मध्ये भोटेकोशीको आईपीओमा आवेदन स्थगित गरियो

काठमाडौं । सिन्धुपाल्चोकमा निषेधाज्ञा जारी भएपछि मध्ये भोटेकोशीको आईपीओमा आवेदन स्थगित गरिएको छ । सिन्धुपाल्चोक जिल्लामा आज बिहीबार बिहान ६ बजेबाट वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएपछि आवेदन स्थगित गरिएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत रामगोपाल शिवाकोटीले जानकारी दिए । निषेधाज्ञा खुल्ने वित्तीकै आवेदन खुला गर्ने उनले बताए ।
मंगलबारदेखि आयोजना प्रभावित क्षेत्र र सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका बासिन्दाका लागि कुल ६० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । आयोजना प्रभावित क्षेत्र र स्थानीयका लागि निष्कासन गरिएको आईपीओमा छिटोमा जेठ ४ गतेभित्र र ढिलोमा जेठ २० गतेभित्र आवेदन दिइसक्नुपर्ने भनिएको थियो । स्थानीयले न्यूनतम ५० कित्ता तथा अधिकतम ४०० कित्तासम्मको लागि दरखास्त दिन पाउने भनिएको थियो ।
आईपीओ निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिएको छ । सह–निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल, एनआईबिएल एस क्यापिटल, लक्ष्मी क्यापिटल, सिभिल क्यापिटल, सानिमा क्यापिटल र सीबीआईएल क्यापिटल रहेका छन् ।