प्रमाणपत्र धितो राखेर ऋण दिन जाेखिमपूर्णः गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शैक्षिक योग्यताको प्रमाणपत्र देखाउने वित्तिकै २५ लाख ऋण नपाउने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले बजेट कार्यान्वयनः चुनौती र समाधानका बिषयमा आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
उनले भने, ‘शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यक्रम अलि जाेखिमपूर्ण नै हो, बैंकहरुले पनि हरेक पक्षलाई नियालेरमात्रै कर्जा दिन्छन्,’ उनले भने, ‘कसैले हातमा प्रमाणपत्र लिएर मलाई २५ लाख ऋण चाहियो भनेर बैंक जाँदैमा ऋण पाइँदैन ।’ बैंकहरुले पनि त्यस्ताे ऋण लिएर के गर्न चाहेको हाे, कस्ताे व्यवसायमा लगानी गर्ने हाे, त्यसको प्रकृति हेरेर मात्रै कर्जा उपलब्ध गराउने उनले बताए । ‘यसको बारेमा हामी बैंक वित्तीय संस्थासँग बसेर कसरी अगाडि बढ्न सकिन्छ छलफल गरिरहेका छौं,’ उनले भने ।
राम्रो व्यवसायिक योजना पेश गरेर उद्यमशिलता दर्शाउन सक्नेहरूलाई १ प्रतिशत ब्याजदरमा प्रमाणपत्र र परियोजना धिताे राखेर ऋण दिन समस्या नभएको उनको भनाई छ । गभर्नर अधिकारीले सहुलियतपूर्ण कर्जालाई लक्षित वर्गसम्म पुर्याउने, पुनकर्जालाई नतिजामुखी बनाउने लगायतका कामलाई राष्ट्र बैकले बिशेष चासोका साथ अघि बढाएको पनि बताए ।
सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत् कुनै उद्यम तथा व्यवसाय गर्न चाहनेका लागि शैक्षिक प्रमाणपत्र बैंकमा धितो राखेर २५ लाख रुपैयाँसम्म सहुलियत व्याजदरमा ऋण पाइने कार्यक्रम ल्याएको थियो ।