सेबोनद्वारा राफसाफ कोष कार्यान्वयनयोग्य बनाई सञ्चालन गर्न नेप्सेलाई निर्देशन, कसको कति योगदान ? « Arthapath.com
२१ जेष्ठ २०७८, शुक्रबार

सेबोनद्वारा राफसाफ कोष कार्यान्वयनयोग्य बनाई सञ्चालन गर्न नेप्सेलाई निर्देशन, कसको कति योगदान ?



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई नेपाल धितोपत्र बोर्ड (सेबोन) ले राफसाफ कोषलाई कार्यान्वयन योग्य बनाई सञ्चालनमा ल्याउन निर्देशन दिएको छ । बिहीबार धितोपत्र बोर्डले विज्ञप्ति जारी गर्दै नेप्सेलाई यस्तो निर्देशन दिएको हो ।

‘धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २७ को व्यवस्थाबमोजिम स्थापना भएको राफसाफ कोषमा हालसम्म नगन्य रकम जम्मा भई राफसाफ सुनिश्चितता हुने गरी कार्यान्वयनमा आउन नसक्दा समयमै लगानीकर्तालाई धितोपत्र बिक्रीबापतको रकम भुक्तानी हुन नसकिरहेको र धितोपत्रको दोस्रो बजार कारोबार दिनानुदिन वृद्धि भइरहेको छ, त्यसैले यसमा निहीत प्रणालीगत जोखिमलाई न्यूनीकरण गर्न आवश्यक भएकोले धितोपत्र कारोबारलाई समयमै राफसाफ गराई बजारलाई व्यवस्थित र अनुशासित राख्न विद्यमान राफसाफ कोषलाई कार्यान्वयनयोग्य बनाउन आवश्यक देखिएको छ ।’ धितोपत्र बोर्डले दिएको निर्देशनमा भनिएको छ ।

१. बोर्डले धितोपत्र बजार (स्टक एक्सचेन्ज) ले व्यवस्था गर्ने राफसाफ कोषमा धितोपत्र बजार, धितोपत्रको राफसाफ सेवा प्रदान गर्ने संस्था र समान रुपमा सम्पूर्ण राफसाफ सदस्यहरु (धितोपत्र दलालहरु) को योगदान हुने गरी आर्थिक वर्ष २०७७–०७८ भित्र रु. ५० करोड, आर्थिक वर्ष २०७८–०७९ भित्र थप रु. ३० करोड र आर्थिक वर्ष २०७९–०८० भित्र थप रु. २० करोड गरी कुल रु. १ अर्ब रकमको कार्यान्वयनयोग्य कोष स्थापना र सञ्चालन गर्नुपर्ने

२. राफसाफ कोषमा देहाय बमोजिम योगदान गर्नुपर्ने
(क) धितोपत्र बजारले समग्रमा कोषको ५० प्रतिशत रकम,
(ख) राफसाफ सेवा प्रदान गर्ने संस्थाले समग्रमा कोषको ३० प्रतिशत रकम,
(ग) राफसाफ सदस्यहरु (धितोपत्र दलालहरु) ले समग्रमा कोषको २० प्रतिशत रकम,

३. उक्त रकमको अतिरिक्त कोषलाई जोखिममा आधारित हुने गरी सुदृढ बनाउन धितोपत्र बजार (कोष व्यवस्थापक) ले धितोपत्र दलालहरुको पछिल्लो महिनाको औसत दैनिक कारोबार रकमको १ प्रतिशत रकम चालु महिनाको १५ गतेभित्र थप गर्न लगाई गतिशील योगदानको रुपमा कोषमा जम्मा गर्नुपर्ने । उपर्युक्त बमोजिम थप रकम निर्धारण गर्दा मासिक रुपमा पुनरावलोकन गर्ने र यसरी थप गर्ने रकम पछिल्लो महिनाको गतिशील योगदानभन्दा धेरै भएमा फरक रकम मात्र राफसाफ कोषमा धितोपत्र दलालले थप योगदान गर्नुपर्ने

४. राफसाफ कोषको व्यवस्थापन सम्बन्धमा अन्तर्राष्ट्रिय प्रचलनअनुरुप हुने गरी धितोपत्र बजारले कोषको सञ्चालक समितिका रुपमा र राफसाफ सेवा प्रदान गर्ने संस्थाले कोष व्यवस्थापकको रुपमा कार्य गर्नुपर्ने

उपर्युक्त व्यवस्था कार्यान्वयनमा आएपश्चात धितोपत्र कारोबारको रकम समयमै राफसाफ तथा फछ्र्यौट हुने सुनिश्चितता भई उक्त कार्य थप प्रभावकारी रुपमा यथासमयमा नै सम्पन्न हुने, धितोपत्र कारोबारमा निहीत प्रणालीगत जोखिम न्यूनीकरण हुने, लगानीकर्ताले समयमै धितोपत्र बिक्रीबापतको रकम प्राप्त गर्ने र धितोपत्र कारोबार थप गतिशील हुन सहयोग पुग्ने बोर्डको विश्वास छ ।


प्रतिक्रिया दिनुहोस्