४ वर्षभित्र १ खर्ब रुपैयाँको बैंकको रूपमा उभ्याउने

रामकृष्ण खतिवडा, सीईओ, नेपाल इन्फ्रास्ट्रक्चर बैंक
हामिले आईपीओ जारी गरेपछि धेरै मान्छेले विश्वास गरेर लगानी गर्नुभएको छ । यसले हामीलाई उत्साहित बनाएको छ । अहिले त यो पैसा पनि निक्षेपका रूपमा बैंकमै जम्मा हुने हो । तर, अर्को पाटो के पनि हो भने हामीले जनताको पैसा उठाएका छौं र उनीहरूलाई लगानीको रिटर्न चाहिन्छ । यसले हामीलाई कता–कता दबाब पनि महसूस हुन्छ ।
हाम्रो बैंकको उद्देश्य नै दीर्घकालीन कर्जा लगानी गर्ने भएकाले प्रतिफल पाउन पनि केही समय कुर्नुपर्ने हुन्छ । तर, देशमा अहिले पनि सयौं खर्ब रुपैयाँ लगानी चाहिने पूर्वाधार परियोजना आवश्यक छन् । जलविद्युत् आयोजनामै ५० खर्ब रुपैयाँ आवश्यक छ । सहरी पूर्वाधार, सडक पूर्वाधार र ग्रामीण क्षेत्रमा पूर्वाधार निर्माणको लागि पनि ठूलो रकम आवश्यक छ । यी पूर्वाधारहरूको निर्माण अहिलेदेखि नै धमाधम सुरु भयो भने हामीले पुँजी बढाउनु पर्ने पनि हुनसक्छ । त्यस्तो बेलामा सेयरधनीलाई राइट सेयर पनि दिन सकिन्छ । २ वर्षभित्र हामीसँग भएको सबै पुँजी परिचालन गर्ने र ४ वर्षभित्र एक खर्ब रुपैयाँको ब्यालेन्ससीट भएको कम्पनीको रूपमा बैंकलाई उभ्याउने कुरामा हामी दृढ छौं ।