राष्ट्र बैंककाे पछिल्लाे नीतिगत परिवर्तनले सेयर बजारलाई ठूलाे असर नपार्ने अम्बिकाकाे जिकीर


काठमाण्डौ । नेपाल राष्ट्र बैंकको पछिल्लो निर्देशनले तत्कालका लागि सर्वसाधारण लगानीकर्ता चिन्तित भए पनि भविष्यमा यही निर्णय फलदायी रहने नेपाल इन्भेस्टर फोरमका पूर्वअध्यक्ष अम्बिकाप्रसाद पौडेलले बताएका छन् । उनले सामाजिक सञ्जालमा राष्ट्र बैंकको पछिल्लो निर्देशनको बारेमा यस्तो बताएका हुन् ।
नेपाल राष्ट्र बैंकले हिजो एकीकृत निर्देशन संशोधन गरी बैंक तथा वित्तीय संस्थालाई सेयरमा अल्पकालीन लगानी गर्न रोक लगाएकाे थियाे ।
उनले केन्द्रिय बैंककाे उक्त निर्देशन जारी हुनुका कारणहरू यसरी उल्लेख गरेका छन्ः
१) केही बैंक तथा वित्तीय संस्थाहले पछिल्लो समयमा सक्रीय रूपमा शेयर ट्रेडिङमा संलग्न भई ठूलाे रकमकाे कारोबार गरेक थिए । यसबाट राम्रै नाफा समेत कमाएका थिए । जुन कुरा तेश्रो त्रैमासिक वित्तीय विवरणमा समेत देखिएको छ।
२) सेयर बजारमा कारोबार रकममा भएको उच्च वृद्धिलाई धेरै हदमा तिनै संस्थाको कारोबार रकमले सहयोग गरेको भन्ने राष्ट्र बैंकको बुझाई।
३) पछिल्लो समयमा शेयरमा लगानी गर्ने बैंक वित्तीय संस्थाहरुको संख्या थपिँदै जानु अर्काे कारण हाे । देखासिकी गर्न र म पाे पछि परीहालेँकी भन्ने सोच यहाँ पनि मौलाएको थियाे । जसका कारण कतै आगामी दिनमा बैंक तथा वित्तीय संस्थाहरु आफ्नो नैसर्गिक व्यवसायबाटै विचलित हुने त होइनन् भनेर नेपाल राष्ट्र बैंक गम्भीर भएको देखिन्छ ।
४) बैंक तथा वित्तीय संस्थाले खोलेका मर्चेण्ट बैंक र तिनीहरूले नै संचालन गरेका सामूहिक लगानी काेषले समेत त्यही कार्य गर्न अनुमति लिएकोमा फेरी बैंक तथा वित्तीय संस्थाले त्यही कार्य किन गर्नु पर्यो भन्ने विषय विगतमा पनि पटक पटक उठान भएको थियाे।
उनले धेरै कम बैंक तथा वित्तीय संस्थाहररूमात्रै शेयर खरीद बिक्रीमा संलग्न भएको र उनीहरूको लगानी अनुमानित ७ अर्ब हाराहारी रहेको उल्लेख गरेका छन्। “जसमा करिव ३ अर्ब कन्भर्सन भएका माइक्रो फाइनान्सको शेयरको मूल्य रहेकाे छ भने व्यापारिक लगानी ४ अर्बको देखिन्छ”, उनले लेखेका छन्। यो रकम दैनिक काराेबारकाे एक तिहाइ हो। सो रकमलाई माइक्रो फाइनान्सको हकमा ८ महिना र अन्यको हकमा १४ महिनासम्मको अवधि दिएको हुनाले मानसिक रुपमा लगानीकर्ताहरुलाई केही असर परेता पनि कारोवारको हिसावले तात्विक रुपमा बजारलाई प्रभाव नपार्ने उनले जिकिर गरेका छन् ।