एनसीसी बैंकले चैत १३ गतेदेखि ऋणपत्र निष्काशन गर्ने, कति छ ब्याज ?

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी)ले चैत १३ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । सो ऋणपत्रको नाम ‘९.५० प्रतिशत एनसीसी ऋणपत्र २०८६’ रहेको छ ।
बैंकले प्रतिऋणपत्र १ हजार अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । निष्काशन गरिने कुल ऋणपत्रमध्ये १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने छ । बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा बिक्री गर्न लागेको हो ।
सर्वसाधारणमा बिक्री गरिने ऋणपत्रमध्ये ६० हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ । त्यसैले, सर्वसाधारण लगानीकर्ताहरुले कुल ११ लाख ४० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
सो ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने छ । ऋणपत्रमा छिटोमा चैत १८ गते र ढिलोमा चैत २७ गतेसम्म लम्बिने छ ।