मागभन्दा बढी आवेदन परेपछि प्रभु क्यापिटलको म्युचुअल फण्ड बिक्री बन्द

काठमाडौं । प्रभु क्यापिटलको म्युचुअल फण्ड बन्द गरिएको छ । मागभन्दा बढि आवेदन परेपछि कम्पनीको म्युचुअल फण्ड बन्द गरिएको हो । कम्पनीले सूचना जारी गरि आइतबार इकाईमा मागभन्दा बढि आवेदन परेकोले आज (जेठ ९ गते, आइतबार) बैंकिङ्ग समयपश्चात बन्द गरिने बताएको हो ।
प्रभु क्यापिटलले जेठ ५ गतेदेखि बिक्री खुला गरेको सामुहिक लगानी कोषको इकाईमा आवेदन दिने आज अन्तिम दिन हो । प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने प्रभु सेलेक्ट फण्ड जेठ ५ गतेदखि बिक्री खुला गरिएको हो ।
यो योजनाको कोष प्रवद्र्धक प्रभु बैंक लिमिटेड रहेको छ भने योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ । यो योजना एक बन्दमूखि योजना हो । यस योजनाले इकाई बिक्रीबाट संकलित रकमको ८० देखि १०० प्रतिशत सम्म शेयरमा लगानी गर्ने छ अर्थात यो एक इक्विटि ओरिएण्डेड योजना हो ।
कूल १० करोड इकाईमध्ये कोष प्रवद्र्धक प्रभु बैंक लिमिटेडले १ करोड ४० लाख इकाई र कोष व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडले १० लाख इकाई गरी कूल १ करोड ५० लाख ईकाई सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाईका लागि सर्वसाधरणका लागि छुट्याएको हो । ७ वर्षे अवधि रहेको यो सामुहिक लगानी योजना बन्दमुखी योजना हो ।
प्रभु सेलेक्ट फण्डको इकाई शुक्रबारसम्म १४५ प्रतिशतले ओभर सब्सक्राइब भएको छ । १० करोड इकाईको माग गरिएकोमा तेश्रो दिन (शुक्रबार) को अपरान्ह ४ बजेसम्म १४ करोड ५६ लाख २० हजार ६०० इकाईका लागि आवेदन परेको छ । ५६ हजार ३ सय १२ जना सर्वसाधारण लगानीकर्ताहरुबाट १ अर्ब ३० करोड ६२ लाख ६ हजार रकम बराबरको १३ करोड ६ लाख २० हजार ६ सय इकाई खरिदका लागि आवेदन परेको हो ।
