ऋण तिर्नको लागि एनबी ग्रुपले बेच्यो एनसीसीको ५० करोडको सेयर « Arthapath.com
२५ फाल्गुन २०७७, मंगलवार

ऋण तिर्नको लागि एनबी ग्रुपले बेच्यो एनसीसीको ५० करोडको सेयर



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकमा रहेको सेयर एनबी समूहले बिक्री गरेको छ । एनबी समूहले आफ्नो नाममा रहेको २५ लाख कित्ता संस्थापक सेयर बिक्री गरेको हो । करिब ५० करोड जतिमा एनसीसी बैंकमा रहेको सेयर बिक्री भएको हो । एनबी समूहले ऋण तिर्नको लागि एनसीसी बैंकमा आफ्नो नाममा रहेको सेयर लिलाम बढाबढ प्रक्रियाअनुसार बिक्री गरिएको थियो । जसको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल थियो । सनराइज क्यापिटलले एनसीसी बैंकको २५ लाख कित्ता संस्थापक सेयर बिक्रीको लागि फागुन २ देखि ९ गतेसम्म बिक्री आह्वान गरेको थियो ।

मूल्य बढाबढ प्रक्रियाअनुसार न्यूनतम १४१ रुपयाँ ५० पैसादेखि लिएर ३१५ रुपैयाँ ५० पैसासम्म बोली लगाउने आवेदकले एनसीसी बैंकको संस्थापक सेयर पाएका छन् । सनराइज क्यापिटलका अनुसार ३१५ रुपैयाँ ५० पैसादेखि १४२ रुपैयाँसम्म आवेदन माग गरेका १०४ जना आवेदकले मागअनुसार नै सेयर पाएका छन् । १४१ रुपैयाँ ५० पैसामा आवेदन माग गर्नेले आंशिक सेयर पाएका छन् । संस्थापक सेयर खरिदका लागि न्यूनतम १ हजार कित्ता सेयर खरिद गर्नुपर्ने थियो । न्यूनतम १०० रुपैयाँ राखेर बढाबढ प्रक्रियामा सेयर बिक्री गरिएको थियो । एनसीसी बैंकको २५ लाख कित्ता संस्थापक सेयर बिक्री गरेपछि एनसीसी बैंकमा एनबी समूहको लगानी हिस्सा झनै घटेको छ ।

कुनै समय बैंक तथा वित्तीय संस्था तथा व्यापारमा लगानी गरेको एनबी ग्रुप संस्थागत सुशासनविपरीत काम गर्दै भएपछि समस्यामा पर्दै गएको हो । ऋण लिने तथा लामो समयसम्म नतिर्ने र अदालतमा गए स्टे ल्याउनेमा एनबी ग्रुप चर्चित छ । अहिले एनसीसी बैंकको संस्थापक सेयर बेचेपछि एनबी समूहले बैंकको ऋण तिर्नेछ । नबिल बैंकमा एनबी ग्रुपको ठूलो रकम तिर्न बाँकी रहेको छ । बीमा कम्पनी तथा व्यक्तिगत आवेदन एनसीसीको सेयर किन्नको लागि परेको थियो । सेयर बीमा कम्पनी तथा विभिन्न व्यक्तिले किनेका छन् । चार संस्थापकले साढे १३ लाख कित्ता बेच्दै नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको २५ लाख कित्ता सेयर बिक्रीलगत्तै फेरि अर्का चार संस्थापक सेयरधनीले सेयर बिक्रीमा राखेका छन् । एनबी समूहअन्तर्गत रहेको सांग्रिला इन्भेष्टमेन्ट प्रालि, एनबी ग्रुप नेपाल प्रालि, एनबी इन्भेष्टमेन्ट प्रालि, दोलखा भीमसेन इन्भेष्टमेन्ट, मानाङ्क इन्भेष्टमेन्ट र हिमालयन क्यापिटलको केही सेयर बिक्री गरेलगत्तै अन्य चार सेयरधनीले १३ लाख ६४ हजार ६०४ कित्ता सेयर बिक्रीमा राखेका हुन् ।

एनबी समूहले २५ लाख कित्ता संस्थापक सेयर करिव ४५ करोड रुपैयाँमा बिक्री गरेको थियो । बैंककाअनुसार, सोमबार विश्वराज भण्डारी, दिलिप श्रेष्ठ, नेपाल इन्स्योरेन्स कम्पनी र नेपाल सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट प्रालिले सेयर बिक्री गर्न लागेका हुन् । यो सेयर पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीलाई दिइएको छ । उनीहरूले खरिद नगरे अनि सर्वसाधारणलाई मूल्य बडाबढमा बिक्री गरिनेछ । नेपाल सेक्युरिटिजले ४ लाख ६० हजार कित्ता, नेपाल इन्स्योरेन्सले ९ लाख कित्ता, दीलिप श्रेष्ठले २७ सय ४ कित्ता र राजभण्डारीले १६ सय २२ कित्ता बिक्रीमा राखेका हुन् ।


प्रतिक्रिया दिनुहोस्