जीवन बीमा कम्पनीको साढे ४ अर्बको आईपीओ आउनै बाँकी, यी ७ कम्पनी पालो कुर्दै

काठमाडौं । पछिल्लो समय सेयर बजारमा जीवन बीमा कम्पनीको आकर्षण निकै उच्च छ । यस्ता कम्पनीको आईपीओ पाउनेले केही महिनामै कयौं गुणा बढी नाफा (पूँजिगत लाभ) हात पार्छन् । अझै पनि ७ वटा जीवन बीमा कम्पनीको प्राथमिक सेयर निष्काशन (आईपीओ) आउनै बाँकी छ ।
अहिले नेपालमा १९ वटा जीवन बीमा कम्पनी सञ्चालनमा छन् । त्यसमध्ये नयाँ र पुराना गरेर १२ वटाले सर्वसाधारणमा सेयर निष्काशन गरिसकेको भए पनि बाँकी सात कम्पनीले निकट भविष्यमै सेयर जारी गर्ने छन् । रिलायबल नेपाल लाइफ, सानिमा लाइफ, सन नेपाल लाइफ, सिटिजन लाईफ, आइएमई लाइफ, महालक्ष्मी लाइफ, र युनियन लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ जारी गर्न बाँकि रहेको छ ।
यी कम्पनीमध्ये केहीले आईपीओ जारी गर्ने प्रक्रिया अगाडी बढाएका छन् भने केही कम्पनीले प्रक्रिया अगाडी बढाउने तयारी गरिरहेका छन् । यसमध्ये सिटिजन लाईफ इन्स्योरेन्सले ७५ करोड रुपैयाँ र युनियन लाइफ इन्स्योरेन्सले ६४ करोड ५० लाख रुपैयाँ बराबरको प्राथमिक सेयर निष्काशन गर्ने छन् । बाँकी ५ कम्पनीले ६०–६० करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्ने भएका हुन् । जसको कूल मूल्य ४ अर्ब ३९ करोड ५० लाख हुन्छ ।