यो वर्ष ४ प्रतिशतको आर्थिक बृद्धि पनि नहुने, महँगि अझै बढ्ने प्रक्षेपण « Arthapath.com
४ जेष्ठ २०७८, मंगलवार

यो वर्ष ४ प्रतिशतको आर्थिक बृद्धि पनि नहुने, महँगि अझै बढ्ने प्रक्षेपण



काठमाडौं । नेपाल राष्ट्र बैंकले यो वर्ष ४ प्रतिशत पनि आर्थिक बृद्धि हुन कठीन भएको बताएको छ । केन्द्रिय तथ्यांक विभागले मध्यावधि प्रक्षपणमा यो वार्ष ४ प्रतिशत हाराहारीमा आर्थिक बृद्धि हुने भनेको थियो ।

राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रतिवेदनमा यस्तो भनिएको हो । ‘कोभीड १९ महामारीको कारण शिथिल भएको अर्थतन्त्र पूर्ण रुपमा पुनरुत्थान हुन नपाउँदै यसको दोस्रो लहरले अर्थतन्त्र प्रभावित हुन गई अनुमानित आर्थिक बृद्धिदर (४ प्रतिशत) हासिल गर्न समेत कठीन हुने देखिएको छ,’ समीक्षामा भनिएको छ ।

यो विश्व अर्थतन्त्रको औसतभन्दा निकै कम हो । विकसित देशहरु लगायत धेरै देशहरुमा कोभिड–१९ विरुद्ध खोप लगाउन शुरु भएको र आर्थिक पुनरुत्थानको लागि खुकुलो वित्त एवम् मौद्रिक नीति अवलम्बन गरेका छन् । यही कारण विश्व अर्थतन्त्र पुनरुत्थान तर्फ अघि बढेको समीक्षा प्रतिवेदना उल्लेख छ ।

फलस्वरुप, सन् २०२० मा ३.३ प्रतिशतले संकुचनमा गएको विश्व अर्थतन्त्र सन् २०२१ मा ६ प्रतिशतसम्मले विस्तार हुने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण छ । त्यसो त मुद्रा कोष र अन्य विकास साझेदार संस्थाहरुले नेपालको आर्थिक पुनरुत्थान बाँकी विश्वको तुलनामा कम्तिमा एक वर्ष ढिला हुने यसअघि नै प्रक्षेपण गरेको थियो ।

राष्ट्र बैंकले हालसम्म नेपालमा मूल्यबृद्धि नियन्त्रणमै भएको बताएको छ । तर विश्व अर्थतन्त्रको बिस्तारसँगै समग्र माग पक्षमा आएको सुधारले मुद्रास्फीति (औसत मूल्यबृद्धि) मा भने सामान्य चाप पर्ने अनुमान रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ । अर्थात् आउँदा दिनमा हामो जिविकोपार्जनको खर्च अहिलेभन्दा महँगो पर्ने संभावना बढेर गएको छ ।


प्रतिक्रिया दिनुहोस्