पुनः नेप्सेमा नयाँ रेकर्ड, ऐतिहासिक उच्च बिन्दुमा पुगेर १७ अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा रौनकता छाएको छ । नयाँ–नयाँ उचाईमा पुगेको नेप्सले साढे २९ सय माथि पुगेर नयाँ रेकर्ड बनाएको हो । नेप्सेमा कम मूल्य भएका कम्पनी मर्जरमा जाने हल्ला चलेपछि नेप्से बढेको अनुमान लगानीकर्ताले गरेका छन् ।
त्यस्तै, लगानी गर्ने अन्य क्षेत्र ठप्प हुँदा नेप्सेमा लगानीकर्ता आएको अनुमान गर्न सकिन्छ । लगानी गर्न अन्य क्षेत्र कोरोना भाइरसको कारण बन्द रहेका छन् । जेठ १५ गतेको बजेट भाषण र केही दिन अघिको नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको समिक्षाले पनि सेयर बजारलाई उत्साह थपेको छ ।
जेठ महिनामा नेप्सले नयाँ–नयाँ रेकर्ड बनाउँदै आएको छ । कारोबार रकममा आएको उछालदेखि नेप्से परिसूचक अझै बढ्ने देखिएको छ । कहिले काहीँ बजारमा सामान्य करेक्शन देखिएपनि नेप्से अझै नयाँ उचाइमा पुग्ने सेयर विज्ञहरु बताउछन् ।

मंगलबार नेप्से परिसूचक ५३.४४ अकंले बढेर २९६०.१४ अकंमा बन्द भएको छ । यो हालसम्म कै उच्च बिन्दु हो । यसअघि आइतबार नेप्से २९०६.९१ अंकमा बन्द भएको थियो ।
त्यस्तै, कारोबारमा पनि उछाल आएको छ । मंगलबार दिनभरिमा २१८ कम्पनीको ३ करोड ५७ लाख कित्ता सेयर १ लाख ४९ हजार पटक किनबेच हुँदा १६ अर्ब ९५ करोड १३ लाख २० हजार रुपैयाँको कारोबार भएको छ । तर नयाँ रेकर्ड भने बनाउन सकेन। यस अघि आइतबार १७ अर्ब २७ करोड १७ लाख ८७ हजार रुपैयाँको कारोबार भएको थियो । यो हालसम्म कै उच्च कारोबार हो ।
