम्पादीत कार्यबाट संगठन र कर्मचारी दुबैलाई लाभ प्राप्त हुन्छ । उच्च स्तरको कार्यसम्पादनले कर्मचारीहरु सन्तुष्ट रहेको संकेत गर्दछ । सामान्यतया कर्मचारीले आफ्नो कामलाई बढी मन पराउँदछ र उ त्यस कार्यप्रति सकारात्मक हुन्छ । त्यसकारण, रोजगारीमा उसको सन्तुष्टिले समग्र कार्य सम्पादनलाई असर पार्ने भएकोले कर्मचारीको मनोवल उच्च बनाई राख्नु पर्दछ । उच्च मनोवल भएका कर्मचारीबाट सेवाप्रवाहमा गुणस्तरियता कायम भई सेवाग्राहीको असन्तुष्टिलाई न्यून गर्न सहयोग पुगी र सरकार प्रतिको जनविश्वास बढ्न जान्छ र सरकार र जनता बीचको सम्वन्धमा समेत सुधार आउन जान्छ ।


प्रतिक्रिया दिनुहोस्