नेपाल बैंकको ३५ लाख कित्ता ऋणपत्र बाँडफाँड

काठमाडौं । नेपाल बैंकले वैशाख २२ गतेदेखि ३१ गतेसम्म बिक्री गरेको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बाँडफाँड गरिएको छ । बैंकको ऋणपत्र आइतबार बाँडफाँड गरिएको बैंले जनाएको छ ।
नेपाल बैंक लिमिटेडले वार्षिक साढे ८ प्रतिशत ब्याजदरमा ऋणपत्र जारी गरेको हो । बैंकले बैशाख २२ गतेदेखि ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र–२०८७’ बिक्री खुला गरेको थियो । बैंकको यो ऋणपत्रको अवधि १० वर्ष रहनेछ ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र जारी गरिएको हो । जसमा १ अर्ब ४० करोड रुपैयाँ बराबरको १४ लाख कित्ता सर्वसाधारणका लागि र २१ लाख कित्ता व्यक्तिगतलाई बाँडफाँड गरिएको हो ।
सर्वसाधारणलाई जारी गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ७० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएकोमा १५ हजार कित्ता बाँडफाँट गरिएको छ । सर्वसाधारणले बाँकी १३ लाख ८५ हजार कित्ताका लागि आवेदन दिएका थिए । बैंकको ऋणपत्र बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
